काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृतिपछि मात्र वितरण गर्ने जानकारी कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले १२औं वार्षिक साधारण सभा गर्ने मितिसमेत तय गरिसकेको छ । सोही बैठकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने कम्पनीको तयारी छ ।
बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो ।