काठमाडौं । गत जनवरीमा पर्यटन आगमन कोरोना महामारीअघिकै अवस्था नजिक पुगेको छ ।
नेपाल पर्यटन बोर्डले विश्लेषण गरेको अध्यागमन विभागको तथ्याङ्कअनुसार गत महीना नेपालमा पर्यटक आगमन महामारीअघिको तुलनामा ९८ प्रतिशत पुगेको छ ।
कोरोना महामारी हुनुअघि सन् २०१९ जनवरीमा ८१ हजार २७३ विदेशी नेपाल आएकोमा गत महीना ७९ हजार ९९१ जनाले नेपाल भ्रमण गरेका छन् ।
गत महीना नेपाल आएका विदेशीको संख्या सन् २०२४ जनवरीको तुलनामा भने ८९१ मात्रै बढी हो । अघिल्लो वर्षको जनवरीमा भने ७९ हजार १०० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सन् २०२१ जनवरीमा भने पर्यटन आगमन ८ हजार ८७४ मा झरेको थियो । महामारीयताका जनवरीमा भएको पर्यटन आगमनमध्ये यो सबैभन्दा कम हो ।
भारतबाट सर्वाधिक
गत महीना भारतबाट सर्वाधिक पर्यटक नेपाल आएका छन् । सो अवधिमा भारतबाट २० हजार ४८५ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांकले देखाउँछ ।
यस्तै, चीनबाट ८ हजार १९१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ६३, बङ्गलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१ र दक्षिण कोरियाबाट ३ हजार ७५६ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
कोभिड–१९ महामारीका कारण नेपालको पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको थियो । महामारीका कारण लकडाउन गरिएपछि पर्यटन क्षेत्रलाई निकै मार परेको थियो । तर, पर्यटन आगमन बढ्न थालेसँगै यो क्षेत्रले विस्तारै लय लिन थालेको छ ।