काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८७ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले यस वर्ष ११ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिसम्म ४ करोड १५ लाख रुपैयाँभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज करीब ६३ प्रतिशत घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ९ करोड ५२ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा १८ करोड रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यो नाफा ५ करोड ९३ लाख रुपैयाँभन्दा बढी थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रूपैयाँ रछ । रिटेन्ड अर्निङ २ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १ अर्ब ५२ करोड २२ लाख रुपैयाँभन्दा बढी छ ।
पहिलो त्रैमाससम्म ५४ अर्ब ८३ करोड ५६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ४३ अर्ब ५१ करोड २२ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ३ दशमलव ४० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा छ ।