काठमाडौं । देशभर आधा दर्जनभन्दा बढी सहकारी संस्था खोलेर सर्वसाधारणको १६ अर्ब रुपैयाँ दुरुपयोग आरोप लागेका गीतेन्द्रबाबु (जीबी) राई फरारको घटना रहस्यमय बन्दै गएको छ ।
सहकारीको रकम ठगीको अभियोग लागेका राई प्रहरीमा फरार अभियुक्तको सूचीमा छन् । प्रहरीले माघ पहिलो साता नै डिफ्युजन नोटिस जारी गरे पनि हालसम्म उनी बसेको ठाउँसमेत पत्ता लगाउन सकेको छैन । सहकारी बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले समेत राईलाई उपस्थित गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलवार बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले राई मलेशियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण नभेटिएको जानकारी दिए । ‘हाम्रो अनुसन्धानमा राई नेपालबाट बाहिरिएको पाएका छैनौं,’ थापाले आर्थिक अभियानसँग भने, ‘उनी नेपालको एयरपोर्ट प्रयोग नगरी फरार भएको हुन सक्छ ।’
असार पहिलो साता तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राई मलेशियामा रहेको पत्ता लागेको र उनलाई नेपाल ल्याउन पहल भइरहेको बताएका थिए । तर, जिबी राईलाई पक्राउ नगरी लामिछाने सरकारबाट बाहिरिइसकेका छन् । सहकारीको बचत अपचलनमा राईसँगै लामिछानेको नाम पनि जोडिएको छ । राईले खोलेका विभिन्न सहकारीको रकम उनी आफै अध्यक्ष भएको गोरखा मिडिया नेटवर्कमा लगानी भएको र कतिपय सहकारीबाट लामिछानेको नाममा समेत ऋण झिकिएको पाइएको छ । लामिछाने तत्कालीन समयमा उक्त मिडियाको प्रबन्ध निर्देशक थिए ।
सहकारीको बचत रकम दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नाम जोडिएपछि छानबिन गर्न जेठ १५ गते संसदीय समिति गठन भएको हो । समितिलाई समस्याग्रस्त घोषणा भएका २० बाहेक अन्य नौओटा संस्थाको छानबिन गर्ने कार्यादेश छ । त्यसमध्ये काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण, नेपालगञ्जको समानता बचत तथा ऋण गरी ६ ओटा सहकारी राई र गोर्खा मिडिया नेटवर्कसँग जोडिएका छन् ।
समितिले १ महीनाअघि नै छानबिनको दायरामा समेटिएका नौओटा सहकारी संस्थाको कागजपत्र र गोर्खा मिडिया नेटवर्कमा प्रवाह गरेको ऋणको विवरण माग गरेको छ । अब बचत रकम अपचलनको आरोप लागेका व्यक्तिहरूसँग सोधपुछ गर्ने तयारी पनि अघि बढेको सभापति थापाले जानकारी दिए ।
‘हामीले ३३ ओटा बैठक गरी सरोकारवालासँग छलफल गरेका छौं,’ मंगलवार पत्रकारहरूसँगको छलफलपछि उनले भने, ‘अब बचत अपचलनको आरोप लागेका व्यक्तिसँग सोधपुछ र प्रतिवेदनको मस्यौदा लेखन सँगसँगै अघि बढाउँछौं ।’ यसैगरी केही संस्थाको वित्तीय प्रतिवेदन विश्लेषणको कामसमेत अघि बढेको थापाले जानकारी दिए ।
समितिले छानबिनका लागि कार्यादेश पाएका २९ ओटा सहकारी संस्थाका सञ्चालक तथा आरोपित २६ जना व्यक्तिसँग सोधपुछ गर्ने तयारी गरेको छ । समितिले १ साताअघि नै गृहमन्त्री रमेश लेखकसँगको छलफलपछि बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न डेढ दर्जन व्यक्तिलाई समितिको सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो ।
समितिले गत साता नै सूर्यदर्शन सहकारीका राई, ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर र भूपेन्द्र राई, सुमेरु सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, शिवशिखर सहकारीका तेजबहादुर बम्जन र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, दीपक पौडेल र छेदा नेपाली, सानो पाइला सहकारीका तस्बिरन खातुन र असरफ अली, सहारा चितवनका सुवास केसी, मेगा ड्रिम बहुउद्देश्यीयका महाशंकर रेग्मी, कान्तिपुरका प्रेमध्वज लामालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो ।
- जीबी राई पक्रन प्रहरीद्वारा गत साल माघको पहिलो साता डिफ्युजन नोटिस जारी
- असारमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट राई मलेशियामा रहेको पत्ता लागेको र उनलाई नेपाल ल्याउन पहल भइरहेको अभिव्यक्ति
- राई अध्यक्ष भएको गोरखा मिडिया नेटवर्कमा लामिछाने तत्कालीन प्रबन्ध निर्देशक
- २९ ओटा सहकारी संस्थाका सञ्चालक तथा आरोपित २६ जनासँग सोधपुछ गर्ने संसदीय समितिको तयारी
यसैगरी सहकारी ठगीको आरोप लागेका र ठगी मुद्दामा थुनामा रहेका व्यक्तिसँग पनि सोधपुछ गर्ने समितिले जानकारी दिएको छ । समितिको सोधपुछ प्रहरी अनुसन्धान वा सरकारी वकिलले लिने बयान जस्तो नहुने र यो तथ्य पत्ता लगाउन मात्र हुने थापाले बताए । समितिको अध्ययनमा सहकारीलाई अर्थतन्त्रको खम्बाका रूपमा संविधानमा स्वीकार गरे पनि त्यसअनुसार नियम कानून नभएको र सरकारको अनुगमनसमेत कमजोर हुँदा समस्या भएको पाइएको छ । सहकारीको समस्या समाधान गर्न नौओटा कार्यदल, समिति र छानबिन आयोग बनिसक्दा पनि समस्या समाधान गर्न चासो नदिएको सभापति थापाले बताए ।