नेपालमा सदाबहार रूपले बहिरहने अनगिन्ती नदी, नाला र खोला छन्, करीब ६ हजारको संख्यामा । यिनीहरूमा पानीको बहाउ निरन्तर रूपले भइरहेको छ । वर्षा र सुक्खा मौसममा पानीको बहाउ क्रमश: बढी र घटी हुने गर्छ । जे होस् नदी, नाला र खोलाहरूमा पानी बगिरहेको छ । यो बगिरहेको पानी नेपालको प्रकृतिप्रदत्त अपार सम्पत्ति हो । सदुपयोग र प्रयोग गर्न सक्दा यसले सुन फलाउन सक्छ । सुनको खानी त छ तर त्यसको उत्खनन हुन नसकेका कारणले कान बुच्चै रहेजस्तै निरन्तर बगिरहने पानीबाट बिजुली निकाल्न नसक्दा देशको कान बुच्चोमात्र होइन, नेपालको अर्थतन्त्र गिर्दो अवस्थामा हिँडिरहेको छ जुन आजको वास्तविकता हो । प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै पनि नेपाल झन् झन् कङ्गाल देशमा रूपान्तरण भइरहेको छ । युवायुवति रोजगारविहीन हुन पुगेका छन् । जीविकोपार्जनका लागि युवायुवति विदेशिनुको विकल्प छैन । सदा बहिरहेको पानीको उचित व्यवस्थापन र उपयोग हुन नसक्दा यसबाट नेपालले फाइदा लिने कुरा त परै छाडौ बरु क्षति बेहोरिरहेको छ, बाढी, पहिरो र डुबान । परापूर्वकालदेखि हालसम्म कायम रहेको यो नै वास्तविकता हो । तर, यो प्रकृतिको भण्डार (नदी, नाला र खोला) क्षति मात्र गराउने वा दु:खीमात्र बनाउने प्राकृतिक सम्पत्ति होइन । यसबाट विद्युत् उत्पादन गरी देशलाई समृद्ध बनाउन सकिन्छ ।
आयोजनाहरूको निर्माणबाट प्राप्त हुने फाइदा र नहुँदा हुने हानिको विश्लेषण गर्न अवसर लागतको सहयोग लिनुपर्ने हुन्छ । अवसर लागत भनेको कुनै खास आयोजनाको प्रयोगको बदलामा हुने अर्को उत्कृष्ट वैकल्पिक प्रयोग हो ।
नदी, नाला र खोलामा निरन्तर बगिरहेको पानीबाट उत्पादन गरिने बिजुलीलाई जलविद्युत् भनिन्छ । सन् १९६० को दशकदेखि नेपालले जलविद्युत् विकासमा चासो देखाउन शुरू गरेको थियो । यसैको परिणाम स्वरूप बिजुली उत्पादन गर्न सकिने धेरै जलविद्युत् आयोजनाको पहिचान र छनोट पनि भइरहेको छ । यसमध्ये नगण्य वा औंलामा गन्न सकिने जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भइरहेको पनि छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन नहुँदासम्म नेपालको घरेलु बजारमा हुने बिजुलीको मागअनुसार आपूर्ति हुन सकेको थिएन । यो आयोजनाबाट बिजुली उत्पादन हुनासाथै नेपालसँग बिजुली बचत हुन लाग्यो र बिजुली निर्यातको शुरुआत पनि भइरहेको छ । यसप्रकारका नेपालमा धेरै जलविद्युत् आयोजना छन् जसले उचित विकासको पर्खाइमा छन् ।
