काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पुससम्ममा जीवन बीमा कम्पनीहरूको व्यवसाय ८ दशमलव ६८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आवको पुससम्ममा लघुबाहेकका १४ ओटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्ममा ७४ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
चालू आवको पुसमा मात्र कम्पनीहरूले ४ लाख ३३ हजार बीमालेख विक्रीबाट १४ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क उठाएका छन् । अघिल्लो वर्ष भने ४ लाख ४२ हजार बीमालेखबाट १२ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
चालू आवको पुससम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १७ लाख ८३ हजार ५९२ ओटा बीमालेख विक्री गरी २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफको सबैभन्दा कम २ अर्ब रुपैयाँ मात्र छ । मङ्सिरसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा गतवर्षको तुलनामा ६ दशमलव ४७ प्रतिशतले बढेको थियो ।
आर्थिक गतिविधिमा आएको सुधारसँगै बीमा कम्पनीहरूको व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी बताउँछन् । बैंक, वित्तीय संस्थाहरूबाट विस्तारै कर्जा प्रवाह बढ्न थालेको र यसले आर्थिक गतिविधि बढ्दा बीमा कम्पनीहरूको व्यवसाय पनि सुधार भएको उनको भनाइ छ ।
लघुबीमाको व्यापार ५१ करोडमाथि
यसैगरी चालू आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले ६ लाख ६९ हजार २४४ बीमालेख जारी गरी ५१ करोड २९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । यस अवधिमा गार्डियन माइक्रो लाइफले २० करोड २० लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १८ करोड ६४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।