काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरणअनुसार यी कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ दशमलव ११ प्रतिशत वृद्धि भएको हो । गत आवमा यी कम्पनीले कुल रू. ३ अर्ब २० करोडभन्दा बढी नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४ अर्ब ६२ करोडभन्दा बढी पुगेको हो ।
१२ कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ७ दशलमव ९९ प्रतिशत घटेको छ भने बाँकी सबै कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा वृद्धि भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ४७ करोड ३२ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४३ करोड ५४ लाखमा सीमित भएको छ ।
जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६९ करोड ११ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २५४ दशलमव ९२ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १९ करोड ९४ लाख नाफा कमाएको थियो । सर्वाधिक नाफा कमाउने जीवन बीमा कम्पनीको सूचीमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले उक्त अवधिमा रू. ६० करोड ३ लाख नाफा कमाएको छ ।
यी कम्पनीमध्ये सबैभन्दा कम नाफा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको रू. १९ करोड २४ लाख छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. २६ करोड ८९ लाख नाफा कमाएको छ ।
स्रोत ः तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार