रियो ब्राभोको दक्षिणतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डरको रूपमा हेरिन्छ तर अर्जेन्टिनाका उदारवादी राष्ट्रपति हाभियर मिलेई भने यसका अपवाद मानिन्छन् । मिलेईलाई ट्रम्पले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई प्रभावित गरेर अर्जेन्टिनालाई नयाँ ऋण दिलाउन सहयोग गर्ने विश्वास छ । अर्जेन्टिनाले आइएमएफसँग ४४ अर्ब अमेरिकी डलर ऋण लिन बाँकी छ ।
ट्रम्प र मिलेईका केही समान लक्ष्य छन् । दुवैले आआफ्नो देशलाई फेरि ‘महान्’ बनाउने सपना देख्छन्, जलवायु नीतिहरूलाई अस्वीकार गर्छन् र आफूलाई राजनीतिभन्दा बाह्य खेलाडीका रूपमा रहेका भनी प्रस्तुत गर्छन् । तर, उनीहरूको रणनीति भने धेरै फरक छ ।
मिलेई स्वतन्त्र बजारको कट्टर समर्थक हुन् जसले राज्य व्यवस्थालाई सानो बनाउने चाहना राख्छन् । अर्कोतर्फ ट्रम्प भने व्यापारिक नीतिमा भन्सार शुल्कलाई उच्च प्राथमिकता दिन्छन् । ट्रम्पका लागि सबैभन्दा सुन्दर शब्द भनेकै भन्सार शुल्क हो जुन उनले अमेरिकी सामान किन्ने र अमेरिकी नागरिकलाई रोजगारी दिने नीतिका लागि प्रयोग गर्छन् ।
ट्रम्प–मिलेई सम्बन्ध
यी फरक विचार राख्दा राख्दै पनि मिलेई र ट्रम्प निकै मिल्दछन् । आफ्नो चुनावी अभियानमा मिलेईले अर्जेन्टिनाको पेसो हटाएर अमेरिकी डलरलाई आधिकारिक मुद्रा बनाउने घोषणा गरेका थिए । यद्यपि उनले अहिलेसम्म यो घोषणाको कार्यान्वयन गरिसकेका छैनन् । तर, सत्ता सम्हालेपछि उनले अर्जेन्टिनालाई पूर्ण रूपमा अमेरिका र इजरायलको पक्षमा उभ्याएका छन् । उनी ट्रम्पको विजयमा बधाई दिन मार–ए–लागो जाने पहिलो राष्ट्रप्रमुख बनेका थिए ।
अर्जेन्टिनाको मुद्रास्फीति नियन्त्रण प्रयास
मिलेईले डिसेम्बर १०, २०२३ मा सत्ता सम्हाल्दा अर्जेन्टिना लगभग अतिमुद्रास्फीतिको स्थितिमा पुगिसकेको थियो । सरकारी खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत बराबर घाटामा थियो जुन मुख्य रूपमा केन्द्रीय बैंकबाट असीमित रूपमा पैसा छापेर पूरा गरिएको थियो ।
वार्षिक मुद्रास्फीति २११ प्रतिशतसम्म पुगिसकेको थियो । पेसोको मूल्य सरकारी नियन्त्रणका कारण कृत्रिम रूपमा स्थिर देखिए पनि भ्रष्टाचारको लागि यो प्रणाली सुनौलो अवसर बनेको थियो । अर्कोतर्फ, केन्द्रीय बैंकको ऋण करिब १० अर्ब अमेरिकी डलर पुगेको थियो ।
मिलेईले कार्यभार सम्हालेपछि पेसोलाई ५४ प्रतिशतले अवमूल्यन गरे । साथै, उनले महिनैपिच्छे २ प्रतिशतको दरले (फेब्रुअरी १ देखि १ प्रतिशत मात्र) डलरको तुलनामा पेसोको मूल्य घटाउने नीति अपनाए ।
मुद्रास्फीति त घट्यो तर सामाजिक लागत बढ्यो । मुद्रास्फीति शुरूवातमा तीव्र रूपमा बढ्यो तर सार्वजनिक क्षेत्रका तलब र पेन्सन स्थिर राखेर उनले सरकारी घाटा ३० दिनभित्र हटाए । मुद्रास्फीति अहिले २ दशमलव ४ प्रतिशतमा झरेको छ, जुन अर्जेन्टिनाको इतिहासमा तुलनात्मक रूपमा राम्रो मानिन्छ । तर, सामाजिक मूल्य भने ठूलो चुकाउनु पर्यो । गरिबी दर १० प्रतिशतले वृद्धि भई ५४ प्रतिशतमा पुग्यो । यद्यपि, अहिले यो केही घट्न थालेको छ । आश्चर्यजनक रूपमा यस्तो कठिनाइ आइपरे पनि अर्जेन्टिनी जनताले मिलेईलाई समर्थन गरिरहेका छन् किनकि मुद्रास्फीति घट्दै जाँदा उनीहरूमा आशा पलाएको छ ।
पेसोको अधिमूल्यनको जोखिम
अहिले अमेरिकी डलर बलियो बन्दै जाँदा र अन्य उदीयमान अर्थतन्त्रका मुद्राहरू कमजोर हुँदै गएका छन् तर अर्जेन्टिनी पेसोको भने अधिमूल्यन हुन थालेको छ । यो पेसोको मूल्यवृद्धिले मुद्रास्फीति नियन्त्रण गर्न भने सहायता पुगेको छ जुन मिलेईको लोकप्रियताको मुख्य कारण हो । तर, यो रणनीतिले लामो समयसम्म काम गर्ने सम्भावना भने कम देखिन्छ । इतिहासले देखाएको छ कि मुद्रास्फीति नियन्त्रण गर्न पेसोको मूल्य कृत्रिम रूपमा उच्च राख्ने रणनीति अपनाइएमा अन्तत: भुक्तानी असन्तुलनको संकट आउन सक्छ ।
के यस पटक फरक हुनेछ ?
