गणतन्त्र अर्थात् रिपब्लिक लेटिन भाषाको रेस र पब्लिकबाट अर्थ खोज्दा जनतासँग सम्बन्धित तत्त्व वा चिज भन्ने बुझिन्छ । कसैले गणतन्त्र र प्रजातन्त्रलाई समानार्थी शब्दको रूपमा लिएको पाइन्छ । यथार्थमा त्यो होइन । अमेरिका, नेपाल, भारत, बंगलादेश आदि प्रजातान्त्रिक गणतन्त्र भएका देश हुन् भने चीन, उत्तर कोरिया, क्युवा आदि प्रजातन्त्र नभएका गणतान्त्रिक देश हुन् । बेलायत, जापान, कम्बोडिया आदि राजासहित प्रजातन्त्र भएका देश हुन् । सन् २०८० सम्म विश्वका २०६ मध्ये १५९ देशले आफ्नो नामको अगाडि गणतन्त्र जोड्ने गरेका छन् । प्रजातन्त्रले बहुमतको शासनको वकालत गर्छ तर गणतन्त्रले बहुमत नभएको जनताको पनि अस्तित्व छ, विचार छ भन्ने कुराको वकालत गर्छ । गणतन्त्रको वास्तविक अभ्यास १७८७ मा बनेको अमेरिकी संविधानले गरेको छ । त्यसमा बहुमत र अल्पमतको शासन भन्ने नै हुँदैन । गणहरूको शासन हुन्छ जहाँ व्यक्तिको संख्या होइन, स्वतन्त्रता र विचार प्रधान हुन्छ । यो पृष्ठभूमिमा नेपालमा बहुमतले शासन गरे पनि समावेशिता, आरक्षणको व्यवस्था आदिको माध्यमबाट सबै पक्षलाई समेट्ने प्रयास गरिएको छ ।
नेपालको संविधानले संसदीय सर्वोच्चतामा जोड दिए जस्तो लाग्छ तर वास्तवमा यो संविधानवादमा आधारित छ भन्ने विषयवस्तुलाई सार्वजनिक रूपमा बेवास्ता गरिएको छ । अहिले केही पार्टीले राजतन्त्रको मुद्दा बोकेर संसद तथा सडकमा झिनो भए पनि उपस्थिति देखाएको पाइन्छ । राजतन्त्र पक्षधरहरूले राजा ल्याउन चाहने हो भने उनीहरूले संसदमा दुईतिहाई बहुमत ल्याएर संविधान संशोधन गरी ल्याउन पाउँछन् भन्ने भ्रम फिँजाइएको छ । अहिलेको संविधानको मर्म त्यति हल्का छैन ।
राजतन्त्रवादीले दुईतिहाइ ल्याएमा पूर्वराजालाई राष्ट्रपति बनाउन पाउँछन् तर ५ वर्षमा अन्य राष्ट्रपतिको जस्तो कार्यकाल सकिन्छ । यदि दुईतिहाइ बहुमतले संविधानका सम्पूर्ण आधारभूत (फन्डामेण्टल) कुरा फेर्न पाइने हो भने नेपाल वास्तविक गणतन्त्रमा पुगेकै छैन । यो संविधानले जो कोहीलाई राष्ट्रपति बन्ने अधिकार दिन्छ तर राजा बन्ने होइन । नेपाल राजतन्त्रबाट प्रजातान्त्रिक गणतन्त्रमा वि.सं २०६५ साल जेठ १५ प्रवेश गरेको हो । हामीहरू गणतन्त्र बन्दै गर्दा बहुमतले शासन गर्ने र अल्पमत प्रतिपक्षमा बस्ने तरिकाले नै संरचना बनाएका छौं । नेपाल गणतन्त्रात्मक देश भएकाले बहुमतले वा दुईतिहाइ बहुमतले पनि संविधानको भावना बदल्न सक्दैन । यो संविधानको धारा २७४( १) बमोजिम नेपालको संविधानका सबै कुरा संशोधन गर्न पाइन्छ तर जनतामा रहेको सार्वभौमसत्तामा कमी आउने गरी केही पनि संशोधन गर्न पाइँदैन । यसरी यही संविधानभित्रबाट राजतन्त्र ल्याउने अधिकार संसदको दुईतिहाइ बहुमतलाई पनि छैन किनकि यदि संशोधनले राजतन्त्र ल्याउँछ भने अन्य जनताको राष्ट्रपति बन्न पाउने अधिकार कुण्ठित हुन्छ । लहडमा कसैले त्यस्तो तरिकाले संशोधन गरेमा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालतले मनपरि संशोधनलाई रोक्न सक्छ ।
राजतन्त्र वादीले दुईतिहाइ ल्याएमा पूर्वराजालाई राष्ट्रपति बनाउन पाउँछन् तर ५ वर्षमा अन्य राष्ट्रपतिको जस्तो कार्यकाल सकिन्छ । यदि दुईतिहाइ बहुमतले संविधानका सम्पूर्ण आधारभूत कुरा फेर्न पाइने हो भने वास्तविक गणतन्त्र हैन ।
गणतन्त्रले कहिल्यै पनि बहुमतवादलाई आधार मान्दैन । अमेरिकामा ४३५ सदस्य रहेको हाउस अफ रेप्रिजेन्टिेटिवले गरेको निर्णय १०० सदस्य भएको सिनेटले अस्वीकार गर्न सक्छ । आधारभूत तत्त्व विरुद्ध संसदका ५३५ सबै सदस्यको निर्णयलाई एक्लो राष्ट्रपतिले अस्वीकार गर्न सक्छन् । यद्यपि यस्तो गर्दा उनले संसद्को निर्णय संविधानको मूलमर्म विपरीत छ वा छैन भन्ने कुरामा पूर्ण ध्यान दिन्छन् । वास्तवमा राजतन्त्रभन्दा जनताका लागि लोकतन्त्र उत्तम हो तर गणतन्त्र सर्वाेत्तम जनपक्षीय सोच हो । गणतन्त्रमा कुनै पनि सार्वजनिक पद वंशमा आधारित हुँदैन । यदि कतै छ भने त्यो गणतन्त्रको उपहास हो ।
गणतन्त्रले आमजनतामा स्वतन्त्रताको अनुभव गराउँदै अहिलेसम्म प्राप्त हुन नसकेको नयाँ खोज आविष्कारका माध्यमबाट उद्यमी बन्ने अवसर प्रदान गर्छ भन्ने विश्वासमा अडिएको शासन व्यवस्था हो । यसले वंशगत यथास्थितिलाई हटाएर शासनमा विविधता ल्याउने अवसर सृजना गर्छ । यसमा जनतालाई आर्थिक, शैक्षिक र राजनीतिक रूपमा उच्च स्थानमा पुग्ने खुल्ला अवसर प्रदान गरिएको हुन्छ । अर्थात्, जनताको छोरो मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म बन्ने बाटोलाई निर्बाध रूपमा प्रत्याभूत गरिएको हुन्छ । यस्तो अधिकारलाई दुईतिहाइले पनि हरण गर्न सक्दैन । यदि सक्छ भने त्यो पूर्ण गणतन्त्र हुँदैन । आजभन्दा ४ देखि ५ हजार वर्ष अगाडि नेपालमा गोपालवंशी र महिषपाल राजाहरूले शासन गरे । त्यसपछि किरात वंशका यलम्बरले राज्य गरेको कुरा इतिहासमा पाइन्छ । अन्तिम किराँत राजा खिगुपछि लिच्छवी शासन र लिच्छवीपछि मल्ल राजा र मल्ल राजालाई हटाएर शाहवंशीय राजाहरू सत्तामा आएका थिए । यस अर्थमा राजतन्त्रले पनि समय समयमा आफ्नो अध्याय परिवर्तन गरेको छ । प्रत्येक युगमा जब राजा वंश फेरियो पुरानो बचे खुचेकाले पुरानै ठिक थियो भन्ने नयाँले नयाँलाई उत्तम देखाउने होड हरेक युगमा हुन्छ । आजको पनि त्यस्तै विचारको भग्नावशेष विभिन्न तरिकाले देख्न पाइन्छ ।
