काठमाडौं । नेपालबाट भारत निर्यात हुने विभिन्न औद्योगिक वस्तुमा नयाँ गुणस्तर प्रमाणपत्र दिन र पुरानो प्रमाणपत्र नवीकरण गर्न भारतले ढिलाइ गर्दा सिमेन्ट निर्यातमा असर परेको देखिएको छ ।
गुणस्तर प्रमाणपत्र लिनुपर्ने प्रावधानले सिमेन्टलगायत, प्लाइउड, जुत्ताचप्पल, जस्तापाता र स्यानिटरी प्याड लगायत वस्तु निर्यातमा अप्ठ्यारो परेको सरकार तथा उद्योगीहरूले बताएका छन् । क्षेत्रगत रूपमा पूरै निर्यात नरोकिए पनि कुनै उद्योगको प्रभावित भएको छ भने कुनैको छैन ।
भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकअनुसार सिमेन्ट निर्यातमा असर गरे पनि त्यत्तिको असर अन्य वस्तुको निर्यातमा परिसकेको देखिँदैन । प्लाइउड र जुत्ताचप्पलको निर्यात बढेकै देखिन्छ । उद्योगीहरूका अनुसार निर्यात रोकिएको समय धेरै भई नसकेकाले तत्काल तथ्यांकमा ठूलो असर नदेखिएको हो ।
नेपाली उद्योगले आफ्नो उत्पादन भारत निर्यात गर्न त्यहाँको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र लिनुपर्छ । यो प्रमाणपत्रको अवधि २ वर्षदेखि २ वर्षसम्म हुने गर्छ, त्यसपछि नवीकरण गर्नुपर्छ ।
प्रमाणपत्र दिन गरिएको ढिलाइ नेपालले दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्ध हटाउने दबाब भएको सरकारी स्रोतहरूले बताएका छन् । भारतले गुणस्तर प्रमाणपत्र दिन ढिलाइ गर्दा निर्यात गरिरहेको सिमेन्ट उद्योग प्रभावित भएका हुन् ।
अर्घाखाँची सिमेन्ट उद्योगले भारत निर्यातका लागि पाएको बीआईएस प्रमाणपत्रको म्याद ९ असोजमा सकिएको थियो । नवीकरण गर्न २ महीनाअघि नै तोकिएको प्रक्रिया पूरा गरे पनि भारतले नवीकरण नगरिदिँदा सिमेन्ट निर्यात ठप्प रहेको उद्योगका एकजना सञ्चालक पशुपति मुरारकाले बताए ।
‘नवीकरणका लागि २ महीनाअघि नै प्रक्रिया अघि बढाएका हौं । सबै प्रक्रिया पूरा हुँदा पनि नवीकरण भएको छैन,’ उनले भने । यो समस्या समाधानका लागि सरकारी स्तरबाटै पहल हुनुपर्ने उनी बताउँछन् ।
सिमेन्ट निर्यातको अवस्था हेर्दा गतवर्ष पहिलो त्रैमासमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँको १ लाख ५५ हजार २४८ टन निर्यात भएको देखिन्छ । चालू वर्षको पहिलो त्रैमासमा १० करोड १९ लाख ४७ हजार रुपैयाँको १८ हजार ३०८ टन मात्रै निर्यात भएको देखिन्छ । देशभित्र आर्थिक क्रियाकलाप सुस्ताएको र खासगरी निर्माण क्षेत्र माथि उठ्न नसकेको बेला नेपाली सिमेन्ट उद्योगलाई भारतीय बजार वरदानका रूपमा देखापरेको थियो । पछिल्लो गैरभन्सार अवरोधका कारण सिमेन्ट निर्यात घटेको छ । सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको छ ।
यस अवधिमा जुत्ताचप्पल, प्लाइउड लगायत नेपाली उद्योगबाट उत्पादित वस्तुको निर्यात भने बढेको छ । तर, भारतले अहिले अवरोध नगरेको भए निर्यातको आकार अझै ठूलो हुने उद्योगीहरूको भनाइ छ ।
खासगरी भारतमा नेपालको चर्चित गोल्डस्टार जुत्ताले व्यवसाय चम्काइरहेको थियो । भारतको उत्तर प्रदेश तथा विहारमा गोल्डस्टार सफल भए पनि केही समयदेखि निर्यात हुन नसकेको कम्पनीका एक प्रतिनिधिले आर्थिक अभियानलाई बताए । उनका अनुसार भारततर्फ जुत्ता निर्यात गर्न निरन्तर संवाद भइरहेको छ । गोल्डस्टारलाई अवरोध गरे पनि अन्य कतिपय जुत्ताचप्पल उत्पादकले भने भारत निर्यात गरेका छन् ।
विराटनगरको म्याजिक ब्रान्डमा चप्पल उत्पादन गर्ने कम्पनीले तोकिएको म्यादभित्र १ करोड रुपैयाँ लगानीमा गुणस्तर परीक्षण ल्याब नै सञ्चालन गरेर गुणस्तर परीक्षण गरी त्यसका आधारमा भारतीय बजारमा आफ्नो उत्पादन पठाइरहेको बताएको छ ।
म्याजिक चप्पलका कन्ट्री हेड महेश बाहेतीले आफ्नो उद्योगले ग्रेस पिरियडभित्रै ल्याब स्थापना गरी गुणस्तर परीक्षण गरेर भारतीय बजारमा माल पठाउन थालेकाले कुनै समस्या बेहोर्नु नपरेको यसअघि आर्थिक अभियानलाई बताएका थिए । ल्याब स्थापनालगायतको खर्च १ करोड रुपैयाँभन्दा माथि पुगेको उनको भनाइ छ ।
विराटनगरका सेन्चुरी प्लाई र ग्रीन प्लाईले भारतीय मापदण्डअनुसारको गुणस्तर परीक्षण प्रविधि जडान गरी उत्पादन गरेर निकासी गरिरहेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती सामग्री निर्यातका लागि बीआईएस प्रमाणपत्र नवीकरण नभएको र नयाँ प्रमाणपत्र पनि नदिइएको गुनासो व्यवसायीबाट आएको छ । यसबारे भारतसँग औपचारिक रूपमा कुराकानी गर्ने तयारी रहेको एक उच्च अधिकारीले बताए । ‘कूटनीतिक माध्यमबाट छलफल हुनेछ, केही समय लाग्न सक्छ,’ उनले भने ।
भारतीय अवरोधको असर कुल निर्यात देखिएको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म पोहोरको सोही अवधिको तुलनामा निर्यात ६ दशमलव ११ प्रतिशतले घटेर ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । गतवर्ष उक्त अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको नेपाली वस्तु निर्यात भएको थियो ।