हिउँद र वर्षायाममा नदी र खोलानालामा पानीको सतह घटी र बढी हुने गर्छ । यसले विभिन्न विद्युत्गृहबाट समयअनुसार बिजुली उत्पादनको मात्रामा पनि परिवर्तन भइरहन्छ । यसको मुख्यकारण वर्षायाममा अधिक वर्षा हुनु र हिउँदमा कम । पानी पर्दा नदी र खोलानालामा पानीको सतह बढ्छ र बिजुली उत्पादनमा पनि वृद्धि हुन्छ । वर्षायाममा जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालित भई हिउँदको तुलनामा वर्षायाममा बिजुली बढी उत्पादन हुने गर्छ । त्यस कारण वर्षायाममा बिजुलीको खपत बढाउनुपर्छ अन्यथा उत्पादित बिजुली खेर जान्छ । एउटा समयमा उत्पादित बिजुलीलाई भण्डारण गरी अर्को समयमा प्रयोग गर्न सकिँदैन । त्यसले उत्पादित बिजुलीको उपभोग तत्कालै गर्नुपर्ने हुन्छ ।
आपूर्ति मागभन्दा बढी छ भने उत्पादित बिजुली खेर जान सक्ने परिस्थितिलाई नकार्न सकिँदैन । खेर गएको उत्पादित बिजुलीले न उपभोक्तालाई राहत दिन्छ न राज्यलाई राजस्व ।
नेपाली उखान नै छ– जब पर्यो राति अनि बूढी ताती ।
आजभोलि फेरि मुलुकमा बिजुली खेर गइरहेको कुरा चलेको छ । केही दिन पहिलाको कुरा हो– नेपालले भारतलाई नेपालमा उत्पादिन अरू पनि बिजुली किनिदिन अनुरोध गर्यो । करण थियो, वर्षायाममा खोलानालामा पानीे बढी विद्युत् उत्पादन बढ्नु र विद्युत् खेर जाने अवस्था आउनु । यस्तो अस्थायी रूपमा हुने निर्यातलाई भारतले कुन बजारमा लगेर कति दिनका लागि विक्री गर्ने उसलाई पनि समस्यै थियो । त्यसै कारण पनि भारतले नेपालको त्यस्तो प्रस्तावलाई तत्कालै स्वीकृति दिएन र नेपालमा वर्षायाममा बढी उत्पादन भएको विद्युत् खेर जाने अवस्था सृजना हुन पुग्यो । वर्षायाममा बढी उत्पादन भई खेर जाने विद्युत् खपतको उत्तम विकल्प भनेको घरेलु बजारमा खपत बढाउनु नै हो । तर, हामी यस्तो खोजीमा लाग्न सकेका छैनौं, मात्र निर्यातको कुरामा अल्झिरहेका छौं ।
कुनै पनि वस्तुको मागअनुसार बजारमा आपूर्ति हुने गर्छ । माग बढेपछि वस्तुको आपूर्ति मात्र बढ्ने होइन, त्यस वस्तुको मूल्य पनि बढ्छ । फेरि मागमा ह्रास आउनासाथ मूल्यमा पनि ह्रास आउन थाल्छ । एउटा कुनै बिन्दुमा बजार सन्तुलित हुन्छ । बिजुलीको हकमा पनि यही नियम लागू हुन्छ । बिजुलीको मूल्यदर बढी हुँदा उपभोक्ताले यसको खपत कम गर्छन् भने कम हुँदा बढी । यो अर्थशास्त्रको सामान्य नियम हो ।
