काठमाडौं । चिनियाँ जेएमईभी ब्रान्डका विद्युतीय ट्याक्सीको नेपालमा बुकिङ खुला भएको छ ।
सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको उक्त गाडीको बुकिङ खुला भएको जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ब्रान्डको ट्याक्सीको मूल्य ४१ लाख ५० हजार रुपैयाँ पर्नेछ । फागुन १५ गतेसम्म बुकिङ गर्नेलाई ५० हजार रुपैयाँ छूट दिइने कम्पनीले जनाएको छ ।
उक्त ट्याक्सीमा अन्य ट्याक्सीभन्दा बढी रेन्ज र थप सुविधा पाइने कम्पनीको भनाइ छ । अधिकांश ट्याक्सीको रेन्ज २०० देखि ३०० किलोमिटरसम्मको हुने गरेकोमा उक्त कम्पनीको ट्याक्सीको रेन्ज ४३० किलोमिटर रहेको कम्पनीले जानकारी दिएको छ । उक्त रेन्ज सिंगल चार्जमा दिने कम्पनीको भनाइ छ ।
उक्त ब्रान्डको ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त गाडीमा एसी र डिसी चार्जर सपोर्ट गर्ने र डिसी फास्ट चार्जरको सहयतामा ३० मिनेटभित्रै ३० देखि ८० प्रतिशतसम्म गाडीको ब्याट्री चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । साथै, एसी चार्जरले ९ घण्टा र डिसी चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्ने कम्पनीले बताएको छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष अर्थात् १ लाख ५० हजार र मोटरमा ३ वर्ष अर्थात् ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।
सरिना जी ट्रेड प्रालिका अध्यक्ष राजु श्रेष्ठले जेएमईभी ब्रान्डको ट्याक्सीले दिने रेन्ज कुनै पनि ईभी ट्याक्सीमा नरहेको बताए । उक्त ब्राण्डको गाडीमा बुट स्पेस पनि नेपालमा उपलब्ध अन्य ब्राण्डका ट्याक्सीभन्दा बढी रहेको उनको भनाइ छ ।
जेएमईभी ब्राण्डका ट्याक्सी करीब २५ ओटा उपत्यका भित्रिसकेको र अबको ५–६ हप्तामा ५०० ओटा भित्रिने कम्पनीको भनाइ छ ।