एक क्रान्तिकारी अध्ययनमा वैज्ञानिकहरूले सौर्य हाइड्रोजन उत्पादनमा ४० प्रतिशत वृद्धि गर्न सकिने एक नवीन विधिको खोज गरेका छन्, जसले भविष्यको हरित ऊर्जा प्रविधिलाई थप दिगो र प्रभावकारी बनाउनेछ । यो प्रगति फोटोइलेक्ट्रोडमा इलेक्ट्रोलाइटको तापक्रम अनुकूलनसँग सम्बद्ध छ जसले सौर्य इन्धन प्रविधिलाई अझ सुलभ र आर्थिक रूपमा व्यवहार्य बनाउन सहयोग पुर्याउँछ ।
यस खोजको केन्द्रमा बिस्मथ–भेनेडेट (बीआईभीओ४) नामक सामग्रीको प्रयोग छ जुन सस्तो र स्थिर दुवै मानिन्छ । विश्वभरि ऊर्जा र वातावरणसम्बन्धी चुनौतीहरूबीच यस्ता नवप्रवर्तनहरूले दिगो र सफा भविष्यको आशा अझ नजिक ल्याइरहेका छन् ।
सौर्य इन्धन प्रविधिमा प्रगति
सौर्य हाइड्रोजन उत्पादनलाई स्वच्छ ऊर्जाको खोजमा एक प्रमुख समाधानको रूपमा हेरिएको छ । यो प्रविधिमा घामको किरण प्रयोग गरेर पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरिन्छ जसले नवीकरणीय र दिगो ऊर्जा स्रोत प्रदान गर्छ । अनुसन्धान टोलीले यो पनि उल्लेख गरेको छ कि सौर्य हाइड्रोजन उत्पादन प्रविधिलाई विद्यमान ऊर्जा प्रणालीसँग एकीकृत गर्न सकिएमा यसले समग्र ऊर्जा उत्पादन प्रणालीलाई अझ प्रभावकारी र कम खर्चिलो बनाउनेछ । यस सन्दर्भमा विशेष गरी बिस्मथ र भेनेडियमजस्ता धातु अक्साइडहरूको प्रयोग महत्त्वपूर्ण छ किनभने ती सस्तो र स्थिर हुन्छन् । यद्यपि ती सामग्रीहरू विभिन्न तापक्रममा कस्तो व्यवहार गर्छन् भन्ने कुराको गहिरो अध्ययन अहिलेसम्म गरिएको थिएन ।
ब्रुकहेवन नेशनल ल्याबोरेटरीको खोज
यो अध्ययन अमेरिकाको ब्रुकहेवन नेशनल ल्याबोरेटरीअन्तर्गत ऊर्जा मन्त्रालयको सेन्टर फर फन्क्सनल नानोम्याटेरियल्समा गरिएको हो । यसले बिस्मथ भेनेडेट सामग्रीमा तापक्रमको प्रभावबारे नयाँ जानकारी प्रदान गरेको छ । यो बुझाइ सौर्य इन्धन प्रविधिको दक्षता सुधार गर्न अत्यावश्यक मानिएको छ । अनुसन्धानको मुख्य निष्कर्षअनुसार तापीय ऊर्जाले बीआइभीओ४ सामग्रीमा चार्ज क्यारियरहरूको छुट्ट्याउने प्रक्रियालाई सहज बनाउँछ । यही प्रक्रिया सौर्य हाइड्रोजन उत्पादनको दक्षता बढाउने एक प्रमुख आधार हो ।
अनुसन्धानको एक चाखलाग्दो पक्ष भनेको उच्च तापक्रममा पीईसी प्रतिक्रिया भएपछि बीआइभीओ४ कणहरूको सतहमा स्थायी पुनःसंरचना देखिएको हो । खासगरी होल स्क्याभेन्जर (इलेक्ट्रोन एसेप्टर रसायन) को उपस्थितिमा यी प्रतिक्रिया हुँदा सतहमा नियमित रूपमा धर्का/रेखाहरू देखापरेका थिए । यसले पानी विभाजन प्रक्रियामा इलेक्ट्रोलाइट र धातु अक्साइड सतहबीचको अन्तरक्रियाबारे नयाँ बुझाइ प्रदान गर्छ, जुन आगामी प्रविधि विकासका लागि मूल्यवान् मानिन्छ ।
सौर्य हाइड्रोजन उत्पादनमा तीव्रता
अनुसन्धानकर्ताहरूले यस अध्ययनबाट प्राप्त ज्ञानले यस्तो सामग्री विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् जसले सौर्य हाइड्रोजन उत्पादनमा तीव्रता ल्याउनेछ । तापक्रमको प्रभाव, होल स्क्याभेन्जरको भूमिका, र सतहको पुनःसंरचनाजस्ता कुराको गहिरो बुझाइले प्रविधिको प्रयोगशालाबाट बजारसम्म यात्रा सहज बनाउनेछ ।
हरित ऊर्जा भविष्यको मार्गतर्फ
निष्कर्षस्वरूप यी नवप्रवर्तनले स्वच्छ र दिगो ऊर्जालाई वास्तविकतामा बदल्ने सम्भावना बोकेका छन् । सूर्यको ऊर्जा प्रयोग गरी हाइड्रोजन उत्पादन गर्न सक्नुको अर्थ हाम्रो जीवाश्म इन्धनमा निर्भरता घटाउने र जलवायु परिवर्तनको असर कम गर्ने सम्भावनालाई बलियो बनाउनु हो ।
यस्तोमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छः हामी कसरी यस्ता प्रविधिहरूलाई अझ नवप्रवर्तन गर्दै समाज र बजारमा एकीकृत गर्न सक्छौं, ताकि ऊर्जा भविष्य सबैका लागि दिगो र न्यायोचित बनोस् ?
(सस्टेनेबिलिटी टाइम्सबाट)