कुनै पनि वस्तु उत्पादन गर्दा उत्पादकले पर्याप्त लगानी गरेको हुन्छ । यस कारण उसले आफूले उत्पादन गरेको वस्तु उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सक्दैन । प्रायशः अधिकांश वस्तुको उपभोगका लागि उपभोक्ताले शुल्क तिर्नुपर्छ । उपभोक्ताले शुल्क तिरेर उपभोग गर्दागर्दै पनि भण्डारण गरेर राख्न नसकिने वस्तु बढी उत्पादन भएर खेर गइरहेको छ भने त्यस्तो वस्तुको समयअनुसार मूल्य समायोजन गरी मागमा वृद्धि गराउन सकिन्छ । उदाहरणका लागि प्रत्येक दिन रायोको सागको बजारलाई लिऊँ । एउटा कुनै दिनको निश्चित समय बिहान र बेलुकालाइ लिऊँ । रायोको सागको मात्रा एकैनास रहेको छ भन्ने अनुमान गरौं । त्यस्तै गरेर एउटा कुनै निश्चित बजारको कल्पना गरौं । उपभोक्ताले वा क्रेताले एउटै दिनको विभिन्न समयमा सागको मूल्य घटबढ भएको पाउन सक्छ । सोही सागको मूल्य बिहानको समयमा बढी हुन्छ भने दिउँसो वा बेलुकाको समयमा कम । दिउँसो वा बेलुकाको समयमा विक्रेताले रायो सागलाई कम मूल्यमा भए पनि विक्री गर्छ किनकी यो सागलाई धेरै समयसम्म भण्डारण गरेर फेरि विक्री गर्न सकिँदैन ।
बिजुलीको बजारलाई पनि रायो सागको बजारको नियमसँग तुलना गर्न सकिन्छ । जुन समयमा बिजुलीको उत्पादन बढी हुन्छ र यसको खपत कम हुन्छ त्यस समयमा बिजुलीको पूर्वनिर्धारित दरमा परिवर्तन गर्न सकिन्छ । वर्षाको समय र जाडो मौसममा बिजुलीको पूर्वनिर्धारित शुल्कमा परिवर्तन गरी खपत बढाउन वा घटाउन सकिन्छ । बिजुलीको निर्धारित शुल्क बढी हुँदा बिजुलीको खपत कम भई उत्पादित बिजुली खेर जान्छ । उपभोक्ता बिजुलीको सट्टा ग्यास चूल्हो प्रयोग गर्छन् । बिजुलीको शुल्क बढी हुँदा बिजुलीभन्दा ग्यास सस्तो पर्छ । त्यस्तै लुगा धुने मेशिनको प्रयोग गर्न छोड्ने र यसैसँग मिल्दाजुल्दा अन्य उपकरणको प्रयोग गर्न सक्छन् । विद्युतीय उपकरण उपयोगविहीन बनाउन सक्छन् । यसले बिजुलीको खपतमा कमी ल्याउँछ र उत्पादित बिजुली खेर जान्छ । खेर गइरहेको बिजुलीमा उपभोक्तालाई राहत दिई यसको खपत बढाउन सकिन्छ ।
नेपालमा हिउँदमा भन्दा वर्षामा बिजुली उत्पादन बढी हुन्छ । पावर हाउसमा जडित सबै जेनेरेटर पूर्ण क्षमतामा सञ्चालित हुन्छन् । सबै विद्युत् केन्द्रबाट जडितक्षमताको पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । यसरी पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा विद्युत् शुल्क महँगो भएक कारणबाट उपभोक्ताले विद्युत् बढी प्रयोग गर्नमा चासो राख्दैनन् । उत्पादन बढी वा घटी हुँदा समान विद्युत् उपभोग हुने भएकाले कहिले विद्युत् कटौती गर्नुपर्ने र कहिले विद्युत् खेर जाने अवस्था आउँछ । आपूर्ति मागभन्दा बढी छ भने उत्पादित बिजुली खेर जान सक्ने परिस्थितिलाई नकार्न सकिँदैन । खेर जाने उत्पादित बिजुलीले न उपभोक्तालाई राहत दिन्छ न राज्यलाई राजस्व ।
