काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा २० करोड ७५ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ६३ कम्पनीले २० करोड ७५ लाख १८ हजार १८० कित्ता बोनस शेयर सूचीकृत गराएका हुन् ।
यो संख्या अघिल्लो आवमा तुलनामा ५० दशमलव २५ प्रतिशत कम हो । अघिल्लो आवमा १२६ कम्पनीले ४१ करोड ७१ लाख १२ हजार ४९६ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत गराएका थिए ।
गत आवमा कतिपय बैंक तथा वित्तीय संस्थाले लाभांश वितरण नगरेकाले सूचीकृत हुने बोनस शेयरको कित्ता कम देखिएको हो ।
उक्त वर्ष आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरूको नाफा प्रभावित भएको थियो । यस्तै, नियामकीय कडाइले पनि बैंक तथा वित्तीय संस्थाहरूले शेयरधनीलाई लाभांश वितरण गर्न सकेका थिएनन् ।
गत आवको मुनाफाबाट आठ वाणिज्य बैंकले लाभांश दिएनन् । त्यस्तै, २७ लघुवित्त कम्पनीका शेयरधनीले पनि लाभांश पाएनन् ।