काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर संरचना कायम गर्न लागेको हो ।
शेयर संरचना परिवर्तन गर्न कम्पनीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट यही चैत ७ गते स्वीकृति पाएको जानकारी दिएको छ । कम्पनीका अनुसार शेयर स्वामित्व परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ ।
कम्पनीले चैत २७ गते हुने दशौं वार्षिक साधारण उक्त प्रस्ताव पारितका लागि पेस गर्नेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजी ५१ करोड ९० लाख रुपैयाँको आधारमा ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्रस्ताव प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सर्वसाधारणतर्फबाट २ जना र सर्वसाधारणतर्फबाट ३ जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।