काठमाडौं । आतिथ्य व्यवसायमा सक्रिय स्वदेशी ब्राण्ड आक्रमकरूपमा होटल विस्तारमा लागेको छ । होटल पौवाको नाममा ब्राण्डिङ हुँदै गएको यो समूहले देशका विभिन्न ठूला शहरमा चेन होटल विस्तार गरेको जनाएको छ ।
आफ्नो १५ औं चेन होटल विस्तारबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलनमा बोल्दै होटल पौवका व्यवस्थापक ध्रुव न्यौपानले १० वर्षमा १०० होटलमार्फत सेवा दिने तथा अर्को दशकमा विश्वबजारमा उपस्थिति जनाउने लक्ष्यका साथ अघि बढेको बताए ।
'अबको १० वर्षमा देशभित्रै ३ देखि ५ तारेसम्मका स्तरीय होटल व्यापक मात्रमा सञ्चालन गर्ने छौं । त्यसका लागि अहिले भएका होटललाई स्तरीकरण गर्न शुरू गरेका छौं । हाल पौवाका १५ ओटा होटलहरू सञ्चालनमा ल्याउन लागेका छौं,' उनले भने, 'मुलकोट र हलेसीमा १४औं र १५औं होटलका रूपमा विस्तार गर्दैछौं ।'
उनका अनुसार पौवा ग्रुपले हाल देशैभर सामान्य स्तरदेखि ५ तारेसम्मको होटल बनाइरहेको छ । झण्डै १ अर्ब लगानीमा नेपालगञ्जमा बन्दै गरेको होटल पौवा ५ तारे हुने उनले बताए । नेपालमा एसियन मुलकै पर्यटक आउने भएकाले उनीहरूलाई नै लक्षित गरी होटल विस्तार गरेको उनले बताए । उक्त होटल भारतीय पर्यटकलाई लक्षित भएको तथा भारतमा नै रहेका होटललाई पौवाले व्यवस्थापन गर्ने गरी अगाडि बढेको उनको भनाइ छ ।
देशैभर सञ्जाल विस्तारमा लागेको होटल पौवाले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशीमा मुलकोटमा पौवा होटल शुरू गरेको छ । ‘जहाँबाट आतिथ्यको शुरूवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै देशभर होटल विस्तार गरिएको पौवा ग्रुपले १४औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा शुरु गरेको छ । ४५ रोपनी क्षेत्रफलमा र्फैलिएको यो रिसोर्ट ५० करोडको लगानीमा पौवा बिच रिसोर्टको नामबाट सञ्चालन गरेको हो । ग्रुपले खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढीको लगानीमा अर्को पौवा रिसोर्ट सञ्चालनमा ल्याएको छ ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौं । काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य हो । काठमाडौंको भीडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेका हौं ।’
अध्यक्ष भण्डारीले भने, ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरूको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरूलाई लक्षित गरी हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।’
पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भने, 'देशको विकासको संकेत भनेको संस्कार र संस्कृति हो । नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ । हामी पौवाको विस्तार व्यवसायका रूपमा मात्र होइन, हाम्रो संस्कृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौं ।’
ज्ञवालीले भने, ‘नेपालले एक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो एक वर्ष कोरानाअघिकै रूपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाइँ लम्बिन सक्छ । हामीले देशभर १५ ओटा पौवा चेन बनाएका छौं । जुन पर्यटकीय गन्तव्य क्षेत्रसमेत हो । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मद्दत पुग्नेमा अपेक्षासमेत गरेका छौं ।’
पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को यात्रा
नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित होटल पौवा नेपालको पूर्वतर्फ अगाडि बढेको छ । विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा शुरू भएको थियो ।
पौवाले रूपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो । अब पौवाको १४औं शाखा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा १५ औ शाखा विस्तार गरिएको हो । पौवाको ड्रिम प्रोजेक्टको रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको छ।
पौवाले अहिलेसम्म ३ ओटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवाप्रवाह गरिरहेको छ ।
पौवाका व्यवस्थापक धुव्र न्यौपाने भने, ‘नेपालमा घुम्ने स्थान अथाह छ । हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ ।’
‘पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्नेसमेत हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ, जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोतसमेत विस्तार भएको छ,’ न्यौपानेले भने, ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरेको छ ।’
नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास रहेको उनले बताए । एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको छ ।