हालै जारी गरिएको मौद्रिक नीतिमा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा थोक विद्युतीय मुद्राको प्रारूप (डिजाइन क्यारेक्टरिस्टिक्स) तयार गर्ने कार्य अगाडि बढाइनेछ,’ भनी उल्लेख गरिए पछि नेपाल राष्ट्र बैंक विद्युतीय मुद्रा जारी गर्ने दिशामा गम्भीर रूपमा अगाडि बढ्ने संकेत पाइएको छ । यसैको आधारमा यो आलेखमा केन्द्रीय बैंकको विद्युतीय मुद्राको विकास र प्रचलनको लागि के कस्ता चुनौती सामना गर्नुपर्छ भनी संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । तर, त्योभन्दा पहिले केन्द्रीय बैंकको विद्युतीय मुद्राका केही आयामहरूका बारेमा संक्षेपमा चर्चा गरौं :
गुणस्तरीय एवं समयमा नै हुने आन्तरिक तथा अन्तर देशीय भुक्तानी, भौतिक मुद्राको प्रयोगजन्य खर्चमा हुने कटौतीजस्ता कारणले अहिले विद्युतीय मुद्राहरू लोकप्रिय हुँदै गएका छन् र अहिलेसम्म विश्वका ११ देशका केन्द्रीय बैंकहरूले यस्तो मुद्रा जारी गरिसकेका छन् । अन्य सयभन्दा बढी देशका केन्द्रीय बैंकहरूले निष्कासन गर्ने योजना बनाएका कारण केन्द्रीय बैंकको विद्युतीय मुद्रा (सेन्ट्रल बैंक डिजिटल करेन्सी) अहिले विश्व वित्तीय क्षेत्रमा चर्चाको शिखरमा छ ।
जोखिम एवं चुनौतीहरूलाई यथोचित वैधानिक, प्राविधिक एवं सामाजिक उपायहरूद्वारा नियन्त्रण र नियमन गरी देशलाई युगसापेक्ष अन्तरराष्ट्रिय पदचापसँगै अगाडि बढ्न केन्द्रीय बैंकको विद्युतीय मुद्राले थप योगदान दिने कुरामा सन्देह छैन ।
त्यसो त फिनल्यान्डको केन्द्रीय बैंक ‘बैंक अफ फिनल्यान्ड’ ले सन् १९९० मै विद्युतीय मुद्रास्वरूप कार्डका रूपमा नै ‘एभ्यान्ट कार्ड सिस्टम’ जारी गरिसकेको थियो । यस अर्थमा यसैलाई अहिलेसम्मकै केन्द्रीय बैंकले जारी गरेको विद्युतीय मुद्राका प्रारम्भिक स्वरूप मान्न सकिन्छ तापनि अहिले व्याख्या गरिएका स्वरूपमा भने बहमासको केन्द्रीय बैंकले सन् २०२० को अक्टोबर महीनामा ‘सान्ड डलर’ नाम दिएर जारी गरेको मुद्रालाई नै केन्द्रीय बैंकको पहिलो विद्युतीय मुद्रा मानिन्छ । यसरी राष्ट्रव्यापी रूपमा जारी गरी विद्युतीय मुद्रा सञ्चालन गर्ने पहिलो देश बहमास बनेको थियो । त्यसै गरी चीनको ‘बैंक अफ चाइना’ले पनि डेढ वर्षअगाडि मात्र ‘ई–युआन’ जारी गरेर यस्तो मुद्रा जारी गर्ने एशियाको जेठो केन्द्रीय बैंक भएको थियो ।
यूरोपेली केन्द्रीय बैंकले पनि ‘इ–यूरो’ जारी गर्नु केही महीनाअघि मात्र २ वर्षे कार्ययोजना बनाएको थियो । अमेरिकामा पनि केही वर्षअगाडि राष्ट्रपति बाइडेनले अमेरिकी फेडेरल रिजर्भलाई विद्युतीय मुद्रा निष्कासन गर्ने सम्बन्धमा अनुसन्धान तथा विकासका गतिविधि अगाडि बढाउने गरी कार्यकारी आदेश जारी गरेका थिए तापनि अमेरिकी सिनेटले यसको विपक्षमा मत जाहेर गरे पछि त्यसको भविष्य भने त्यहाँ अन्योलग्रस्त बनेको छ । यसो भए तापनि विश्वव्यापी रूपमा भइरहेका प्रयाशहरू हेर्दा अबका केही वर्षभित्रैै विश्वव्यापी रूपमा नै भौतिक मुद्राले विद्युतीय स्वरूप ग्रहण गर्ने अनुमान गर्न सकिन्छ ।
