प्रकृतिले पानीलाई यस्तो अद्भुत गुण दिएको छ कि सीमित अवस्थासम्म यो स्वयं आफ्नो शुद्धता आफै बनाउन सक्छ । मानव तथा जीवित प्राणीका लागि खानाको करीब ३ भागभन्दा बढी पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ, जसले करीब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण १४० लाख क्यूबिक मीटर पानीमा जम्मा ४० लाख क्युबिक मीटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ ।
नेपालको कुल क्षेत्रफलको २ दशमलव ६ प्रतिशत पानीले ओगटेको छ । यहाँ सानाठूला गरी ८ हजार १०० भन्दा बढी नदीनाला छन् जसमा बाह्रैमास बहने नदीनाला ७० प्रतिशत र ७ महीना निरन्तर बग्ने नदीहरू २० प्रतिशत तथा ४ महीना बग्ने १० प्रतिशत नदी रहेका छन् । नेपालमा २५ देखि ५०० किमी सम्मका लामा नदी छन् ।
पानी र इन्धनबीच निकट अन्तरसम्बन्ध छ । २१औं शताब्दीको सँघारसम्म आइपुग्दा पानीको उपभोगमा चुनौती सृजना भएको छ । संसारको जलस्रोतको दोस्रो धनी देश भनी भनिने गरेको नेपाल जलस्रोतसँगै लुटपुटिएर हुर्किएका नेपाली आफ्नो जलको सिक्काप्रति कत्तिको बफादार हुन सकेका छन्, जनतादेखि सदनसम्म फर्किएर हेर्नु आवश्यक छ । सत्य तितो हुन्छ । आखिर जल अनि मौसमका पहरेदार सिपाही स्रोत तत्त्व यिनै वनजंगल, प्राकृतिक स्रोत नै हुन् । घट्दो क्रममा जंगली भूभागहरू, काटिँदा रूख अनि प्लटिङ गर्दै धमाधम विक्री गर्न तयारी जग्गाभित्र गुम्सिएको प्रकृतिको चित्कार अनुभव गर्न सकिन्छ ।
गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकासबीचको अन्तरसम्बन्ध बारेमा विभिन्न समयमा धेरै अध्ययन अनुसन्धान नभएका होइनन् । सम्पूर्ण अध्ययनको निचोड पानी नै जीवनको आधारशिला तथा गुणस्तरीय जीवनको आधार हो ।
आज बढ्दो शहरीकरणका कारण यहाँका नदी तथा धाराहरूबाट पानी बिलाइसके । उदाहरणको रूपमा सुनधारा, बालाजुको बाइसेधारा र अन्य ढुंगेधाराबाट पानी थापेर खाने तथा स्नान गर्ने पुस्ताहरूका कथामा सुनधारा जस्ता लाखौं धाराहरू छन्, तर पानी कथामा मात्र सीमित छ । पानीको स्रोत उपलब्धता र प्रयोगलाई हेर्दा जलस्रोतको धनी देश भन्ने भनाइ मिथ्या साबित भएको छ । विश्वव्यापी रूपमा बढ्दो तापक्रमको असरले पानीको स्रोतमा नै सीधै असर गरेको छ ।
पानी नै अति आवश्यक वस्तु हो । प्राकृतिक स्रोतको संरक्षण गरी पानीको मुहानलाई संरक्षण गर्नु आजको आवश्यकता हो । यी चिज आउँदा पुस्ताहरूको सम्पत्ति हुन् । हिन्दु संस्कारमा पनि पञ्चतत्त्वका रूपमा जलको अति महत्त्व हुन्छ । काठमाडौं उपत्यकामा बल्लबल्ल आएको मेलाम्चीको पानी पनि कमजोर निर्माण र विपद् व्यवस्थापन गर्न नसक्दा उपत्यकावासी अझै पानीको समस्या भोग्न बाध्य छन् । सबै जीवित प्राणीको उत्पत्ति जलमा भएको हो भन्ने कुरा निर्विवाद छ । पानीविना जीवन नै सम्भव छैन । नदी तथा खोलाका किनार नै संस्कृति र सभ्यताको विकास हो । नेपालको सन्दर्भमा जुम्लाको सिंजा क्षेत्रको हिम नदीलाई लिन सकिन्छ ।
वास्तविक रूपमा नेपाल भएर बग्ने करीब ८० प्रतिशत पानी वर्षाको बेलामा मात्र देखिन्छ । उक्त पानी बगेर सकिन्छ । नेपालमा वर्षाको पानीलाई आवश्यक व्यवस्थापन गरी प्रयोग गर्ने विधि आजसम्म छैन । मानव जीवनका लागि पानी अपरिहार्य विषय हो । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पुर्याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसविपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसले कुनै पनि विषयमा गहन रूपमा सोचविचार पुर्याउन सक्दैन र विकासात्मक कार्यहरूमा वाधाव्यवधान उत्पन्न हुन पुग्छ । प्रश्न उठछ्, गुणस्तरीय जीवनका लागि कुन तहले कसरी प्रभाव पारिरहेको हुन्छ ? यसलाई गहिरिएर बुझ्ने हो भने गुणस्तरीय जीवनका लागि सम्बद्ध ठाउँमा उपलब्ध भइरहेको स्वस्थ वातावरणयुक्त खानेपानी व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । मानव तथा जीवित प्राणीलाई अपरिहार्य वस्तु पानी हो जसको अभावमा जीवन कल्पनासमेत गर्न सम्भव छैन । तसर्थ यस्तो अपरिहार्य वस्तुको उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जिउन सम्भव छ ।
नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्छ, राजनीतिक भागबन्डा होइन वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको चयन गर्नुपर्ने हुन्छ । स्वतन्त्र र पारदर्शी संरचना चाहिन्छ जो राजनीतिक हस्तक्षेपबाट मुक्त होस् ।
नेपालमा पानीको समस्या हुनुको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र र मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षरोपण नहुनु, वर्षाको पानी संकलन प्रविधिलाई अभियानका रूपमा नल्याइनु हो । त्यस्तै, दिगो खानेपानी योजना बनाउन नसक्नु, जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु, शिक्षा एवं जनचेतनाको अभाव, व्यापक कमिशन एवं भ्रष्टाचार, गुणस्तरीय जनशक्तिको प्रयोग नगरी राजनीतिका आफ्ना मान्छेको भर्ती केन्द्र हुनु, योजनाहरूको छनोटमा जनताको सहभागिताको कमी, योजना छनोट प्रक्रिया राजनीतीकरण, दिगो योजनाको निर्माण हुन नसक्नु पनि कारण हुन् । सरकारी एवं गैरसरकारी निकायहरूको समन्वयमा कमीले गर्दा पनि पानीको समस्या समाधान हुन नसकेको हो । कुनै दिन काठमाडौंवासीले सबभन्दा सस्तो वस्तुको रूपमा नाम लिनुपर्दा पानीलाई लिन्थे तर अहिले काठमाडौं उपत्यका साथै देशका अन्य प्रमुख शहरमा समेत खानेपानीको हाहाकार हुने अवस्था छ ।
हाम्रो देशमा गुणस्तर जीवन र आर्थिक विकासका लागि खानेपानी व्यवस्थापन तथा वितरणमा सुधारको आवश्यकता छ । वर्षाको ४ महीना नेपालमा ८० प्रतिशत पानी देखिन्छ । ८ महीना पानीको अभाव हुन्छ । माथि भनेजस्तै वर्षाको पानीलाई सदुपयोग गर्न नेपालले जलाशययुक्त जलविद्युत् निर्माण गर्नु अति आवश्यक छ । यसबाट पानी भण्डारणमात्र नभई जलविद्युत्, सिँचाइ, माछापालन, पर्यापर्यटनलाई टेवा पुग्ने गरी बहुउद्देश्यीय बनाउन सकिन्छ । उदाहरणका रूपमा इन्द्रसरोवरलाई लिन सकिन्छ । खानेपानी र गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकासबीचको अन्तरसम्बन्ध बारेमा विभिन्न समयमा धेरै अध्ययन र अनुसन्धान नभएका होइनन् । सम्पूर्ण अध्ययनको निचोड पानी नै जीवनको आधारशिला तथा गुणस्तरीय जीवनको आधार हो । साथै जनताको आर्थिक उन्नतिका लागि पानी आधारशिला हो ।
आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले पानीलाई अमृतका रूपमा स्वीकार गरिसकेका छन् । पानी नै जीवन हो किनभने मानव शरीरको संरचनामा ७० प्रतिशत पानी नै रहेको छ । हामी बस्ने पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शतप्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि यसमा जलवायु परिवर्तनले थप चुनौती दिएको छ । यही गतिमा तापक्रम वृद्धि हुँदै जाँदा हो भने यसको असर नेपालमा पनि परी वर्षामा बाढीपहिरो, डुबानले नोक्सान गर्ने र हिउँदमा हिमालय पनि कालो हुने परिस्थिति आइरहेको छ । माथिको बाधक तत्त्वले खानेपानी तथा जीवन निर्वाहमा ठूलो नकारात्मक असर पुर्याएको छ ।
यिनै कारण खानेपानी व्यवस्थापन तथा वितरणमा अविलम्ब पुन: संरचना आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्छ, राजनीतिक भागबन्डा होइन वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको चयन गर्नुपर्ने हुन्छ । स्वतन्त्र र पारदर्शी संरचना चाहिन्छ जो राजनीतिक हस्तक्षेपबाट मुक्त होस् । भ्रष्टाचारमुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्छ । सम्बद्ध निकाय नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार र दिगो विकास गर्नुपछ । नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिक द्वन्द्व, अयोग्य योजनाकार आदिको अन्त्य गरी जलस्रोतको धनी उपाधि पाएको नेपालमा खानेपानी, विद्युत्, कृषि, पर्यापर्यटन आदिमा आत्मनिर्भर बनाउनमा स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नु आवश्यक छ ।
लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधिप्राप्त व्यक्ति हुन् ।