काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म ११ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने खुद नाफामा गएको हो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।
गत वर्ष ३० करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ११ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको हो । कम्पनी यस वर्ष ५ करोड ९३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफामा छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ं५५ लाख ६३ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ २३ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी छ ।
कम्पनीले पहिलो त्रैमाससम्म १९ अर्ब ९३ करोड ३४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ९ अर्ब १३ करोड ८३ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म कम्पनीले १ करोड ४ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष ६ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ७ दशमलव ३८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १५ दशमलव ७७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २८९ रुपैयाँ ५८ पैसा छ ।