अवसर लागत भन्नाले कुनै पनि एक जलविद्युत् आयोजनाको अर्को सर्वोकृष्ट वा उत्तम विकल्प हो । नेपालमा सञ्चालन हुने कुनै पनि जलविद्युत् आयोजनाको निर्माणमा ढिलाइ हुँदा अर्थव्यवस्थामा प्रतिकूल प्रभाव परिहाल्छ । आयोजनाहरूको निर्माणबाट प्राप्त हुने फाइदा र नहुँदा हुने हानिको विश्लेषण गर्न अवसर लागतको सहयोग लिनुपर्ने हुन्छ । अवसर लागत भनेको कुनै खास आयोजना मानौं यही माथिल्लो कर्णाली आयोजनाको हालको प्रयोगको बदलामा हुने अर्को उत्कृष्ट वैकल्पिक प्रयोग हो । यो आयोजना निर्माण हुँदा नेपाललाई हुने फइदा र नहुँदाको वास्तविक भिन्नता अवसर लागतको सहयोगले निकाल्न सकिन्छ । अवसर लागतको विश्लेषण गर्न देशका समग्र क्षेत्र जस्तै राजनीतिक, आर्थिक तथा सामाजिक सबैको अवस्थाबारेमा पनि स्पष्ट पार्नुपर्छ । नेपालको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक अनियमितता र भ्रष्टाचार, लगानीमा कमजोर क्षमता, न्यून आर्थिक विकास दर, निजी लगानीका लागि प्रतिकूल वातावरण, असुरक्षा, कछुवा गतिमा जलविद्युत् विकास दर, अनुपयुक्त जलविद्युत् विकास नीति र सामाजिक अस्तव्यस्तता आदिलाई यथावत् राख्दा माथिल्लो कर्णालीको वर्तमान उपयोगको अर्को उत्कृष्ट उपयोगबाट हुने अवसर लागत अब आउँदो ५ वर्षका लागि मात्र होइन, २५ वर्षसम्म पनि शून्य रहने देखिन्छ । यसले के देखाउँछ भने विद्यमान अवस्थामा सुधार नभए यो आयोजना कागजमा मात्र सीमित रहन्छ र विगतमा जस्तै आउने दिनमा पनि फलदायक प्रयोग हुन सत्तैmन । त्यसैले यस आयोजनाको विकासमा हाल भइरहेको प्रयासलाई सफल बनाएर फाइदा लिनु नै यसको उत्कृष्ट वैकल्पिक उपयोग हुने देखिन्छ ।’ मैले कुनै एक लेखमा लेखेको थिएँ ।
माथिको भनाइबाट के स्पष्ट हुन्छ भने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको त्यसताका जीएमआर नै सर्वोकृष्ट विकल्पको रूपमा उभिएको थियो । निर्माण अवधि, नेपालले पाउने बिजुलीको अंश र जीएमआरको स्वामित्वमा रहने समयावधि र नेपालको त्यस ताकाको लगानी गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गर्दा जीएमआरको बदलामा अर्को उत्तम विकल्प देखिएको थिएन । हुन त विभिन्न कोणबाट जीएमआरलाई यो आयोजना दिनु हुँदैन भन्ने आवाज नआएका होइनन् । ती आवाजलाई मैले पनि बेवास्ता गर्दै माथिका हरफहरू लेख्ने जमर्को गरेको थिएँ । तर, मेरो आफ्नै भनाइको खण्डन यस कारण भयो कि जीएमआरले यो आयोजनाको निर्माण गर्न गरेको हेलचेक्य्राइँका कारण तोकिएको समय अवधि गुजार्यो । जीएमआर आपैmले वचनबद्ध गरेको समयावधिमा यो आयोजना बनेन र निकट भविष्यमा बन्ने सम्भावना पनि देखिँदैन । यो आयोजना हत्याई राख्न बरु झन् अझ बढी समयावधि थप्न सफल भएको छ । सन्धिसम्झौता भएको दशकांै पछि पनि पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको डीपीआर बन्न सकेको छैन । यसबाट के स्पष्ट हुन्छ भने कुनै पनि अन्य जलविद्युत् आयोजनाहरू (पश्चिम सेती, माथिल्लो अरुण, तल्लो तामाकोशी आदि) को निर्माण इजाजत पत्र आफ्नोे कब्जामा राख्ने उद्देश्य मात्र रहेको नजीर जीएमआरलगायत अन्य भारतीय कम्पनीहरूको रहेको सहजै अनुमान जगाउन सकिन्छ ।