मिलेई प्रशासनको दाबी छ कि अर्जेन्टिना अब नयाँ युगमा प्रवेश गरेको छ जहाँ वित्तीय अनुशासन पुन: स्थापित भइसकेको छ । तर, नियमन हटाउनु मात्र पर्याप्त हुँदैन । अर्जेन्टिनाको खस्कँदो पूर्वाधार सुधार्न लगानी आवश्यक छ तर सरकारको खर्च कटौती नीतिका कारण पूर्वाधारमा लगानी हुन सकेको छैन ।
आइएमएफ र ट्रम्पबाट आशा
आइएमएफबाट थप ऋण लिएर केन्द्रीय बैंकको ऋण घटाउने योजना बनाइएको छ । तर, आइएमएफले अर्जेन्टिनालाई थप ऋण दिन आनाकानी गरिरहेको छ किनकि आइएमएफले आफ्नो डलरको प्रयोग पेसोको अधिमूल्यन गराउन उपयोग हुने कुरामा अनुमति दिन चाहेको छैन ।
यस्तो अवस्थामा मिलेई ट्रम्पको प्रभावमा निर्भर छन् । अमेरिका आइएमएफमा सबैभन्दा ठूलो प्रभाव राख्ने भए पनि यो अमेरिकी सरकारको प्रत्यक्ष निकाय होइन । यसमा युरोपेली संघका देशहरूको सामूहिक रूपमा ३० प्रतिशत मताधिकार छ । मिलेईले युरोपका दक्षिणपन्थी नेताहरूलाई खुलेर समर्थन गर्दै आएका छन् जसका कारण आइएमएफबाट ऋण लिने उनको प्रस्तावलाई युरोपबाट समर्थन मिल्ने सम्भावना न्यून देखिन्छ ।
ट्रम्प–मिलेईको साझेदारीको मूल्य के हुन सक्छ ?
ट्रम्पको स्वभाव हेर्दा मिलेईले अमेरिकासँग मित्रता घोषणा गरेर मात्र समर्थन पाउने सम्भावना छैन । अर्जेन्टिना अहिले मर्कोसुर नामक दक्षिण अमेरिकी व्यापार संगठनको सदस्य छ जसको नेतृत्व ब्राजिलले गरेको छ । मिलेईले यसलाई ‘कारागार’ भनेका छन् र अमेरिका–अर्जेन्टिना द्विपक्षीय व्यापार सम्झौताका लागि प्रयास गरिरहेका छन् ।
यदि अर्जेन्टिना मर्कोसुरबाट बाहिरिन्छ भने यसले ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई कमजोर बनाउँछ । लुला ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, र संयुक्त अरब इमिरेट्स) को नेतृत्व गर्दै अमेरिकी डलरलाई चुनौती दिने छुट्टै मुद्रा बनाउने प्रयास गरिरहेका छन् । ट्रम्पले यदि ब्रिक्स कमजोर पार्न सक्ने देखेमा अर्जेन्टिनाको पक्षमा आइएमएफमा समर्थन गर्न सक्छन् ।
मिलेईका नीतिहरू अल्पकालीन रूपमा सफल देखिए पनि दीर्घकालीन रूपमा अर्जेन्टिनाले आर्थिक स्थिरता कायम गर्न सक्छ वा अर्को संकटमा फस्छ भन्ने प्रश्न अहिले टड्कारो रूपमा उठेको छ । के तपाईंलाई लाग्छ कि मिलेईले अर्जेन्टिनालाई आर्थिक संकटबाट बचाउन सक्नेछन् वा देश पुन: वित्तीय संकटतर्फ धकेलिनेछ ?
बिजनेस इन्साडरमा प्रकाशित सामग्रीको नेपाल भावानुवाद ।