खेर गएको विद्युत् खपतका लागि समयअनुसार बिजुलीको पूर्वनिर्धारित दरमा परिवर्तन गर्नुपर्छ, यसलाई माग वा आपूर्तिअनुसारको मूल्यप्रणाली भनिन्छ । खेर गएको बिजुलीको खपत बढाउन कुटीर उद्योग, सानातिना औद्योगिक वा व्यापारिक प्रतिष्ठानहरूमा एउटा निश्चित मूल्यमा बिजुली उपलब्ध गराउन सकिन्छ । यसो गर्न सकियो भने खेर गइरहेको बिजुलीको खपत बढाउन सकिन्छ । यस्तो कदमले उपभोक्तालाई सस्तो मूल्यमा बिजुली उपलब्ध भई बढी बिजुली प्रयोगमा पनि हौसला प्रदान गर्छ ।
बिजुलीको निर्धारित दर लामो समयसम्म वा वर्षभरि एकनासको वा स्थिर रहँदा माग, मूल्य र आपूर्तिमा सन्तुलन आउँदैन । बिजुलीको माग बढी हुँदा छोटो समयमा नै जलविद्युत्को विकास गरी उत्पादन बढाउन सकिँदैन । यसको समाधानका लागि या त बिजुली आयात गरेर आपूर्ति बढाउनुपर्ने हुन्छ या लोडशेडिङ । नेपालमा विगतमा यी दुवै विकल्पको प्रयोग भइसकेको हामी सबैलाई थाहै छ । आपूर्तिमा कमी आउँदा उत्पादन बढाउनुपर्छ, उत्पादन बढी र मागमा कमी आउँदा मूल्य समायोजन गर्नुपर्छ ।
केही वर्षयता नेपालमा वर्षको ४ देखि ६ महीना बिजुली उत्पादन बढी हुने गरेको छ । परिणाम स्वरूप बढी भएको बिजुलीको केही अंश भारत निर्यात भइरहेको पनि छ । भारत वा अन्य देशमा निर्यात बढाउन अझै प्रयत्न भइरहेको छ । खेर गइरहेको विद्युत् निर्यातका अतिरिक्त घरेलु उपभोगमा पनि खपत बढाउन जरुरी छ । यसका साथै माग र आपूर्तिमा सन्तुलन ल्याई उत्पादित बिजुली खेर जान नदिन समय बिन्दुलाई आधार मानेर मूल्य समायोजन गरिनुपर्छ । समयानुकूल समायोजन गरिएको बिजुलीको शुल्कले उपभोक्तालाई राहत पुर्याउन सक्छ र बिजुलीको खपत बढाउन मदत गर्छ । घरेलु बजारमा बिजुलीको खपत बढ्दा देशलाई विभिन्न तरीकाले फाइदा पुग्न सक्छ । सस्तो मूल्यमा बिजुली उपभोग गर्न पाएपछि उपभोक्ताले भान्सामा विद्युतीय उपकरणको प्रयोग बढाउने र आयातित ग्यासको उपभोगमा कमी आउँछ । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि हुन्छ । भुक्तानी सन्तुलनलाई सहज बनाउँछ । उपभोक्ताले ग्यासमा खर्च गरेको रकमको केही अंश बचत भई अन्य वस्तुको उपभोगमा खर्च हुन थाल्छ । यसबाट राज्यलाई राजस्व प्राप्त हुन्छ । राजस्व वृद्धिले राज्यको विकास खर्चमा वृद्धि गराई अरू थप विकास गर्न सघाउ पुर्याउँछ । आम जनता र सरकार दुवैको आम्दानीमा वृद्धि गराउँछ ।
अन्त्यमा, उत्पादित बिजुली खेर जान नदिऊँ । देशभित्र बिजुलीको खपत बढाउन समयअनुसार बिजुलीको शुल्क दरमा परिवर्तन गर्ने प्रणालीको विकास गरौं । बिजुलीको निर्यात बढाउन समयमा नै पहल गरौं । यी दुवै कार्यले उत्पादित बिजुली खेर जानबाट केही मात्रामा भए पनि रोक्नेछ र यस्तो कार्यले देशलाई समृद्धिको बाटोमा डोर्याउनेछ ।
लेखक अर्थशास्त्री हुन् ।