आजभोलि त्यस्तै अर्को माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माणको कुरा चलिरहेको छ । यो आयोजना पनि कुनै एक भारतीय कम्पनीले निर्माण गर्ने भन्ने चर्चा पनि चलेको कुरा सार्वजनिक भएको छ । यो आयोजनाको निर्माणका लागि अर्को उत्तम विकल्पको खोजी गर्नुपर्ने अवस्था माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको असफलताले पाठ सिकाएको छ । हुन त यसको निर्माण नेपालले आफ्नै पूँजी परिचालन गरेर गर्ने अठोट गरेको छ भन्ने कुरा पनि सार्वजनिक भएको छ । यो राम्रो र आशाजनक कुरा हो । तर, वास्तविकता के हो त्यसको छिनोफानो हुन सकेको छैन । कुरा हुन्छ काम हुँदैन । केही वर्षअगाडिको कुरा हो, तल्लो तामाकोशी जलविद्युत् आयोजनाको नर्वेले निर्माण गरेर उत्पादित बिजुली भरतीय बजारमा निर्यात गर्ने भन्ने चर्चा नचलेको होइन । त्यस्तै गरेर बूढीगण्डकीले लगानीकर्ता वा निर्माणकर्ता कुरेर बसिरहेको छ । तर, यी आयोजनाको चर्चा हुने गरेको पाइन्छ र यिनीहरूको खोज र अनुसन्धानमा सीमित स्रोतसाधन पनि खर्च भइरहेको छ । तर, यी आयोजनाको निर्माण हुन सकेको छैन । यसो हुनुमा मुख्य कारण अवसर लागतलाई आधार नबनाई मनचिन्ते ढंगले आयोजना छनोट भएकाले हो भन्ने अनुमान लगाउन सकिन्छ । त्यसैले कुनै पनि जलविद्युत् निर्माण गर्ने कम्पनी चाहे त्यो भारतीय होस् वा अन्यसँग निर्माण सम्झौता गर्दा अवसर लागतको लेखाजोखा गर्नुपर्ने हुन्छ ।
कुनै निजीक्षेत्रको घरेलु कम्पनी होस् वा विदेशी कम्पनी होस्, तिनलाई जलविद्य्त् आयोजनाको निर्माणका निमित्त सन्धिसम्झौता र इजाजत दिँदा उक्त जलविद्युत् आयोजनाको अर्को उत्तम विकल्पको खोजी गरेर मात्र गर्न आवश्यक हुन्छ । अर्को उत्तम विकल्पको खोजी नगरी जलविद्युत् आयोजनाको निर्माणका लागि इजाजतपत्र वितरण गर्नाले उक्त आयोजनाको निर्माण नहुँदा त्यसको वैकल्पिक प्रयोग गर्न सकिँदैन । यसका कारणले जुन कम्पनीलाई निर्माणको जिम्मा दिइएको हो उसले आयोजनाको सम्भावित विकल्पहरूमा रोक लगाउँछ र दशकौंसम्म उक्त आयोजना आफ्नोे पञ्जामा मुठ्याइरहन्छ । जस्तै अपर कर्णाली वा पश्चिम सेती । त्यसैले माथिल्लो अरुण जलविद्युत् आयोजना, जुन आजभोलि चर्चाको विषय बनिरहेको छ । भारतीय, चाइनिज, घरेलु वा अरू विदेशी कम्पनीहरूको लगानी सबैको लेखाजोखा गरी यसको निर्माण गर्न जरुरी हुन्छ । हचुवाको भरमा निर्माण इजाजत दिँदा यसको निर्माणका निमित्त भावी पुस्ताले पछुताउनुपर्ने हुन्छ ।
लेखक अर्थशास्त्री हुन् ।