काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले फागुन मसान्तसम्म २० करोड १७ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
यो नाफा माघ मसान्तको तुलनामा ५ करोड २६ लाख रुपैयाँभन्दा बढी हो । फण्डले माघ मसान्तसम्म १४ करोड ९१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
पछिल्लो महीना योजनाको आम्दानी बढेकाले नाफा बढेको हो । फागुनमा योजनाको खर्च पनि बढेको छ । तर, खर्चको तुलनामा आम्दानी उल्लेख्य बढेको छ ।
योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडका अनुसार माघ मसान्तसम्म १६ करोड २३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले फागुन मसान्तसम्म भने २१ करोड ६७ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो ।
त्यस्तै माघ मसान्तसम्म १ करोड ३१ लाख रुपैयाँभन्दा बढी खर्च भएकोमा फागुन मसान्तसम्म १ करोड ४९ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० भदौ २६ देखि सञ्चालनमा छ ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालित यस योजनाले फागुन मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परलमूल्य १ अर्ब रुपैयाँभन्दा बढी छ । योजनाको लगानीको बजारमूल्य भने १ अर्ब १३ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
१० करोड इकाई जारी भएकोमा फागुन मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने १२ रुपैयाँ ५१ पैसा रहेको छ । माघ मसान्तसम्म यो मूल्य ११ रुपैयाँ ९८ पैसा थियो ।