काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ६ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाइएको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरूसँगै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको आधारमा १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । उक्त बोनस शेयरमा लाग्ने करबापतको रकम भने शेयरधनी स्वयंले व्यहोर्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ । गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् ।
एकीकृत कारोबार गर्न बाँकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आह्वान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।
मर्जरका लागि सहमति भएको समान हैसियतको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गर्दै छ । यसको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।