आफ्नो कार्यकाल इतिहासमा स्वर्णाक्षरले लेखियोस्, युग युगान्तरसम्म आफ्नो कीर्ति र यश फैलियोस् भन्ने कुनचाहिँ प्रधानमन्त्रीले चाहँदैन होला । आफू असफल भइयोस् भन्ने कामना त मूर्खले पनि गर्दैन भने राजनीति जस्तो उच्चकोटीको नीतिका सञ्चालनकर्ताका अन्तर्मनमा आफ्नो कार्यकाल उल्लेखनीय होस् भन्ने चाहना त झन् नहुने कुरै भएन ।
मंगोलका राजा कुब्लाँ खाँले बेइजिङ कब्जा गरिसकेपछि आफूसँगै आएका मंगोल भारदारहरूको सहयोगमा राज्य सञ्चालन गर्न थाले । उनका मनमा पूर्ववर्ती चिनिँया सम्राट्का भन्दा अझ राम्रोसँग शासन सञ्चालन गरी आफ्नो कीर्ति राख्ने रहेछ । परन्तु उनले भनेअनुसार शासन चलिरहेको थिएन । त्यसैले उनले पूर्ववर्ती शोङ वंशका एक जना अपदस्थ मन्त्रीलाई बोलाएर सोधेछन् कि शासन कसरी चलिरहेको छ । जवाफमा ती मन्त्रीले भनेछन्, ख्वामित्, साम्राज्य जित्न घोडामा नै चढ्नुपर्छ परन्तु शासन चलाउनचाहिँ घोडाबाट उत्रनुपर्छ । यो मन्त्र कुब्लाँ खाँको मनमा यति गड्यो कि उनले आफ्नो शासनमा ठूलो पुन:संरचना गरे । गुणतन्त्रलाई लागू गरे र मेधावीहरूलाई विभागीय नेतृत्व प्रदान गर्दै गए ।
आफू विजेता भन्ने भावनालाई विस्मृतिमा राख्दै हान जातिका योग्य इमान्दारहरूलाई महत्त्वपूर्ण स्थान प्रदान गरे । यही गुणतन्त्र स्थापनाका सिलसिलामा उनले नेपालबाट गएका अरनिकोलाई स्थापत्य (वास्तु) विभागको मन्त्रीमा विराजमान गराए । नेपालमा पनि गुणतन्त्रलाई अंगीकार गरेका कारण जुम्लादेखि कास्कीसम्मका योद्धाहरू र लखनउदेखिका कारिगढहरू पृथ्वीनारायणको सेनामा समाहित हुन आएका हुन् । राजा महेन्द्रको शासनमा यही गुणतन्त्रका कारण यूरोप अमेरिकातिर पढेलेखेका थुप्रै युवा स्वदेश फर्र्किएका थिए भने नेपाली मूलका विदेशी विद्वान््, कलाकार र लेखकहरूका लागि नेपाल पवित्र धाम जस्तै रहेको थियो । त्यत्ति मात्रै होइन, यूरोप अमेरिकातिर तमाम पश्चिमी विद्वान््हरू पनि नेपाललाई कार्यक्षेत्र बनाएर आफ्नो ज्ञान र शीपले यो भूमिलाई सिञ्चित गरिरहेका थिए ।
गोरुभन्दा अगाडि गाडा राखेर गाडा किन कुँदेन भन्दै गुड्ने बाटो, गाडाका पार्टपुर्जा, गोरु, गाडा हाँक्ने व्यक्तिको कार्यसम्पादनको मूल्यांकन भइरहेको छ मुलुकभर ।
परन्तु वर्तमान नेपालमा अवस्था भयावह रहेको छ । सत्य के हो भन्ने विषयको निक्र्योल गर्ने पूर्वीय र पाश्चात्य दुवैमतलाई नेपालमा निषेध गरिएको छ । पूर्वीय समाजमा पद्धतिमा आधारित मान्यताका आधारमा सत्य निरूपण गर्ने अभ्यास थियो । षड्दर्शनहरू (वैशेषिक, सांख्य, योग, न्याय, वेदान्त, मीमांसा) यसै वैज्ञानिक पद्धतिका उपजका रूपमा रहेका थिए । प्रत्यक्ष र अनुमानको परिवृत्तमा यी दर्शनहरू केन्द्रित रहेका छन् । समाजलाई दिग्भ्रमबाट मुक्त गराउने यी षड्दर्शनहरूलाई यति धेरै ओझेलमा पारिएको छ कि दिग्भ्रमलाई नै सत्य हो भन्ने मतले समाज ग्रस्त भएको छ ।
दार्शनिक सुकरातले आफ्नो जीवनमा केवल प्रश्नहरूमात्र गरे । प्रश्नको गहिराइमा पुग्न युवालाई अभिप्रेरित गर्न उनीकहाँ जिज्ञासा लिएर आउने हरेक युवकलाई उनले उल्टो प्रश्न सोधेर उत्तर खोजेर ल्याउन भन्थे । जब युवा प्रश्नको उत्तर खोजेर सुकरात कहाँ आउँथ्यो, त्यो उत्तर माथि पनि थप प्रश्नहरू सोधेर पठाउँथे । सुकरात र उनका शिष्यहरूको बीच हुने संवादमा सर्वप्रथम शिष्य वा शास्त्रार्थका सहभागीले आफूले नै दिएको पहिलो तर्कलाई सुकरातको दोस्रो प्रश्नको उत्तर दिने क्रममा खण्डन गरिरहेका हुन्थे । यही वादविवाद र तर्कका माझ उत्तर खोज्ने क्रममा ग्रीसमा धेरै उत्तरहरू भेटिए जो आजको विश्वमा समाजका दिग्दर्शनका रूपमा स्थापित भएका छन् ।
शास्त्रार्थको यो पश्चिमी पद्धतिलाई पनि नेपाली समाजमा यति धेरै ओझेलमा पारिएको छ कि नेपालका वुद्धिजीवीहरूले हरेक प्रश्नमा आफ्ना पूर्ववर्ती मान्यतालाई काट्ने गरी उत्तर दिइरहेका हुन्छन् । एक क्षण अगाडि एउटा निचोडमा पुगिरहेका हुन्छन् र त्यो निचोड उपर पुन: प्रश्न गर्ने हो त्यो निचोडको ठीक विपरीतका निचोडहरू प्रस्तुत गरिरहेका हुन्छन् । आफैले आफैलाई आश्वस्त पार्न नसक्ने परस्पर विपरीत चरित्रका तर्कहरू अघि सारेर यी बुद्धिजीवीहरू समाज र सरकार दुवैतिर दिग्भ्रमको खेती गरिरहेका छन् ।
यो प्रसंग यहाँ किन उल्लेख गरिएको हो भने नेपाल सरकारले समग्रमा, मन्त्रालय, विभाग, निकाय र संस्थानहरूले उच्चकोटी कार्यसम्पादन गर्ने विषय सबैको प्राथमिकतामा राखेको पाइन्छ । परन्तु विडम्बनाको विषय कार्य के हो भन्ने विषयवस्तु स्पष्ट छैन परन्तु सबैतिर कार्यसम्पादन उत्कृष्ट हुनुपर्यो भन्ने आग्रह मात्रै सुनिन्छ । कार्यको अनुपस्थितिमा कार्यसम्पादनको अपेक्षाको अनौठो परिदृश्य देखापरेको छ । माटोको अनुपस्थितिमा माटोको घैंटो बनाउन सकिँदैन । घैंटो बनाउने कार्यको अनुपस्थितिमा घैंटो बन्यो कि बनेन, कस्तो बन्यो, के कमी कमजोरी रहे, घैंटो राम्रो बनाउन अझ के गर्नुपर्छ भन्ने विषयमा चर्चा कुनै के आवश्यक हुन्छ र ? परन्तु न माटो उपलब्ध छ न घैंटो बनाउने कार्यादेश छ, न घैंटो बनाउने कुनै तयारी छ, परन्तु सिंगो मुलुक घैंटो कस्तो बन्यो भन्दै कार्यसम्पादनको लेखाजोखा गर्न मग्न रहेको छ । गोरुभन्दा अगाडि गाडा राखेर गाडा किन कुँदेन भन्दै गुड्ने बाटो, गाडाका पार्टपुर्जा, गोरु, गाडा हाँक्ने व्यक्तिको कार्यसम्पादनको मूल्यांकन भइरहेको छ मुलुकभर ।
यस्तो प्रवृत्ति किन पुनरावृत्ति भइरहेको छ भन्ने विषयको पनि वस्तुनिष्ठ विवेचना हुन जरुरी छ । यसका लागि ज्ञानका पत्रहरू (तहहरू)का बारेमा केही विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलो तहको ज्ञान जो आम प्रकृतिको हुन्छ जो सबैजसोलाई थाहा हुन्छ । उदाहरणका लागि देशमा रोजगारी सृजना गर्न उद्योग खोल्नुपर्छ, उद्योग खोल्न लगानीको वातावरण तयार गर्नुपर्छ, लगानीको वातावरण तयार गर्न त्यसअनुकूलका नियम, कानून र संरचनाहरूको आवश्यकता पर्छ भन्ने जस्ता विषय आम प्रकृतिका ज्ञानहरू हुन् जसलाई सतही ज्ञान भन्छन् ।
परन्तु यसभन्दा मुनि ज्ञानका धेरै पत्रहरू छन् जसका ज्ञानविना यस क्षेत्रमा केही उपलब्धि प्राप्त हुन सक्दैन । ज्ञानका पत्रहरू भित्र छिर्दै जाँदा अन्तिममा जुन तत्त्वज्ञान हुन्छ, त्यही ज्ञानले मात्र कार्य के हो भन्ने विषयको निर्धारण गर्छ । कार्यको चरित्रले जनशक्तिको माग गर्छ, अनि कार्यसम्पादन हुन्छ, त्यसपछि कार्यसम्पादन मूल्यांकनको विषयले प्रवेश पाउँछ । अहिले नेपालको राज्यसंयन्त्रको सम्पर्कमा सतहभन्दा एक पत्रमुनि रहेको ज्ञान भएको जनशक्ति या सम्पर्कमा छ्रैन या सम्पर्कमा हुन चाहिरहेको छैन । नेपालको शिक्षा, सामाजिक मनोविज्ञान, समाजको उपल्लो खुड्किलोमा रहने उदाहरणीय व्यक्तित्वहरूमा रहेको ज्ञानको स्तर, मिथ्या प्रचारको महामारी र आदर्शको अवसानसँगै नेपालभित्र अपवादबाहेक ज्ञानको एक सहतमुनिको ज्ञान भएको जनशक्ति नेपाली समाजमा पाउन सकिँदैन भन्ने एउटा मत पनि बलियो रूपमा स्थापित हुँदै गएको छ ।
सतहको प्रश्नमा सतहमुनिको उत्तर खोज्ने क्रममा आएको प्रतिप्रश्नकोे उत्तर दिने क्षमता न त नेपाली प्राज्ञिक वर्गमा रहेको छ न कर्मचारीतन्त्रमा न त राजनीतिक तहमा नै छ । राजा महेन्द्रका सन्दर्भमा उनले कोसँग सल्लाह लिन्थे भन्ने विषयमा एउटा रहस्य रहेको छ । जानकारका अुनसार उनले सैनिक मामिलामा मात्र एक जना नेपाली (केशर शमशेर जबरा) सँग सल्लाह गर्ने गर्थे । शेष विषयमा नीतिगत निर्णय लिन उनले आफैले तलब दिएर विदेशी विद्वान््हरूबाट राय सल्लाह लिने गर्थे । शासकीय स्वरूपमा नयाँनयाँ प्रयोग हुँदै जाँदा र नवीनतम शासकीय स्वरूपमा मुलुक जाँदा पनि अझै राजा महेन्द्रले स्थापना गरेका संरचनाहरूभन्दा एक इन्च नेपाल दायाँबायाँ जान सकिरहेको छैन । बिपी कोइरालाले पनि आर्थिक, सामाजिक एवम् विकास मोडल लगायतका विषयमा सल्लाह लिन विदेशमा नाम कमाएका विश्वविद्यालयका विद्वत् वर्गको एउटा वृत्त नै तयार गरेका थिए ।
निर्यात प्रवर्द्धनको कार्यको पहिचान नभई यस क्षेत्रमा हुने सबै प्रकारका सक्रियता र साधनस्रोतको खर्च केवल बालुवामा पानी जस्तो भइरहेको छ । कार्यभार ग्रहण गर्दाका आशा र उत्साहहरू यसैकारण समयक्रमसँगै सुस्त हुँदै जान्छन् ।
यस्तो हुनुमा दुईओटा कारणहरू विद्यमान छन् । पहिलो, नेपालको सामाजिक मनोविज्ञानमा सत्तासँग तर्क गर्नु हुँदैन भन्ने विषय जरो गाडेर बसेको छ । त्यो वर्गले पदासीनको चाहना के रहेछ भन्ने विषयमा आफ्नो अनुसन्धान केन्द्रित गरिरहेको हुन्छ, पदासीनको अन्तरमनको चाहना बुझेपछि त्यस चाहनालाई थप कट्टर विचारले महिमामण्डन गर्दै त्यसैलाई पुष्टि गर्न तर्क कुतर्कहरू सार्दै क्रियाशील हुन्छ । जस्तै शासनको भित्री इच्छा एकांकी शासन सञ्चालन गर्ने रहेछ भन्ने थाहा पाएपछि यस्ता विद्वान््हरूले उदार हुँदा कहाँ कहाँका शासकहरू समाप्त भए र कट्टर हुँदा कहाँकहाँका शासकहरू सफल भए भनेर लामालामा ग्रन्थहरू नै तयार गरी शासकलाई थप कट्टर बन्न उत्प्रेरित गर्छन् । देश, काल, परिस्थिति यो छ भनेर सही कुरा गर्ने विद्वान्हरू भेटिँदैनन् । ‘सत्यं ब्रुयात्, प्रियं ब्रुयात्, नबु्रयात् सत्यमप्रियम्’ अर्थात् प्रिय बोल, अप्रिय भए सत्य पनि नबोल भन्ने मान्यता नेपाली समाजको चरित्रगत विशेषता रहेको छ । यसका पछाडि शासकहरूको मनोविज्ञान पनि कारकतत्त्वका रूपमा रहेको छ । अप्रिय सत्य प्रकट गर्ने पद्धति र पिरामिडको विकास गर्न नसक्दा यस्तो अवस्था सृजना भएको हो । अप्रिय सत्यहरूलाई विश्वविद्यालय र अनुसन्धान संस्थाहरू हुँदै मर्यादित र समाधानको उपायसहित राज्यका अंगहरूमा सम्प्रेषित हुने पद्धति विकास हुन सकिएको छैन । परिणामस्वरूप, अप्रिय सत्यहरू राज्य संयन्त्रमा विरोधी आवाजका रूपमा मात्र पुग्छन् । यस्ता अप्रिय सत्यहरूमा अनगिन्ती असत्यहरूको सम्मिश्रण हुँदा कथित क्रान्तिहरूमार्फत अस्थिरता र अराजकतासमेत सृजना हुने गरेको छ ।
यसरी असत्यलाई प्रिय मान्ने र बनाउने, सत्यलाई अप्रिय मान्ने र बनाउने यी दुईथरी धु्रवमा भएको अन्तरसंघर्षमा नेपालमा भने दोस्रो पक्ष विजयी हुँदै आएको छ । यो दोस्रो पक्षको विजयसँगसँगै देश, जनता र राजनेताहरू दुवै हारेका छन् । न राजनेताहरू लोकप्रिय हुन पाइरहेका छन् न जनताले सुख पाइरहेका छन् ।
यसको ज्वलन्त उदाहरण नेपालको वैदेशिक व्यापारलाई लिन सकिन्छ । २००७ सालमा प्रजातन्त्र स्थापना भए यता कुनै पनि कालखण्डमा नेपालको वस्तुतर्फको वैदेशिक व्यापार नेपालको पक्षमा हुन सकेको छैन । निर्यात अनुपातहरू अपवादलाई छोड्ने हो भने हरेक वर्ष खराब दिशामा जाँदै छन् । नेपालको कुल निर्यातले इन्धन आयातलाई पनि धान्ने अवस्था रहेको छैन । यसका पछाडि माथि भनिएझैं निर्यात प्रवर्द्धनको कार्य के हो भन्ने विषय नै पहिचान नहुनु प्रधान कारण मानिएको छ । निर्यात प्रवर्द्धनको कार्यको पहिचान नभई यस क्षेत्रमा हुने सबै प्रकार सक्रियता र साधनस्रोतको खर्च केवल बालुवामा पानीजस्तो भइरहेको छ । कार्यभार ग्रहण गर्दाका आशा र उत्साहहरू यसैकारण समयक्रमसँगै सुस्त हुँदै जान्छन् ।
यस अवस्थाबाट मुक्ति पाउन कुनै पनि वाणिज्य मन्त्रीहरूले सुकरातले झैं प्रश्न गर्नु आवश्यक छ । अर्थात् निर्यात प्रवर्द्धन कार्य के हो सोध्ने, यसका उत्तरमा थप प्रश्न गर्दै जाँदा यदि सन्तुष्ट हुने उत्तर नेपालभित्रको जनशक्तिबाट प्राप्त भएको खण्डमा उसको मन्त्रणामा र नभए विदेशी विश्वविद्यालयहरूमा रहेको ज्ञानको समेत उपयोग गर्ने गरी निर्यात प्रवर्द्धन कार्य भनेको के हो यसको तत्त्वज्ञान लिन जरुरी छ । निर्यात प्रवर्द्धन कार्य भनेको के हो यसको तत्त्वज्ञान भएपछि मात्र यस निर्यात प्रवर्द्धनका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन्छन्, निर्यात पनि बढ्छ र कुनै पनि वाणिज्य मन्त्रीले मेरो कार्यकालमा मेरो प्रयासमा नेपालको निर्यात यति प्रतिशत बढ्यो भनेर गर्व गर्ने अवस्था आउँछ । मुनिका जनशक्तिहरूलाई पनि कार्य सम्पादन गर्दा आनन्द आउँछ । यस्तो अवस्थामा गरिने कार्यसम्पादन मूल्यांकनले अर्थ पनि राख्छ । तसर्थ अहिले पहिलो आवश्यकता भने एक सतहमुनिको ज्ञान भएको जनशक्तिलाई राज्यका अंगहरूमा समाहित गर्नु हो । यदि त्यस्तो जनशक्ति देशभित्र उपलब्ध छैन भने मुलुक बाहिरका विश्वविद्यालयहरूका जनशक्तिहरूको सेवा लिनु परे पनि हिचकिचाउनु हुँदैन ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।