केन्द्रीय बैंकको विद्युतीय मुद्रा
केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्राको कानूनी हैसियत भौतिक मुद्राको जत्तिकै हुने भएकाले प्रच्छन्न मुद्राभन्दा यसलाई धेरै सुरक्षित मानिन्छ । विनिमयको माध्यम, मुद्राको अन्तर्निहित मूल्य, सञ्चय, मापन गर्ने एकाइजस्ता भौतिक मुद्राका आधारभूत विशेषताहरूलाई जस्ताको तस्तै प्रतिबिम्बित गर्ने गरी केन्द्रीय बैंकहरूले विद्युतीय रूपमा जारी गर्ने मुद्रालाई ‘केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा’ भनिन्छ । यस अर्थमा भौतिक वा नगद मुद्राकै विद्युतीय स्वरूपको अर्थमा यसलाई बुझ्न सकिन्छ र यसको सञ्चय र कारोबारका लागि भने इन्टरनेटजडित विद्युतीय उपकरणहरूको आवश्यकता पर्छ ।
केन्द्रीय बैंकले खास गरी ‘खुद्रा’, ‘थोक’ तथा ‘सीमापार मात्र कारोबार हुने’ विद्युतीय मुद्रा गरी तीन प्रकारका मुद्रा जारी गर्न सक्छने । कुनै पनि व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि आफ्नो विद्युतीय खल्ती (डिजिटल वालेट) मार्फत प्रयोग गर्ने गरी खुद्रा विद्युतीय मुद्राको प्रयोग गर्न सक्छ भने बैंकहरूले ठूलो मात्रामा रकमहरूको कारोबारका लागि थोक विद्युतीय मुद्रा प्रयोग गर्न सक्छन् । बैंकहरूमार्फत नभई केन्द्रीय बैंकले व्यक्तिको वालेटमा सोझै स्थानान्तरण गर्ने गरी एकमुखे (वान टायर) विद्युतीय मुद्रा पनि सञ्चालन गर्न सक्छन् भने बहमास तथा चीनका केन्द्रीय बैंकहरूले जस्तै वाणिज्य बैंकहरूमार्फत व्यक्तिहरूको खल्तीमा स्थानान्तरण हुने गरी दुईमुखे (टू टायर) मुद्रा पनि जारी गर्न सक्छन् । सीमापार कारोबारको प्रयोजनार्थ विकास गरिने विद्युतीय मुद्रा भने अन्तरदेशीय वित्तीय कारोबारमा प्रयोग हुन्छ ।अहिले नेपाल राष्ट्र बैंकले भने थोक विद्युतीय मुद्राको प्रारूप तयार गर्ने घोषणा गरेर पहिलो चरणमा थोक विद्युतीय मुद्रा मात्र निष्कासन गर्ने छनक दिएको छ ।
प्रच्छन्न मुद्रासँगको पृथकता
वैधानिकता, मूल्य–स्थिरता, निष्कासन, नियमन, नियन्त्रण, पारदर्शिता, आर्जन तथा स्थानान्तरण प्रक्रिया आदिका आधारमा केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्रा र प्रच्छन्न मुद्राको बीच आधारभूत भिन्नता रहेको देखिन्छ ।
नियन्त्रण र नियमनको दृष्टिले केन्द्रीय बैंकको विद्युतीय मुद्राभन्दा विकेन्द्रित रूपमा ब्लक चेन प्रविधिमा आधारित प्रच्छन्न मुद्रा स्वतन्त्र हुन्छन् । विकेन्द्रित रूपमा जारी हुने र केन्द्रीय बैंकको नियन्त्रण नहुने भएकाले पनि प्रच्छन्न मुद्रा नियमनको दृष्टिमा ‘स्वच्छन्द’ हुन्छन् ।
वैधताको दृष्टिले पनि केन्द्रीय बैंकले जारी गर्ने विद्युतीय मुद्राको तुलनामा प्रच्छन्न मुद्राको वैधानिकता अहिले पनि प्रश्न चिह्नकै घेराभित्र रहेको देखिन्छ । विशेष गरी सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराध तथा आतंकवादी संगठनहरूका लागि आवश्यक वित्तीय सिञ्चनका लागि प्रच्छन्न मुद्राको व्यापक प्रयोग बढ्न थालेपछि कतिपय देशहरूमा झैं नेपालमा पनि प्रच्छन्न मुद्राको कारोबारलाई अवैध मानिएको छ ।
