वित्तीय अपराधको प्रमुख स्वरूपको रूपमा रहेको द्रव्य–शोधन (मनि लन्डरिङ) को नियन्त्रणमा अहिलेसम्म विश्वव्यापी रूपमा अनेक प्रयास केन्द्रित भइरहेको सन्दर्भमा अहिले प्रविधिको विकास सँगसँगै नयाँ नयाँ प्रकारका अपराधहरू पनि थपिन थालेका छन् । त्यस्तै नयाँ प्रकारको वित्तीय अपराधका रूपमा ‘कारोबार–शोधन’ (ट्रान्ज्याक्सन लन्डरिङ) प्रमुख रूपमा रहेको छ ।
एक तथ्यांकअनुसार अहिले अमेरिकामा मात्र वर्षेनि ३ खर्ब डलर बराबरको कारोबार–शोधन हुने गरेको छ । थम्पसन रोयटर्सका अनुसार अनलाइनमार्फत हुने अवैध औषधिजन्य वस्तुको कारोबार, नक्कली वस्तुको कारोबार एवं यौनजन्य सामग्रीहरूको कारोबारमध्ये ५० देखि ७० प्रतिशत रकम कुनै न कुनै रूपमा ‘कारोबार–शोधन’ सँग सम्बद्ध रहेको पाइन्छ ।
विशेष गरी अनलाइन र विद्युतीय रूपमा हुने कारोबारको मात्रा बढ्दै जाँदा कारोबार–शोधनको जोखिम पनि दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । विकसित देशहरूमा यस प्रकारको वित्तीय अपराधका बारेमा प्रशस्त चर्चा शुरू भइसकेको भए तापनि नेपालमा भने यस सम्बन्धमा अहिलेसम्म खासै जानकारी रहेको पाइँदैन । यो सानो आलेखमा कारोबार–शोधनका विविध पक्षबारे चर्चा गर्दै तिनलाई कसरी पहिचान तथा नियन्त्रण गर्ने भन्ने बारेमा संक्षेपमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
के हो कारोबार–शोधन ?
विश्व प्रसिद्ध क्रेडिट कार्ड कम्पनी मास्टर कार्डले कारोबार–शोधनलाई स्पष्टसँग परिभाषित गरेको छ । उसका अनुसार कार्डको माध्यमबाट गरिने भुक्तानीको सन्दर्भमा एउटा मर्चेन्टले अनधिकृत रूपमा अर्को मर्चेन्टका तर्फबाट गर्ने भुक्तानी प्रोसेस कार्यलाई कारोबार–शोधन भन्न सकिन्छ । कारोबार–शोधन प्रक्रियामा अर्काको तर्फबाट अनधिकृत रूपमा भुक्तानी प्रक्रिया अगाडि बढाउने मर्चेन्टले विभिन्न कार्डमार्फत हुने कारोबारहरूको अनधिकृत संकलन (अनअथराइज्ड एग्रिगेसन) गरेको हुन्छ । विशेष गरी यस्ता मर्चेन्टका रूपमा इ–कमर्श सञ्चालकहरू रहने गर्छन् ।
कारोबार–शोधन प्रक्रियामा अवैध कारोबार गर्ने मर्चेन्टका तर्फबाट वैध रूपमा कारोबार गर्ने मर्चेन्टको प्लेटफर्म प्रयोग गरी भुक्तानी प्रक्रिया अगाडि बढाएर अवैध कारोबारको आम्दानीलाई वैध बनाउने प्रयास गरिन्छ र यस्तो कारोबार अनलाइन खरीद विक्री गर्ने इ–कमर्श साइटहरूमार्फत हुने गर्छ ।
यसरी कारोबार–शोधन गर्नेहरूले सामान्यतया दुई प्रकारका वेबसाइट प्रयोग गर्ने गर्छन् । एउटा वेबसाइट वेब स्टोरका रूपमा प्रयुक्त हुन्छ भने अर्को वेबसाइट भुक्तानी प्रोसेस गर्नका लागि कारोबार–शोधन गर्नेहरूले वेब स्टोरमार्फत लागू पदार्थ, हातहतियार, नक्कली सामान तथा पहिचान पत्र जस्ता अवैध सामान विक्री गर्ने गर्छन् । तर, यसरी विक्री गरिएको सामानको भुक्तानी प्रोसेस भने विक्रेताको मर्चेन्ट खाताबाट गर्दैनन् । यसो गरेमा अवैध सामग्रीको विक्रीबापत प्राप्त आम्दानीको अवैध स्रोतका बारेमा नियामक एवं कानून कार्यान्वयन गर्ने निकायले सजिलै थाहा पाउने भएकाले त्यसलाई लुकाउन यस्तो सामानको भुक्तानी प्रोसेस अर्को वैध किसिमको व्यवसाय गर्ने मर्चेन्ट खातामार्फत गरेर अवैध कारोबारलाई लुकाउने गरिन्छ ।
यसरी वैध रूपमा भुक्तानी प्रोसेस गर्ने दोस्रो मर्चेन्टले भने आफ्नो वैध कारोबारझैं भुक्तानी प्रोसेस गरे पनि जुन कारोबार देखाएर भुक्तानी प्रोसेस गरेको हुन्छ, वास्तवमा त्यस्तो कारोबार भएकै हुँदैन । केवल साइबर स्पेसमा मात्र कारोबार भएको हुन्छ । उता यस्तो मर्चेन्टको व्यावसायिक बैंक भने उसले अवैध व्यवसायका लागि भुक्तानी प्रोसेस गरेको बारेमा अनविज्ञ नै रहन्छ र उक्त मर्चेन्टको कारोबारलाई स्वीकार गर्छ किनभने त्यस्ता मर्चेन्टले अवैध हातहतियार वा लागू पदार्थको विक्रीबापत भुक्तानी लिएको कुरा अभिलेख नगरी वैध वस्तु विक्री गरेबापतको भुक्तानी प्रोसेस गरेको जानकारी मात्र बैंकले प्राप्त गर्छ ।
यसरी बैंकहरूलाई झुक्याएर अवैध कारोबार गर्नेहरूले वैध मर्चेन्टको माध्यमबाट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने अपराधलाई अहिले कारोबार–शोधन भनिन थालेको छ र यस्ता कारोबारको पहिचान तथा नियन्त्रण गर्नु बैंक तथा वित्तीय संस्थाहरूको लागि कम चुनौतीपूर्ण छैन् ।
परम्परागत तरीकाअनुसार सबैभन्दा प्रचलित तरीकाका रूपमा नक्कली सामानको विक्री गरेर कारोबार–शोधन गर्ने गरिन्छ । यो तरीकाबाट विश्वव्यापारको २ दशमलव ५ प्रतिशत (करीब ४ खर्ब ६१ अर्ब डलरबराबर)को कारोबार–शोधन हुने भनी रोयटर्सले सार्वजनिक गरेको विवरणले यसको लोकप्रियता स्पष्ट हुन्छ ।
यस अर्थमा कारोबार–शोधनमा वैधानिक रूपमा कारोबार गर्न अनुमति प्राप्त गरेको मर्चेन्टको भुक्तानी प्रणाली (गेटवे) को अवैध दुरुपयोग गरेर उसलाई समेत शिकार बनाइएको पनि हुन हुन्छ ।
वेबसाइट एवं मोबाइलमार्फत हुने विद्युतीय कारोबारमा मात्र यस प्रकारको कारोबार–शोधन हुने भएकाले यसलाई ‘विद्युतीय द्रव्य–शोधन’ पनि भन्न सकिन्छ । विशेष गरी क्रेडिट कार्डका माध्यमबाट यस प्रकारको शोधन हुने भएकाले कसै कसैले यसलाई ‘क्रेडिट कार्ड शोधन’ पनि भन्ने गरेका छन् ।
अनलाइन वा अन्य इ–कमर्श साइटबाट गरिने कारोबारलाई विशेष गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ । अनुपालित एकत्रीकरण (कम्प्लायन्ट एग्रिगेशन), अननुपालित एकत्रीकरण (इनकम्प्लायन्ट एग्रिगेशन) तथा अवैध एकत्रीकरण (इल्लेगत एग्रिगेशन) । अनुपालित एकत्रीकरणअन्तर्गत विक्री गरिएका सामानहरूको भुक्तानीलाई एकै ठाउँमा एकत्रीकरण गरी कुनै एउटा प्लेटफर्मबाट वैधानिक ढंगले प्रोसेस गरिएको हुन्छ र यस प्रक्रियामा शोधन नभएको पनि हुन सक्छ ।
अनुपालना नगरिएको (अननुपालित) एकत्रीकरणअन्तर्गत विक्री गरिएका सामानको भुक्तानी प्रोसेस सबै कुरा अनुपालन गर्ने वैधानिक तर अज्ञात वेबसाइटमार्फत गरिन्छ र यस प्रकारको भुक्तानी प्रोसेस गरेको कुरा कार्डको एक्वैररलाई जानकारी गराइएको हुँदैन । यस प्रकारको भुक्तानी प्रोसेसमा कारोबार–शोधन हुने सम्भावना रहन्छ ।
अर्को प्रकारको कारोबारचाहिँ अवैध एकत्रीकरणमार्फत हुने गर्छ । यसमा चाहिँ ठगी गर्ने मर्चेन्टले विभिन्न वेबसाइटमार्फत हुने अवैध वस्तुको विक्रीबापतको भुक्तानी एकत्रीकरण गरी त्यसलाई प्रोसेस गर्ने गर्छ र यसमा चाहिँ निश्चित रूपमा नै कारोबार शुद्धीकरण भएको हुन्छ ।
कसरी गरिन्छ कारोबार–शोधन ?
कारोबार–शोधनका बारेमा कुरा गर्दा यस्ता वित्तीय अपराधीहरूले प्रमुख रूपमा परम्परागत र आधुनिक गरी दुई प्रकारका उपायहरू अवलम्बन गर्ने बताइन्छ । परम्परागत तरीकाअनुसार सबैभन्दा प्रचलित तरीकाका रूपमा नक्कली सामानको विक्री गरेर कारोबार–शोधन गर्ने गरिन्छ । यो तरीकाबाट विश्वव्यापारको २ दशमलव ५ प्रतिशत (करिब ४ खर्ब ६१ अर्ब डलरबराबर) को कारोबार–शोधन हुने भनी रोयटर्सले सार्वजनिक गरेको विवरणले यसको लोकप्रियता स्पष्ट हुन्छ ।
आधुनिक प्रक्रियाअन्तर्गत भने शेल कम्पनी खोल्नेदेखि लिएर कृत्रिम प्रज्ञा (एआई) समेतको दुरुपयोग गरी पहिचानको चोरी तथा ठगीसमेत गरी त्यसैको आधारमा बैंक खातामार्फत अवैध व्यवसायको भुक्तानी प्रोसेस गरेर पनि कारोबार–शोधन हुने गरेको छ । हालैका दिनहरूमा नाम मात्रका शेल कम्पनीहरूलाई दुरुपयोग गरेर कारोबार–शोधन हुने प्रवृत्ति बढ्दै गएको अमेरिकाको फेडेरल ट्रेड कमिसनले केही महीना अघि सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
कारोबार–शोधन विशेष गरी तीनओटा स्वरूपमा गरिन्छ : फ्रन्ट कम्पनीका रूपमा, पास थ्रु कम्पनीको रूपमा तथा फनेल एकाउन्टको रूपमा । फ्रन्ट कम्पनीका रूपमा कारोबार–शोधन गर्नेहरूले देखाउनका लागि बाहिरबाट झट्ट हेर्दा वैध देखिने व्यवसायलाई आवरण बनाएर भित्रभित्रै भने अवैध व्यवसाय सञ्चालन गरिरहेका हुन्छन् । पास थ्रु कम्पनीहरूले भने अन्य अवैध व्यवसाय गर्नेहरूको अवैध आर्जनलाई प्रोसेस गर्नका लागि आफ्नो वैध खाता उपलब्ध गराएका हुन्छन् । फनेल एकाउन्टमा पनि पास थ्रु कम्पनीझैं नै अवैध कारोबार प्रोसेस गर्नका लागि वैध कम्पनीले आफ्नो खाता तथा मर्चेन्ट उपलब्ध गराएको हुन्छ । फनेल एकाउन्ट सञ्चालन गर्ने कम्पनीहरूले क्रेडिट कार्ड स्वीकार गर्ने तर मर्चेन्ट नभएका अन्य धेरै कम्पनीका तर्फबाट भुक्तानी प्रोसेस गर्न आफ्नो खातालाई प्रयोग गर्न दिएको हुन्छ ।
