काठमाडौं । गत साता घटेको बजारमा कारोबार रकम र कित्ता भने बढेको छ । अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम २७ दशमलव ४४ प्रतिशत र कारोबार कित्ता २२ दशमलव ४९ प्रतिशत बढी भएको हो । अघिल्लो साता १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा गत साता २१ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो । कारोबार कित्ता पनि अघिल्लो साता ३ करोड ८६ लाख ४२ हजारभन्दा बढी रहेकोमा गत साता ४ करोड ७३ लाख ३३ हजारभन्दा बढी रहेको हो ।
अघिल्लो साता औसतमा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको ९६ लाख ६० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता ४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको ९४ लाख ६६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साता चार कारोबार दिन मात्र बजार खुला भएको थियो भने गत साता पाँच दिन बजार खुला भएको हो । कारोबार दिन बढी भएकाले पनि गत साता अघिल्लो साताभन्दा बढी रकमको धितोपत्र कारोबार भएको देखिन्छ ।
गत साता पहिलो कारोबार दिन ५ दशमलव ३७ अंकले घटेको बजार दोस्रो कारोबार दिन ३ दशमलव २१ अंक र तेस्रो कारोबार दिन ५ दशमलव ६० अंकले बजार बढेको थियो । चौथो कारोबार दिन ११ दशमलव ६० अंक र पाँचौं दिन ८ दशमलव २४ अंक घटेर बजार बन्द भएको हो ।
अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक १६ दशमलव ३९ अंक, सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८७ अंक घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ६८ दशमलव ३१ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार ५१ दशमलव ९२ विन्दुमा बन्द भएको हो ।
कुल बजार पूँजीकरण पनि करीब २६ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७९ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ कायम भएको हो ।
आर्थिक वर्षको अन्तिम महीना लगानीकर्ताहरू खासै उत्साहित हुन सकेका छैनन् । निक्षेपको ब्याजदरलाई हेर्दा बैंकमा रकम जम्मा नगर्ने लगानीकर्ता भने पूँजीबजारमै सक्रिय रहेको ब्रोकरहरू बताउँछन् । आर्थिक वर्षको अन्तिममा कर्जा तथा ब्याजको भार पर्ने लगानीकर्ता भने त्यसको जोहो गर्न शेयर विक्री गरिरहेको अवस्थाले पनि यति बेला बजारलाई असर गरेको अनुमान ब्रोकरहरूको छ ।
गत साता वित्त समूह सर्वाधिक बढ्यो
गत साताको कारोबारमा पाँच समूहगत परिसूचकहरू बढेका छन् भने बाँकी समूहगत परिसूचक घटेका छन् । वित्त समूहको परिसूचक गत साता सर्वाधिक ३ दशमलव ५२ प्रतिशत बढेको छ । गत साता बैंकिङ्ग समूहको परिसूचक भने सर्वाधिक १ दशमलव ८० प्रतिशत घटेको छ ।