काठमाडौं। दुईपांग्रे विद्युतीय सवारीसाधनलाई लक्षित गरी गोगोरोले ब्याट्री स्वापिङ प्रविधिमा आधारित ४५ ब्याट्री स्वाप स्टेशनहरू सञ्चालनमा ल्याएको छ । गोगोरेले काठमाडौं उपत्यकामा ती स्टेशन सञ्चालनमा ल्याएको हो । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरूप स्मार्ट स्कूटर विक्री गर्नुअघि पूर्वाधारको रूपमा यी स्टेशन जडान गरेको बताएको छ ।
शहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ । रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका यी स्वाप स्टेशनले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्ने बताइएको छ । ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताले निर्वाध यात्राको आनन्द लिन सक्नेछन् ।
चौबिसै घण्टा सञ्चालनमा रहने यी स्वाप स्टेशनमा उच्चस्तरीय सुरक्षा तथा अनुगमन, रियल टाइम ब्याट्री हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्ड पूरा गरिने बताइएको छ । पावर व्याकपसमेत रहेको कारण चार्जिङ स्टेशनमा बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता प्रदान गरिएको बताइएको छ । स्वाप स्टेशनहरू एआई प्रणालीद्वारा सञ्चालित रहेकाले ब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको मागअनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गरिने बताइएको छ ।
नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले यी ४५ स्व्याप स्टेशनहरू कम्पनीको दीर्घकालीन सोचको पहिलो खुड्किलो भएको बताए । उनले भने, ‘हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो ।’