काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत धेद्रे शुरूङमार्ग दुवैतर्फ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार विष्फोटक पदार्थको स्विच थिचेर शुरूङमार्गको ‘ब्रेक थु्र’ गर्नुभएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा निजगढतर्फ पर्ने एक दशमलव सात सय २८ किमी लामो शुरूङ निर्माण सम्पन्न भएको हो । काठमाडौंतर्फको एक दशमलव ६ सय ५३ किमी शुरूङ भने गत जेठ ११ गते नै छिचोलिएको छ । धेद्रे शुरूङ छिचोलिएसँगै प्याकेज नं दुई अन्तर्गतका सबै शुरूङ खोल्ने काम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए । आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी उनले दिए ।
लेनडाँडामा रहेको निजगढ–काठमाडौंतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौं–निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी शुरूङ यसअघि नै खनिसकिएको छ । तीन दशमलव तीन सय २२ किमीको निजगढ–काठमाडौंतर्फको महादेओटार शुरूङ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौं–निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी शुरूङ खनिसकिएको छ । सो शुरूङ यसै वर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले बताएको छ ।
द्रुतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा रहेका छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल नौ ७७ किलोमिटर छ । द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रुतमार्गमा १० दशमवल तीन सय ९ किमी लम्बाइका ६ ओटा शुरूङ बन्नेछन् ।
आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव तीन सय ५५ किमी, धेद्रेमा एक दशमलव ६ सय ९१ र लेनडाँडामा एक दशमलव ६ सय २३ किमी लामो शुरूङ निर्माण गरिनेछ । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइको ८९ ओटा पुल निर्माण हुनेछ ।