राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिका पदाधिकारीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको निरीक्षण गरी नेपाली जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड दिए । नेपालमा प्रशस्त जडीबुटी भए पनि तिनको अनुसन्धान, प्रशोधन तथा बजारीकरण हुन सकेको छैन । त्यसो हुँदा जडीबुटी अप्रशोधित रूपमा निर्यात हुने गरेको छ जसले उचित मूल्य पाएको छैन । नेपालले जडीबुटीबाट नै प्रशस्त आय आर्जन गर्न सक्ने र रोजगारी पनि सृजना गर्न सक्ने भएकाले यसको बजारीकरणमा ध्यान जान आवश्यक छ ।
एक अनुमानअनुसार नेपालबाट करीब ३०० प्रजातिका जडीबुटीको व्यापार हुने गरेको छ । नेपालको शीतोष्ण र लेकाली हावापानीमा विशेष प्रकारका जडीबुटी पाइन्छन् । व्यापार हुने जडीबुटीमध्ये ३९ प्रतिशत प्रजाति संरक्षित प्रजातिभित्र पर्छन् । तर पनि तिनको व्यापार बढ्दो छ । यार्चागुम्बा, चिराइतो, टिमुरलगायत जडीबुटी ठूलो परिमाणमा निर्यात भएको पाइन्छ । त्यस्तै नेपालबाट प्रशोधित सुगन्धित तेलसमेत निर्यात हुने गरेको छ । तर, नेपालबाट धेरैजसो जडीबुटी अप्रशोधित रूपमा निर्यात हुने गरेको छ । त्यसमा पनि परीक्षण प्रयोगशालाको अभाव, कानूनी समस्या आदिले गर्दा बेलाबेलामा भारततर्फ जडीबुटी निकासी गर्न समस्या हुँदा कुहिएर खेर जाने गरेको अवस्थासमेत छ । चीनतर्फ पनि यस्तै समस्या छ ।
नेपालले जडीबुटीबाट सारतेल निकालेर विक्री गर्ने हो भने बढी लाभ लिन सक्छ । त्यस्तै अप्रशोधितभन्दा अर्धप्रशोधित वा प्रशोधित जडीबुटी निर्यात गर्न सक्यो भने त्यसको बढी मूल्य आउँछ । नेपालमा प्रविधि र जनशक्तिको अभावका कारण जडीबुटीको निर्यातबाट पर्याप्त लाभ लिन नसकेको अवस्था छ । विश्वमा बढी जडीबुटी निर्यात गर्नेमा पहिलोमा चीन, दोस्रोमा भारत र तेस्रोमा जर्मनी पर्छ । यी देशले जडीबुटी प्रशोधित गरी विभिन्न स्वरूपमा निर्यात गर्छन् । तर, नेपालले भने त्यसो गर्न सकेको छैन । नेपालमा विश्वमै दुर्लभ मानिएका जडीबुटीसमेत पाइन्छ । तर, तिनको बारेमा पर्याप्त प्रचार हुन सकेको छैन, अनुसन्धान पनि हुन सकेको छैन । त्यसैले जडीबुटी संकलनदेखि प्रशोधनसम्ममा सुधार जरुरी छ ।
अर्को महत्त्वपूर्ण कुरा भनेको नेपालमा जडीबुटीको खेतीका लागि पर्याप्त काम भएको छैन । वर्षेनि अनियन्त्रित रूपमा जडीबुटी संकलन गर्दा त्यो घट्दै जाने पक्का छ । त्यसैले जडीबुटी खेतीको नीति लिनु आवश्यक छ । त्यसका लागि कृषि अनुसन्धान केन्द्र वा आयुर्वेदिक औषधि निर्माताहरूले काम गर्नुपर्ने हुन्छ । भारतीय कम्पनी डाबरले नेपालमा कुरिलो खेती गर्न किसानलाई सहयोग गरेको थियो । कुरिलो आयुर्वेदिक औषधिमा प्रयोग हुने भएकाले डाबरले त्यसो गरेको थियो । नेपाली आयुर्वेदिक औषधि कम्पनीसँग त्यो क्षमता देखिएको छैन ।
सरकारले आयुर्वेदिक औषधि उत्पादकलाई प्रोत्साहन गर्न सकेको छैन । बजेट र जनशक्तिको अभावमा सिंहदरबार वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन बढाउन सकेको छैन । वैद्यखानाले अहिले नाममात्रका केही औषधि उत्पादन गरेको छ । त्यस्तै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले पनि सन्चो उत्पादनमै आफूलाई सीमित राखेको छ । उसको आम्दानीको ठूलो अंश सन्चोको विक्रीबाट नै हुन्छ । यद्यपि उसले सारतेलहरू पनि उत्पादन गरी विक्रीवितरण गरेको छ । त्यसो त नेपालमा दर्जनभन्दा आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी नभएका होइनन् । तिनले पनि विशेष अनुसन्धान गरेर प्रशोधित जडीबुटी निर्यातमा आफूलाई केन्द्रित गर्न सकेका छैनन् ।
