नवीन सोच भएका युवा प्रतिभाले व्यावसायिक प्रक्रिया र उद्यमका आधारभूत पक्ष नजानी समस्यामा परिरहेको सन्दर्भमा सरकारले यस्ता युवालाई सहयोग गर्न बिजनेश इन्क्युबेशन सेन्टर स्थापना गरेको छ । युवालाई उद्यमव्यवसायमा सघाउन खासगरी स्टार्टअप व्यवसायलाई सघाउन यस्तो सेन्टर निकै सहयोगी हुने देखिन्छ । त्यसैले सेन्टर स्थापना सकारात्मक छ तर सेन्टरले युवालाई चाहिएजस्तो सहयोग गर्न सक्छ कि सक्दैन, त्यसमै यसको सफलता निर्भर रहन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानकै कार्यालयमा अहिले यो सेन्टर स्थापना गरिएको छ । कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीदेखि स्नातकमा अध्ययनरत विद्यार्थीलाई स्टार्ट अप व्यवसाय गर्न सहयोग गरिनेछ । यसका लागि उनीहरूले सेन्टरमा नै बसेर काम गर्न पाउँछन् । सेन्टरले यस्ता युवालाई यहाँको भौतिक संरचना उपलब्ध गराउने मात्र होइन, तिनलाई मेन्टरिङका साथै विभिन्न खालको सहयोग गर्ने बताइएको छ । खासगरी कुनै पनि व्यवसाय गर्न त्यससँग सम्बद्ध कानूनी पक्ष, मुनाफायोग्य हुन्छ कि हुँदैन भन्ने जानकारी, बजारीकरण जस्ता विविध पक्षमा सेन्टरले सहयोग गर्नु उपयुक्त हुन्छ । युवाहरूसँग कुनै एउटा विचार हुन्छ तर त्यो विचारले काम गर्छ कि गर्दैन भन्ने उनीहरू निर्णय गर्न सक्दैनन् । त्यस्तो विचारलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने कुरामा सहयोग निकै आवश्यक हुन्छ । सेन्टरमा सरकारी कर्मचारी नै हुने हुनाले तिनले उद्योगव्यवसायका लागि सरकारी प्रक्रिया कसरी पूरा गर्ने भनेर पक्कै पनि राम्ररी सिकाउलान् । तर, यस्तो सहयोगले मात्रै इन्क्युबेशनको काम हुँदैन । प्रविधिको प्रयोगबाट केही नयाँ कुरा गर्न खोजिरहेका युवालाई प्राविधिक सहयोग पनि आवश्यक पर्छ । त्यस्तो सहयोग दिने क्षेत्रका रूपमा यो सेन्टर स्थापित हुन जरुरी छ ।
अहिले खोलिएको सेन्टरले युवालाई उद्यमी बनाउन कत्तिको सहयोग गर्यो, यसले केके समस्या भोग्यो र सेन्टरलाई प्रभावकारी बनाउन केके गर्नुपर्छ भन्ने कुरा हेरेर मात्रै थप सेन्टर स्थापना गर्दा बढी परिणाममुखी हुनेछ ।
सरकारले सातै प्रदेशमा यस्तो सेन्टर खोल्ने कार्यक्रम ल्याए पनि राजधानीमा पहिलोपल्ट स्थापना भएको छ । अब यसलाई प्रदेशतिर पनि विस्तार गर्नु जरुरी छ । तर, यसको विस्तार गर्नुअघि अहिले खोलिएको सेन्टरले युवालाई उद्यमी बनाउन कत्तिको सहयोग गर्यो, यसले केके समस्या भोग्यो र सेन्टरलाई प्रभावकारी बनाउन केके गर्नुपर्छ भन्ने कुरा हेरेर मात्रै थप सेन्टर स्थापना गर्दा बढी परिणाममुखी हुनेछ ।
त्यसो त नेपालमा यस्तो सेन्टर पहिलोपल्ट स्थापना भएको होइन । विश्वविद्यालय र कलेजहरूले यस्तो सेन्टरको व्यवस्था गरेर विद्यार्थीहरूलाई व्यवसाय गर्न सिकाउने गरेको पाइन्छ । यस्तो सेन्टरबाट केही व्यवसाय शुरू भएको पनि पाइन्छ । स्टार्ट अप प्रतिस्पर्धाका कार्यक्रम पनि भइरहेका छन् र तिनमा विद्यार्थीले सूचनाप्रविधिको प्रयोग गरेर नयाँ व्यवसाय गर्नेबारेमा नयाँनयाँ सोच ल्याएको देखिन्छ । यस्तोमा सरकारले स्थापना गरेको सेन्टर र शैक्षिक संस्थाबीच सहकार्य गर्नु उपयुक्त हुन्छ । विश्वविद्यालयहरूमा आफ्नो जनशक्ति पठाएर पनि स्टार्ट अप व्यवसायका लागि आवश्यक सहयोग गर्न सक्छ । सरकारले पहिला पनि इन्क्युबेशन सेन्टरको स्थापना गरेको हो तर विभिन्न कारणले त्यो प्रभावकारी भएन । त्यतिबेला स्टार्ट अपबारे विद्यार्थीमा ज्ञान नहुँदा सफल भएको थिएन । अहिले भने स्टार्ट अपबारे नयाँ पुस्ता धेरै जानकार छ ।
अहिले सरकारले स्टार्ट अपका लागि वित्तीय कोष उपलब्ध गराउन लगानीका लागि वैकल्पिक स्रोतहरू खुला गरेको छ । भेन्चर क्यापिटल आदि उपकरण अहिले उपलब्ध छन् । यस्ता स्रोतसँग युवा प्रतिभालाई सम्बन्ध बढाउनुपर्छ अनिमात्र स्टार्ट अप अघि बढ्छ ।
सरकारले सहयोग गर्दैमा स्टार्ट अप सफल हुन्छ भन्ने छैन । कतिपय स्टार्ट अप सफल नभए पनि तिनले सम्बद्ध क्षेत्रमा रहेको परम्परागत प्रणालीलाई ध्वंस गर्छ र ती क्षेत्रमा कुशलता बढाउन सहयोग गर्छ । कुनै स्टार्ट अप सफल भए पनि केही समयपछि त्यो असफल हुन पनि सक्छ । केही वर्ष असफल भएको स्टार्ट अप पछि सफल भएको पनि पाइन्छ । त्यसैले केही वर्षको मात्र प्रगति हेरेर सेन्टर उपयुक्त वा अनुपयुक्त भन्ने अर्थ निकाल्नु हुँदैन । स्टार्ट अपको सफलतासँग इन्क्युबेशन सेन्टरको सम्बन्ध खोज्न मिल्दैन ।