काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महीनामा कुल रू. ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले फागुनमा ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल रू. ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७ दशमलव ९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल रू. १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।
फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले रू. ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।
१४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले रू. २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीना अर्थात् फागुन महीनासम्म भने १४ कम्पनीले १ करोड ३७ लाख ८० हजार २ ओटा बीमालेख विक्री गरेर कुल रू. ९८ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।