आयुर्वेद र जडीबुटीको सम्बन्ध छ । नेपालमा आयुर्वेदको अध्ययन अध्यापन गर्ने जम्मा तीनओटा मात्रै संस्था छन् । त्यस्तै आयुर्वेदिक औषधि उत्पादनको नियमन गर्ने निकाय पनि खडा गरिएको छ । तैपनि नेपालले आयुर्वेदिक अध्ययन, अध्यापन र अनुसन्धान गराउन सकेको छैन । सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने संसद्मा प्रस्तुत गरेको विधेयक दुवै सदनबाट पारित भइसकेको देखिन्छ । तर, विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेको देखिँदैन ।
विश्वभरि नै आयुर्वेदलाई वैकल्पिक चिकित्साविधिमा रूपमा मात्रै मान्यता दिइएको छ तर पनि विश्वभर जडीबुटीको प्रयोग र माग भने बढिरहेको छ । यो बजारको अंश चीन र भारतले ओगटिरहँदा नेपालले भने जडीबुटीमा धनी भएर पनि बजार लिन सकेको छैन ।
यसो हुनुको एउटा कारण सरकारले पर्याप्त बजेट उपलब्ध नगराउनु हो । दोस्रो यसमा समयसापेक्ष अनुसन्धान हुन नसक्नु हो । अर्को, नेपालले आफ्ना जडीबुटीबारे विश्वबजारमा प्रचार गर्न सकेको छैन । यसको प्रवर्द्धनमा कामै गरेको छैन । नगर्नुको पनि एउटा कारण हो : नेपालले जडीबुटीको आवश्यक प्रशोधन गर्न नसक्नु ।
नेपालमा आम्चीहरूले पनि जडीबुटी प्रयोग गर्छन् । आम्ची विधालाई पनि सरकारले उपचारमा मान्यता दिएको छ तर यसको अध्ययनलाई अगाडि बढाउन भने लगानी गरेको छैन । त्यसैले सरकारले जडीबुटीको विकास, प्रशोधनका लागि पहल लिन जरुरी छ । विनाखेती उम्रिएका जडीबुटी संकलन गरेर जीविकोपार्जन गर्नमै यो सीमित हुनु भनेको मुलुकले एउटा ठूलो सम्भावनाको क्षेत्रलाई उपेक्षा गर्नु हो ।
सरकारले सुदूरपश्चिममा प्रशोधन केन्द्र खोल्ने भनेर कार्यक्रम ल्याएको धेरै वर्ष भइसके पनि त्यसतर्फ काम भएको छैन । नेपाल उद्योग वाणिज्य महासंघले पनि प्रशोधन उद्योगका लागि काम गर्ने बताएको थियो । तर, उसले पनि ठोस काम गरेको देखिँदैन । त्यसैगरी कर्णाली प्रदेश सरकारले जडीबुटी प्रशोधन र निर्यातका लागि अध्ययन गरे पनि काम भने हुन सकेको छैन । डेढ दशकअघि साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एन्भायरोमेन्ट (सावती)ले एक अध्ययन गरेको थियो । उसले जडीबुटी र सारतेलसँग सम्बद्ध समस्याको अध्ययन गरेर आवश्यक केही सुझावसमेत दिएको थियो । तर, त्यसतर्फ सरकारले पनि आवश्यक र उपयुक्त कदम चालेको पाइँदैन ।
मुलुकको अर्थतन्त्रलाई सबल बनाउने हो भने जडीबुटी क्षेत्रबाट ठूलै सहयोग मिल्ने देखिन्छ । तर, सरकारले सम्भाव्यताको अनुपातमा काम केही पनि गरेको छैन भन्न सकिन्छ । अत: जडीबुटीको उपयोगबारे विशेष अध्ययन गरेर यसका बहुविध उपयोग र व्यापारका लागि विशेष कार्यक्रम ल्याउन जरुरी देखिएको छ ।
सरकारले जडीबुटीको विकास, प्रशोधनका लागि पहल लिन जरुरी छ । विनाखेती उम्रिएका जडीबुटी संकलन गरेर जीविकोपार्जन गर्नमै यो सीमित हुनु भनेको मुलुकले एउटा ठूलो सम्भावनाको क्षेत्रलाई उपेक्षा गर्नु हो ।