काठमाडौं । नेपाली हस्तकलाका सामानको राष्ट्रिय र अन्तरराष्ट्रिय बजार प्रवर्द्धनका लागि मङ्सिर तेस्रो साता हस्तकला व्यापार मेला तथा प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा मङ्सिर २० देखि २४ गतेसम्म होटेल हायात बौद्धमा मेला गर्न लागेको सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
मेलामार्फत निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्ने, आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन र रङ संयोजनबारे जानकारी आदानप्रदान गर्ने, स्वदेशी र विदेशी क्रेता–विक्रेताबीच एकआपसमा शीप, प्रविधि, डिजाइन र ज्ञान आदानप्रदान गर्ने उद्देश्य रहेको संघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।
करीब १५० ओटा स्टल रहने मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत हस्तकलाका सामग्री प्रदर्शनी तथा विक्रीमा राखिने बताइएको छ । मेलामा महासंघका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघ र वस्तुगत संघका साथै विदेशी प्रदर्शनीकर्ताको रूपमा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीको सहभागिता रहनेछ । मेलामा नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रममा समावेश भएका हस्तकला वस्तुलाई विशेष रूपमा प्रदर्शनी गर्ने तथा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई नि:शुल्क स्टल उपलब्ध गराइने महासंघले जानकारी दिएको छ । नेपाली हस्तकला व्यवसायीका लागि मेला व्यापार प्रवर्द्धन गर्ने अवसर हुने मेला आयोजक समितिका संयोजक तथा महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधरले जानकारी दिए । ‘नेपाली व्यवसायीका लागि आफ्नो उत्पादनको मार्केटिङ गर्ने यो ठूलो अवसर हो,’ उनले भने, ‘मेलाबाट व्यवसायीले राष्ट्रिय र अन्तरराष्ट्रिय बजार विस्तार गर्न सक्नेछन् ।’
मेलामा प्रत्यक्ष रूपमा हस्तकला प्रतियोगितासमेत आयोजना हुनेछ । यसमा परम्परागत विधातर्फ बुट्टेनली निर्माण र समसामयिक विधातर्फ गलैंचा बुनाइ प्रतियोगिता हुनेछ । न्यूनतम १५ जना कलाकारको सहभागिता रहने प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ नगदसहित सम्मानित गर्ने आयोजकको तयारी छ । मेलाकै अवसरमा हस्तकला उद्योगको विकास र प्रवर्द्धनमा क्रियाशील उद्यमी, निकासीकर्ता, कार्गो कम्पनी, उत्कृष्ट कलाकारका साथै ७० वर्ष नाघेका कलाकारलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
हस्तकला मुलुकको प्रमुख निर्यातमूलक वैदशिक मुद्रा आर्जन गर्ने उद्योगमध्ये एक हो । वार्षिक करीब १२ अर्ब रुपैयाँ मूल्यको हस्तकलाका सामान विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । यस्तै निर्यात रकम बराबरकै सामान स्वदेशी बजारमा कारोबार भई यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा वार्षिक २४ अर्ब रुपैयाँ हाराहारी योगदान गर्दै आएको छ । हस्तकला उद्योग व्यवसायमा करीब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको अध्यक्ष शाक्यले जानकारी दिए ।
नेपाल हस्तकला महासंघले आयोजना गर्न लागेको २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिताबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरू । मेला मङ्सिर २० देखि २४ सम्म होटेल हायातमा आयोजना हुनेछ ।