काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (जेजीआई)ले नेपालमा पहिलोपटक सिन्नाबोन स्टोर सञ्चालनमा ल्याएको छ । यसले प्रतिष्ठित अमेरिकी ब्रान्ड सिन्नाबोनलाई नेपाली खाद्य तथा पेय पदार्थ बजारमा प्रवेश गराउने बताइएको छ ।
ललितपुरको सानेपामा अवस्थित नयाँ सिन्नाबोन स्टोरले नेपाली उपभोक्तालाई विश्वप्रसिद्ध सिनामन रोल्स, बेक गरिएका स्वादिष्ट परिकार र विशेष पेय पदार्थ उपलब्ध गराउने बताइएको छ ।
सिन्नाबोन नेपालकी ब्रान्ड म्यानेजर श्रीदा शाहले कम्पनीको प्रारम्भिक प्राथमिकता नेपाली उपभोक्ताको स्वाद, बानी र अपेक्षालाई गहिरो रूपमा बुझ्नु रहेको बताइन् । जेजीआईको व्यापक बजार अनुभव र उत्कृष्टताप्रतिको प्रतिबद्धताबाट प्रेरित, सिन्नाबोन नेपाल नयाँ सोच विचारसहित र रणनीतिक रूपमा विस्तार हुने तयारीमा रहेको उनको भनाइ छ । ब्रान्डले काठमाडौंका व्यस्त क्षेत्रहरूदेखि पोखरा, बुटवलजस्ता उदीयमान तथा स्थापित शहरहरूमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको बताइएको छ ।
सिन्नाबोन नेपालको शुरुआत केवल व्यापारिक उपलब्धिमात्र नभई नेपाली उपभोक्ताबीच अन्तरराष्ट्रियस्तरका गुणस्तरीय अनुभवप्रतिको माग र स्थानीय स्वादप्रतिको समझदारीको प्रतिबिम्ब भएको कम्पनीको भनाइ छ ।