काठमाडौं । तिहार रमाइलो चाड मानिन्छ । झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी दियो बाल्ने चलन छ । माटोको पालामा तेल राखेर बाल्ने दियो धेरै बेरसम्म बल्ने गर्छ । यसैले पनि यसको महत्त्व ठूलो छ ।
तिहार नजिकिएसँगै यतिबेला भक्तपुरका प्रजापति समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । भक्तपुर दरबार स्क्वायर, ठिमी, बोलाछें, ब्यासी, पोटरी स्क्वायर लगायत स्थानमा तिहारको लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहार शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानको लागि प्रख्यात भक्तपुरको पोटरी स्क्वायरका कुमालेहरू दिनरात नभनी पालासहितका समान बनाउन व्यस्त छन् । एक जनाले राम्रोसँग काम गर्दा दिनमा हजार ओटा पाला बनाउन सक्ने रामबहादुर कुमालले बताए । तिहारमा मात्र राम्रोसँग पाला बनाएर बेच्ने एकजनाले ५०–६० हजार रुपैयाँसम्म कमाउने गरेको व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला ४ प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको सय ओटाको २०० रुपैयाँ पर्छ । त्योभन्दा ठूलाको प्रतिगोटा क्रमश: १०, १५ र २० रुपैयाँ पर्दछ । कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेका छन् । त्यसको ३ ओटाको ५ रुपैयाँ पर्छ ।
पाला बनाउन सजिलो नहुने र पैसा कम आउने भएकाले धेरै कुमाले पालाभन्दा अरू सामग्री बनाउनेतर्फ आकर्षित हुने गरेका छन् । माटोको भाँडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्लो पुस्ताले विस्तारै यो पेशा छोड्दै गएको ५४ वर्षदेखि माटोको भाँडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापति बताउँछन् । पाला बनाउने अर्का स्थानीय सञ्जय प्रजापति पाला बनाउनेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै रहेको मान्छन् ।
‘महँगी दिन प्रतिदिन बढिरहेको छ, सानो छँदा हामी यहीँ नजिकैबाट पालाका लागि आफै माटो झिकेर ल्याउँथ्यौं, अहिले माटो उपत्यकामा नपाए दाङबाट ल्याउनुपर्ने बाध्यता छ । माटो खोज्दै उपत्यकाबाहिर पुग्दा भाउ पनि स्वत: बढेको छ । तर विगत केही वर्षदेखि पालाको मूल्य बढ्न सकेको छैन । माटोको मूल्य बढ्दा पालाको मूल्य यथावत् रहँदा हामीले घाटा समेत बेहोर्नुपरेको छ,’ उनले भने । तर माटोको भाँडा बनाउन प्रविधिको सहयोगले अहिले धेरै सहज भएको उनी बताउँछन् । छिटो छरितो रूपमा माटोका भाँडा बनाउन हातैले घुमाउनुपर्ने चक्रको बदलामा विद्युतीय चक्र प्रचलनमा छ । ‘पहिले–पहिले माटोलाई खुट्टाले फुटाइन्थ्यो । अहिले मेसिन प्रयोग गरिन्छ, त्यसपछि भाँडा बनाउन चक्र हातले घुमाउनुपथ्र्यो, अहिले मोटर प्रयोग गरिन्छ,’ प्रजापतिले भने । सबै चिज सहज भए पनि यो पेशामा भविष्य नदेखेर युवाले अन्य काम गरेकोमा कतिपय कुमालेहरू चिन्तित छन् ।
व्यवसायीका अनुसार तिहारको बेला माटोका पालाको माग अत्यधिक हुन्छ । तिहारमा मैन बाल्ने प्रचलन व्यापक भए पनि केही वर्षयता माटोको पालामा मैन भरेर बाल्ने चलन पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत पाला उक्तम मानिन्छ । तिहारका लागि माटोको पाला, भिउँट, ठेकी, धुपौरो जस्ता सामग्रीको माग उच्च हुने गरेको छ । यसरी माग बढ्दा तिहारको झिलीमिलीसँगै राजधानीको पुरानो शहर भक्तपुरमा माटोको पाला बनाउने परम्परागत पेशा गर्ने मानिसको व्यापार पनि बढेको छ । तिहारमा तेलबत्ती बाल्न माटोका पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको भक्तपुरको कुमाल समुदायका सदस्यहरू बताउँछन् ।
स्थानीय भाषामा कुम्ह भनिने माटोको भाँडा बनाउने जातीय पेशा भएका मानिस वर्षभरिमा सबैभन्दा बढी व्यस्त हुने समय यही हो । समाज आधुनिकीकरणतर्फ उन्मुख हुँदै गए पनि कृत्रिम पालाले माटोको पालालाई विस्थापित गर्न नसकेको उनीहरूको भनाइ छ ।तिहारमा खासगरी पाला, धुपौरो, खुत्रुके किन्ने मानिसको संख्या बढी हुने गरेको व्यवसायी बताउँछन् ।