७ वर्षअघिसम्म मोरङका कुमार गौतमलाई आधुनिक प्रविधि अपनाए कृषि व्यवसायबाट आफ्नै ठाउँमा मनग्ने आम्दानी हुने कुरा थाहा थिएन । तर, आम्दानीकै लागि वैदेशिक रोजगारीका क्रममा ५ वर्ष इजरायलमा कृषि कामदारका रूपमा रहँदा बटुलेको अनुभव र ज्ञानको प्रयोग गरी अहिले उनी आधुनिक तरकारी खेतीमा लागेका छन् । जिल्लाको उर्लाबारी–९ मा २ बिगाहा जग्गा भाडामा लिएर शुरू गरेको उनको फार्मबाट पहिलो वर्ष नै १५ हजार किलोग्राम गोलभेँडा उत्पादन गरी स्थानीय बजारमा विक्री गरिसकेका छन् । यसबाट सबै खर्च कटाएर ३ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । उनका अनुसार हालसम्म २० लाख रुपैयाँ लगानी गरिएको फार्ममा १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
इजरायल छँदै परम्परागत तरीकाले गरिनेभन्दा ३ गुणा बढीसम्म उत्पादन आधुनिक प्रविधि अपनाए लिन सकिने उनले थाहा पाएका थिए । प्लाष्टिकको छाना र वरिपरि झूलजस्तो जालीले घेरिएको ग्रीनहाउस प्रविधि र थोपा सिँचाइबाट उनी अहिले आफ्नो फार्मलाई यस क्षेत्रकै ‘नमूना तरकारी फार्म’का रूपमा विकास गर्न लागि परिरहेको बताउँछन् । उनको फार्म हेर्न अहिले विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरू दैनिकजसो लर्को लागेर आउने गरेको उनी बताउँछन् ।
पानीको अभाव हुने ठाउँमा पनि सजिलै सिँचाइ गर्न सकिने आधुनिक विधि ‘थोपा सिँचाइ प्रणाली’ र स्वचालित सिँचाइ प्रविधि अपनाएपछि आफूले फार्मबाट भविष्यमा अझ बढी आम्दानी गर्न सक्नेमा उनी आशावादी छन् । फार्मका १६ ओटै टनेलमा थोपा सिँचाइको सञ्जाल विच्छ्याइएको छ । फार्ममा गड्यौलाको प्रयोग गरी प्राङ्गारिक मल बनाउने प्लाण्टसमेत जडान गरिएको छ । ‘हाम्रो उत्पादन पूर्णत अग्र्यानिक बनाउने लक्ष्यअनुसार उक्त प्लाण्टसमेत आफैंले राखेका हौं,’ उनले भने । फार्ममा थोपा सिँचाइ र मल बनाउने प्लाण्टको लागतमध्ये ५० प्रतिशत व्यावसायिक कृषि विकास आयोजनाले अनुदान सहयोग दिएको उनले बताए । गौतमले सञ्चालन गरेको फार्मको नेपालका लागि इजरायली राजदूत हनान गोडर–गोल्डबर्जरले हालै स्थलगत अवलोकन गरेका थिए । अवलोकनका लागि उनको फार्ममा पुगेका राजदूतले ‘परम्परागत पद्धति र आधुनिक प्रविधि अपनाउँदा हुने उत्पादनबीचको फरकबारे परम्परागत खेतीवाला कृषक र गौतमसँग एकसाथ जानकारी लिएका थिए । राजदूतको स्वागतमा जम्मा भएका कृषकले परम्परागत शैलीबाट गोलभेँडाको एउटा बोटबाट बढीमा ५ किलोसम्म उत्पादन हुने जवाफ दिएका थिए भने गौतमले १५ देखि २० किलोसम्म । जवाफ पाएपछि राजदुतले मुस्कुराउँदै गौतमलाई बधाइ दिएका थिए ।
दुवैको अनुभव सुनेपछि राजदूतले आधुनिकीकरणविना कृषि क्षेत्रको प्रगति नहुने बताएका थिए । कृषिको प्रबल सम्भावना रहेको नेपालमा कृषिक्षेत्रमा आधुनिकीकरण गर्ने हो भने छोटो समयमै आर्थिक समृद्धि हुन सक्ने राजदूत गोल्डबर्जरको भनाइ थियो । ‘हामी पनि पहिला निकै गरीब थियौं, अहिले कृषि प्रणालीको आधुनिकीकरणबाट समृद्ध बन्दै गएका हौं,’ उनले भनेका थिए । गौतमको फार्ममा अहिले ग्रीन हाउस प्रविधिबाट गोलभेँडा, काउलीलगायतका विभिन्न तरकारी लगाएका छन् ।
नेपालको नीति कृषि उद्यममैत्री नभएको गुनासो५ वर्ष इजरायलमा ग्रीन हाउस प्रविधिको कृषि फार्मका काम गरेका उनी उतैबाट पोल्याण्ड पुगेका थिए । ‘म पोल्याण्डको पीआर (स्थायी आवसीय भिसा) पाउने लाइनमा थिएँ ।
तर, विदेशमा सिकेको शीप आफ्नै ठाउँमा केही उद्यममा लगाउने विचारले देश फर्किएँ,’ उनले भने, ‘हाम्रो विद्यमान् नीति कृषि उद्योग–मैत्री हुन सकेको छैन ।’ भारतमा सरकारले कृषिका लागि चाहिने सम्पूर्ण सामग्रीमा अनुदान, उत्पादनपछिको बजार व्यवस्थापन, ऋण, बाली बीमाजस्ता आधारभूत आवश्यकता पूरा गरिदिएको छ । सरकारी अनुदानले कम मूल्यमै उत्पादन हुने हुँदा नेपाली लागत मूल्यमै भारतीय उत्पादन हाम्रो बजारमा बेच्न सक्षम छन् । यसले नेपाली कृषकलाई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको पनि उनले बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.