काठमाडौं । धितोपत्र दोस्रो बजार दैनिक कीर्तिमान कायम गर्दै अघि बढिरहेको छ । धितोपत्र बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार र पूँजीकरण कायम गर्दै बजार अघि बढेको हो ।
सोमवार आइतवारको कीर्तिमानी कारोबार रकमलाई समेत ब्रेक गर्दै २७ अर्ब २४ करोड २० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । उक्त रकम बराबरको ६ करोड ४८ लाख ७६ हजारभन्दा बढी कित्ता धितोपत्र सोमवार कारोबार भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको हो ।
गत आइतवार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको ६ करोड २ लाख २१ हजारभन्दा बढी धितोपत्र कारोबार भएको थियो ।
परिसूचकका हिसाबमा ३ हजार २०० विन्दु पार गरेको समयमा २१ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको दिन उक्त रकम बराबरको कारोबार भएको थियो ।
पछिल्लो समय नेप्से परिसूचक यसअघिको ऐतिहासिक विन्दुभन्दा तलनै रहेको अवस्थामा कारोबार रकम भने रेकर्ड ब्रेक गर्दै अघि बढेको हो ।
पछिल्लो समय धितोपत्र दोस्रो बजारमा संस्थागत लगानीकर्ता बढ्न थालेसँगै कारोबार रकम बढेको ब्रोकरहरू बताउँछन् ।
एक ब्रोकरका अनुसार कतिपय व्यक्तिगत लगानीकर्ता पनि संस्था दर्ता गरेर संस्थागत लगानीकर्ताको रूपमा कारोबार गर्न थालेका छन् । संस्थागत लगानीकर्तामा शेयर धितोकर्जाको सीमा खारेज भएसँगै संस्थागत लगानीकर्ता बन्न व्यक्तिगत लगानीकर्तासमेत सक्रिय रहेको जानकारी ब्रोकरहरूले दिएका छन् ।
सोमवारको शेयर कारोबारको सर्वाधिक हिस्सा हिमालयन रिइन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको १ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको १२ लाख ३७ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य १ हजार रुपैयाँ १० पैसा कायम भएको छ ।
यो दिन २० कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । नेप्सेका अनुसार ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले, तीन कम्पनीको ९ दशमलव ९९ प्रतिशतले र अन्य कम्पनीको ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढेको हो ।
पछिल्लो समय जलविद्युत् समूहअन्तर्गतको सर्वाधिक शेयर मूल्य भएको र मूल्यमा समेत सर्वाधिक वृद्धि हुँदै आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य भने सोमवार १० प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँले घटेर प्रतिकित्ता २ हजार २०८ रुपैयाँ १० पैसा कायम भएको छ ।
सोमवार लगानी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक घटेका छन् भने बाँकी समूहको परिसूचक बढेको छ । यस दिन लगानी समूहको शून्य दशमलव १९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १९ प्रतिशत परिसूचक घटेको छ । त्यस्तै, जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५ दशमलव ८५ प्रतिशत, वित्तको ४ दशमलव ८१ प्रतिशत, व्यापारिकको ४ दशमलव १३ प्रतिशत, जलविद्युतको ३ दशमलव ४३ प्रतिशत, विकास बैंकको ३ दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ९७ प्रतिशत, बैंकिङको २ दशमलव ९५ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ८७ प्रतिशत, लघुवित्तको १ दशमलव शून्य ८ प्रतिशत, अन्यको १ दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत परिसूचक बढेको छ ।
कुल बजार पूँजीकरणले सोमवार पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । २०७८ भदौ २ गते नेपालको धितोपत्र दोस्रो बजारले ऐतिहासिक विन्दु कायम गरेको दिन ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बजार पूँजीकरण कायम भएको थियो ।
उक्त रेकर्डलाई पहिलो पटक ब्रेक गर्दै गत आइतवार ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख रुपैयाँ कायम भएको बजार पूँजीकरणलाई सोमवारको बजारले पुनः ब्रेक गरेको हो । सोमवार हालसम्मकै उच्च कुल बजार पूँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।