काठमाडौं । एमएडब्ल्यू वृद्धि स्पीड चार्जर्सले जोमसोममा सीसीएस२ इलेक्ट्रिक भेहिकल (ईभी) चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ, जुन उच्च भूभागमा रहेका चार्जिङ स्टेशनको रूपमा समावेश भएको कम्पनीको भनाइ छ । यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्त्वपूर्ण भूमिका पुष्टि गरेको दाबी गरिएको छ ।
जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेशन केवल इन्जिनियरिङ उपलब्धिमात्र नभई नेपालमा ईभी विकासको शुरुआती कदम भएको कम्पनीको भनाइ छ । यस्तो उच्च स्थानसम्म सीसीएस२ चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्ने अपेक्षा गरिएको छ । कम्पनीले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बताइएको छ । यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्ने कम्पनीको भनाइ छ ।