पारदर्शिताको दृष्टिले पनि विद्युतीय मुद्रा र प्रच्छन्न मुद्राबीच भिन्नता पाउन सकिन्छ । प्रच्छन्न मुद्रासँग सम्बद्ध कारोबारहरू सार्वजनिक रूपमा पारदर्शी ढंगले सार्वजनिक हुने भएकाले गोपनीयताको दृष्टिले प्रच्छन्न मुद्रालाई कमजोर मानिन्छ । अर्कोतिर पठाउने व्यक्ति, पाउने व्यक्ति र सम्बद्ध बैंकलाई मात्र कारोबारका बारेमा जानकारी हुने भएकाले विद्युतीय मुद्राले व्यक्तिगत गोपनीयताको पनि सम्मान गरेको देखिन्छ ।
फेरि केन्द्रीय बैंकको विद्युतीय मुद्राको कारोबारका लागि बैंकहरूजस्ता मध्यस्थकर्ताहरूको उपस्थिति अनिवार्य हुन्छ भने प्रच्छन्न मुद्राको कारोबार व्यक्तिव्यक्ति बीच प्रत्यक्ष रूपमा हुने भएकाले बीचमा कुनै पनि मध्यस्थकर्ता सहभागी हुँदैनन् ।
सफल कार्यान्वयनका चुनौतीहरू
नेपाल राष्ट्र बैंकले पनि विद्युतीय मुद्रा जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा त्यसको सफल कार्यान्वयनका लागि पार लगाउनु पर्ने चुनौतीका बारेमा पर्याप्त छलफल हुनु आवश्यक छ । प्रविधि र पर्याप्त वित्तीय साक्षरताको अभावले ग्रस्त हाम्रो जस्तो देशमा विद्युतीय मुद्राको आम प्रयोगका लागि प्रविधियुक्त वित्तीय पहुँच र साक्षरतायुक्त वित्तीय जागरुकता नै प्रमुख चुनौतीका रूपमा देखा पर्न सक्छन् । त्यसका अतिरिक्त अन्य कतिपय चुनौतीहरूलाई पनि बेवास्ता गर्न सकिँदैन ।
नेपालकै सन्दर्भमा कुरा गर्दा अहिलेसम्म यस्तो प्रकारको मुद्राको प्रचलनलाई वैधानिकता दिने गरी कुनै कानूनी संरचनाको विकास गरिएको छैन । त्यसैले सबैभन्दा पहिले कानूनी संरचनात्मक व्यवस्थासहित यस्तो मुद्राको प्रचलनलाई वैध बनाउने चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । प्रचलनको दृष्टिकोणले मात्र होइन, त्यस्ता मुद्रा निर्माणको प्रक्रिया, मुद्राको तथा मुद्राद्वारा हुने कारोबारको सुरक्षा एवं गोपनीयताजस्ता तमाम विषयहरूमा समेत विस्तृत रूपमा कानूनी प्रबन्धको विकास हुनु जरुरी हुन्छ ।
वैधानिक चुनौतीको सामना गरेपछि पनि यस्तो मुद्राले साइबर सुरक्षाको साथसाथै प्राविधिक पूर्वाधारको समुचित विकासको चुनौती पनि पार गर्नुपर्ने हुन्छ । यथोचित साइबर सुरक्षाको अभावमा यो आम रूपमा स्वीकार्य हुन कठिन हुन्छ । यसका अतिरिक्त विद्युतीय मुद्राको कारोबारमा संलग्न निकायहरू बीचको आपसी सञ्जाल, अविच्छिन्न इन्टरनेटको उपलब्धताजस्ता थप चुनौती पनि देखा नपर्ने होइनन् । अझ नेपालजस्तो अविच्छिन्न विद्युत् आपूर्तिमा समेत समस्या भोगिरहेको देशको सन्दर्भमा विद्युतीय मुद्राको आम प्रचलनका लागि त झन् यस्ता प्रविधिजन्य अनगिन्ती चुनौतीबाट पार पाउनु अहिलेका लागि त्यति सहज देखिँदैन ।