पहिचानमा चुनौती
कारोबार–शोधन पहिचान गर्नका लागि मर्चेन्टको वेबसाइटको नजिकबाट निगरानी गर्ने, वेबसाइटमा उपलब्ध जानकारी एवं सामानको आधारमा उसको कारोबार हुने रकमको तुलनात्मक विश्लेषण गर्ने, वेबसाइटको उमेर र कारोबारबीच तुलनात्मक अध्ययन गर्ने, वेबसाइटमा विक्रीका लागि उपलब्ध सामानको औसत मूल्यका आधारमा कम्पनीको कारोबारको तुलनात्मक अध्ययन गर्नेजस्ता उपाय अवलम्बन गरी केही हदसम्म कारोबार–शोधनको पहिचान गर्न सकिन्छ ।
तर, शेल कम्पनी, नक्कली बीजक, नक्कली पहिचानजस्ता माध्यमबाट जटिल प्रकारले कारोबार हुने भएकाले यसरी माथि उल्लेख गरेअनुसारका उपायहरूद्वारा मात्र कारोबार–शोधनको पहिचान गर्न त्यति सजिलो छैन । त्यसका अतिरिक्त वित्तीय अपराधीहरूले अपनाउने अत्याधुनिक प्रविधि, कृत्रिम प्रज्ञा एवं विभिन्न स्वरूपमा हुने कारोबारको तहीकरणले यसलाई थप दुरुह बनाउने गर्छ ।
द्रव्य–शोधन र कारोबार–शोधनमा भिन्नता
द्रव्य–शोधन र कारोबार–शोधनका बीचमा केही तात्त्िवक भिन्नाता रहेको छ । द्रव्य–शोधनमा अवैध स्रोतबाट आर्जित रकमलाई तीन चरणमा शोधन गर्ने गरिन्छ भने कारोबार–शोधन अवैध कारोबारको भुक्तानीलाई वैध बनाइने भुक्तानी प्रक्रियाको स्रोतसँग सम्बद्ध हुन्छ ।
कतिपय कारोबार–शोधन प्रक्रियामा वैधानिक कारोबार गर्ने ग्राहकको भुक्तानी मात्र अवैध मर्चेन्टमार्फत प्रोसेस हुने सम्भावना रहन्छ । यसबाट कारोबारमा संलग्न हुने ग्राहक कारोबार–शोधनको सम्पूर्ण प्रक्रिया प्रति अनविज्ञ हुन्छ र भुक्तानी प्रोसेस गर्ने मर्चेन्ट मात्र यसमा संलग्न हुन्छ । यसरी सम्पत्ति शुद्धीकरणमा जस्तो कारोबार गर्ने ग्राहकको प्रत्यक्ष संलग्नता नभएर कारोबार–शोधनमा मर्चेन्टको मात्र संलग्नता हुने हुन्छ । द्रव्य–शोधन भौतिक रूपमा नगदको कारोबारमार्फत समेत हुन सक्छ भने कारोबार–शोधनका लागि अनलाइन प्लेटफर्मको मात्र प्रयोग हुन्छ ।
द्रव्य–शोधन प्रक्रियाको पहिचानको लागि अहिले धेरै प्रकारका प्रबन्धको विकास भई विश्वव्यापी रूपमा त्यसको प्रभावकारी प्रयोगसमेत भइरहेको छ भने कारोबार–शोधन प्रक्रिया प्रविधिको विकास सँगसँगै हालै मात्र विकसित हुँदै गएको र जटिल प्रकृतिको समेत भएकाले द्रव्य–शोधनको पहिचानको तुलनामा कारोबार–शोधनको पहिचान अलिक बढी चुनौतीपूर्ण देखिन्छ ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधि प्राप्त बैंकर हुन् ।