काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधि हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ का अवसरमा सम्पन्न अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बीमा दोकान प्रालिले आयोजना गरेको थियो ।
उक्त प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ कम्पनीको सहभागिता थियो । फाइनल चरणमा पुगेका हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच खेल भएको थियो । प्रतियोगिता २ दिनसम्म चलेको थियो । नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगिताका विजयीलाई प्रमाणपत्र, शिल्ड, ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए । उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्सले मेडल, शिल्ड र ३५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता हिमालयन लाइफ इन्स्योरेन्सले मेडल, शिल्ड र १५ हजार हात पारेको छ ।