सामन्तवादको अलिकति संगठित स्वरूप राजतन्त्र हो र राजतन्त्रको चुनावीकरण प्रजातन्त्र हो । तर, जनता प्रजातान्त्रिक हकसहित सम्पूर्ण पदमा पुग्ने अधिकार सम्पन्न हुनु गणतन्त्र हो । विश्वमा पहिलो गणतन्त्र रोममा ई.पू ५०९ आएको थियो । पुराना राजावंशलाई हटाएर नयाँ राजवंश उदाउने क्रमको ऐतिहासिकता ज्यादै लामो थियो । पछिल्लो समय पनि शाहवंशीय राजतन्त्रलाई हटाएर गणतन्त्रीय राष्ट्रपतिको प्रादुर्भाव भएको हो । यो सबै समयको माग थियो किनकि शासन व्यवस्था युगौंसम्म एउटै रहन सक्दैन । परिवर्तन त हरेक मुलुकमा भैरहेको हुन्छ या आन्तरिक रूपमा या बाह्य रूपमा देखिने गरी । जापान, थाइल्याण्ड, बेलायतको राजतन्त्रप्रति आन्तरिक मोहभंग भएको खबर सुनिंदै आएको छ । यद्यपि त्यहाँको राजतन्त्रले जनताको अधिकारमाथि हस्तक्षेप गरेको पाइँदैन ।
आज प्रत्येक गणले वा प्रजाले आफ्नो आर्थिक भविष्य नवीन तरिकाले सुधार गर्ने अवसर पाएका छन् । मानिसबाट उत्पादकत्व बढाउन छ भने उसलाई बन्धनमा राख्नु हुँदैन, खुल्ला छोडिदिनु पर्छ भन्ने मान्यताबाट प्रजातन्त्र र गणतन्त्र आएको हो ।
नेपालीले पछिल्ला केही वर्षमा अर्बौंको सफ्टवेयर निर्यात गरेका छन् । भारतमा युट्युबको माध्यमबाट लाखौं रोजगारी सृजना हुनुको साथै युट्युबरको जिन्दगीमा ज्यादै ठूलो सकारात्मक सुधार भएको छ । यी दुवै कुराहरू आजभन्दा २० वर्ष अगाडि पूर्ण रूपमा कल्पनाबाहिर थिए । भोलिका दिनमा यस्तै नयाँ प्रकृतिका उद्यमहरूको संख्या नबढ्ला भन्न सकिंदैन किनकि हामी गणतन्त्रात्मक युगमा बाँचिरहेका छौं । आज प्रत्येक गणले वा प्रजाले आफ्नो आर्थिक भविष्य नवीन तरिकाले सुधार गर्ने अवसर पाएका छन् । मानिसबाट उत्पादकत्व बढाउन छ भने उसलाई बन्धनमा राख्नु हुँदैन, खुल्ला छोडिदिनु पर्छ भन्ने मान्यताबाट प्रजातन्त्र र गणतन्त्र आएको हो । मानिसमा अथाह शक्ति छ । यसको कुनै तरिकाले कुनै समयमा प्रयोग हुन सक्ने भएकाले गणतन्त्रलाई जीवन्त राख्न जरुरी छ ।
कसैलाई पनि एउटा निश्चित बाटोमा डोर्याएरमात्र दुर्गम्य उँचाइमा पुर्याउन सकिंदैन । यदि बच्चालाई बामे सर्न प्रकृतिले नभएर आमाबावुले डोर्याएर सिकाउने परिपाटी बसेको भए आज विश्वमा ९० प्रतिशतभन्दा बढी मानिशहरू अपांग हुन्थे । किनकि बाबुआमाले बच्चा लोट्छ, पछारिन्छ, टाउकोभरमा पछारिन्छ भनेर हिँड्न सिकाउने नै थिएनन् । देशले सर्वोपरि विकास चाहने हो भने पहिला प्रत्येक नागरिकलाई आफ्नो क्षमताको भरमा स्वतन्त्रतापूर्वक काम गर्र्न, अभ्यास गर्न र सोच बदल्न खुल्ला छोडिदिनु पर्छ । यसैका लागि गणतन्त्रको जन्म भएको हो । त्यसैले दास भावले विगतका अनेक तन्त्र ब्युँताउने प्रयास गर्नुभन्दा आफ्नै बुद्धि, विवेक र प्रयासबाट उँचाइ छुन गणतन्त्रको गरिमा बचाउनु उपयुक्त हुन्छ । गणतन्त्रले पार्टी नेता, यिनीहरूको गुटगत भ्रष्टाचारलाई समेत निमिट्यान्न पार्न सक्ने हुँदा पात्रका रिसले प्राप्ति फेर्न नथालौं बरु २ ओटा दल बनाउने कुराको विरोध गरौं ।
लेखक कैलासकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।