अहिलेसम्म विद्युतीय मुद्राको प्रचलनलाई वैधानिकता दिने गरी कुनै कानूनी संरचनाको विकास गरिएको छैन । त्यसैले सबैभन्दा पहिले कानूनी संरचनात्मक व्यवस्थासहित यस्तो मुद्राको प्रचलनलाई वैध बनाउने चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
वित्तीय साक्षरताको स्थिति यस्तो मुद्राको सफल प्रचलनका लागि अर्को महत्त्वपूर्ण चुनौतीका रूपमा रहेको छ । वास्तवमा वित्तीय पहुँच र वित्तीय समावेशिताको विस्तारलाई यस्ता मुद्राको महत्त्वपूर्ण उद्देश्यका रूपमा लिने गरिन्छ । तर, पर्याप्त वित्तीय साक्षरताको अभाव रहेको नेपालजस्तो ग्रामीण परिवेशपूर्ण देशमा यस्ता मुद्राको खुद्रा सञ्चालन निकै नै चुनौतीपूर्ण हुन सक्छ । पर्याप्त वित्तीय साक्षरताको अभावमा सञ्चालन हुने यस्ता नयाँ प्रविधिमा आधारित परियोजनाहरूले समाजमा वित्तीय र प्राविधिक साक्षरताको खाडललाई झनै फराकिलो बनाउने जोखिम पनि रहन्छ । यति मात्र होइन, वित्तीय साक्षरता र पर्याप्त जानकारीको अभावमा हुने विश्वासको कमीले नवीन प्रविधिको प्रयोग गर्न समाजका कतिपय तप्का असहज महसूस गर्छन् । यस्तो परिस्थितिले वित्तीय समावेशितालाई पनि झन् नकारात्मक रूपले प्रभाव पार्ने जोखिम रहन्छ ।
अर्कोतर्फ अपर्याप्त वित्तीय साक्षरताले विद्युतीय जोखिमको मात्रालाई पनि त्यत्तिकै बढावा दिएको हुन्छ । यसबाट विद्युतीय ठगी, सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराध मौलाउने भएकाले त्यसको समुचित नियन्त्रण थप चुनौतीपूर्ण देखिन्छ ।
समग्र अर्थतन्त्र तथा वित्तीय प्रणालीमा पनि विद्युतीय मुद्राका जोखिमहरू त्यत्तिकै रहन्छन् । खास गरी भौतिक मुद्राको मौज्दातमा जुन किसिमले बैंकहरू तीव्र भुक्तानीका कारण रित्तिने सम्भावना हुन्छ, त्योभन्दा विद्युतीय मुद्रामा तीव्रतर गतिमा रित्तिने सम्भावना प्रबल हुन्छ भनिन्छ । अझ संकटको बेलामा बैंकमा हुने भौतिक मौज्दातलाई तेस्रो–पक्ष–जोखिमबाट बच्ने प्रयोजनका लागि विद्युतीय मुद्रामा गरिने रूपान्तरणले संकटलाई झन् गहिरो बनाउने जोखिम रहन्छ । आर्थिक संकटमा केन्द्रीय बैंकको वित्तीय अवस्थाका बारेमा आशंका पैदा भएको बेलामा वा श्रीलंकाको जस्तो विदेशी मुद्राको भण्डार न्यून भएको अवस्थामा अथवा अर्थतन्त्रले तरलताको संकट बेहोरेको अवस्थामा यस्तो प्रकारको विद्युतीय मुद्राले वित्तीय र आर्थिक स्थायित्वका लागि निर्वाह गर्ने भूमिका कमजोर हुन्छ ।
यति हुँदाहुँदै पनि जुनसुकै नवीन प्रविधिको प्रयोगमा हुनेजस्तै केन्द्रीय बैंकको विद्युतीय मुद्रामा पनि स्वाभाविक रूपमा अन्तर्निहित जोखिम तथा चुनौतीहरू रहन्छन् नै । तर, ती जोखिम एवं चुनौतीहरूलाई यथोचित वैधानिक, प्राविधिक एवं सामाजिक उपायहरूद्वारा नियन्त्रण र नियमन गरी देशलाई युगसापेक्ष अन्तरराष्ट्रिय पदचापसँगै अगाडि बढ्न केन्द्रीय बैंकको विद्युतीय मुद्राले थप योगदान दिने कुरामा भने सन्देह छैन ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।