काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेले १२ करोड ८४ लाखभन्दा बढी रकम आर्जन गरेको ठहर गरेको छ ।
न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले उक्त मुद्दामा न्यौपानेविरुद्ध सजाय तोक्न छुट्टै सुनुवाई गर्ने भन्दै आगामी वैशाख १६ गतेका लागि पेसीसमेत तोकेको छ ।
अदालतले उक्त मुद्दामा ८ जनालाई भने सफाइ दिएको छ । सफाइ पाउनेमा रामरत्न उपाध्याय, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमा कुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम छन् ।
गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ९ जनाविरुद्ध २०७८ माघ २७ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।