काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०१ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ३३ लाख पुगेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको सञ्चालन नाफा गत आवमा रू. २ करोड ७५ लाख रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ८५ लाख पुगेको छ ।
त्यसैगरी कम्पनीले गत आवमा रू. २४ लाख ७७ हजार खुद ब्याज आम्दानी गरेकामा चालू आवमा बढेर रू. ८ करोड ११ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ६४ रहेकोमा चालू आवमा बढेर रू. १५ दशमलव ३५ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख रहेको छ भने चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ७२ करोड ७३ लाख र शेयर प्रिमियममा रू. २ करोड २३ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ७ अर्ब १ करोड निक्षेप संकलन गरेर रू. ५ अर्ब ७५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३२ दशमलव ११ गुणा, तरलता अनुपात ३१ दशमलव ०९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ६७ रहेको छ ।