काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९९ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ४ करोड ४० लाख नाफा कमाएकोमा चालू आवमा रू. १७ करोड ५८ लाख पुगेको हो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफा बढेको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ८६ करोड १९ लाख रहेकोमा चालू आवमा घटेर रू.५० करोड ८२ लाखमा झरेको हो । इम्पेयरमेन्ट चार्ज घटेसँगै कम्पनीको सञ्चालन नाफा उल्लेख्य वृद्धि भएको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २५ पैसा रहेकोमा चालू आवमा बढेर ८ रुपैयाँ ९८ पैसा पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा केही घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १ अर्ब ४० करोड रहेकोमा चालू आवमा रू. १ अर्ब ३६ करोडमा सीमित भएको छ ।
चुक्ता पूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २ अर्ब ४३ करोड सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. १८ करोड १६ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८६ र तरलता अनुपात १२ दशमलव ५५ प्रतिशत छ ।