देशमा आर्थिक क्रियाकलाप घट्दो दरमा छ । सरकारलाई सञ्चालन खर्चका लागि पनि राजस्व आय आर्जन गर्न, व्यावसायिक लगानीकर्तालाई व्यवसाय, घरमुलीलाई घरखर्च चलाउन धौधौ भएको छ । देशभित्र व्यावसायिक क्रियाकलाप घटिरहेको छ । व्यावसायिक प्रतिष्ठानहरू विभिन्न समस्यामा छन्, शहरका सटर र व्यावसायिक भवनहरूमा ‘टुलेट’ लेखेका बोर्ड झुन्डिएका छन् । व्यावसायिक लगानीका लागि उपयुक्त वातावरण नभएको, बैंकहरूबाट कर्जा लगानी हुन नसकेर लगानीयोग्य रकम फ्रिज भएको, देशका युवा जनशक्ति अध्ययन वा श्रम गर्न विदेश जान भीड लागेको, देशमा निरन्तर उत्पादन घटेको, आयात बढेको समाचारले पत्रपत्रिका भरिएका छन् । देशमा कर्जा नतिर्ने, कालोेसूची, धितो लिलाममा, बैंकिङ कसुरमा वृद्धि भएकोे तथा वित्तीय अनुशासन बिग्रिएर समाज अशान्त भएको छ । समाजमा गरीबी बेरोेजगार, अराजकता विगतमा भन्दा बढेर गएको छ । देशमा गरीबी न्यूनीकरणका लागि शुरुआत भई व्यापक रूप लिएको लघुवित्त सेवामा विभिन्न समस्या देखिएकोे छ । विपन्नहरूसमेत कालोसूचीमा सूचीकृत भएका छन । गरीबी न्यूनीकरणकोे उद्देश्य लिएको लघुवित्त सेवामा नै समस्या किन देखियोे ? लघुवित्तमा देखिएको समस्या समाधानका लागि क्रेडिट प्लस सेवा किन आवश्यक छ भन्ने सम्बन्धमा यस आलेख प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
लघुवित्त
सामान्यतया लघुवित्तको ससानोे वित्तको अर्थ धनसम्पत्ति, मुद्रा, कर्जा बचत भनेर बुझिन्छ । यसरी लघुवित्त सेवा भन्नाले ससानोे मात्रामा कर्जा, बचत, बीमा र विप्रेषण सेवा प्रदान गर्ने कार्यलाई बुझिन्छ । लघुवित्त भनेर बुझ्दा समाज, देश, काल समयअनुसार फरकफरक स्वरूपलाई बुझ्न पाइन्छ । तर, लघुवित्तको आशय सबै ठाउँमा एकै प्रवृत्तिको हुन्छ जसमा समाजमा रहेका विपन्न, गरीब, निर्धन, बेरोजगार तथा धितोविहीन समुदायलाई औैपचारिक वित्तीय सेवाको पहुँचमा ल्याएर आर्थिक उत्थान हेतु प्रवाह गरिने वित्तीय सेवा हो । लघुवित्त सेवामा ससानोे कर्जा, बचत, बीमा र विप्रेषणलगायत वित्तीय सेवा पर्छन् । यो सेवा विशेष गरी लक्षित वर्गलाई उत्प्रेरणा प्रदान गरेर समूह गठन गरी विनाधितो, सामूहिक जमानत, सरल प्रक्रियाबाट, सेवाग्राहीलाई पायक पर्ने स्थानमा प्रवाह गरिन्छ ।
- वित्तीय सेवाको साथै प्रदान गरिने गैरवित्तीय सेवालाई क्रेडिट प्लस भनेर बुझिन्छ ।
- लघुवित्त सेवा विभिन्न मोेडलमा सञ्चालनमा आए तापनि मुख्य गरी बंगलादेशबाट शुरुआत भएकोे ग्रामीण बैंकिङ पद्धति नै मुख्य मोेडल होे ।
- अतिविपन्नमा वित्तीय सेवा मात्रै प्रदान गर्दा त्यो वित्तीय सेवा विपन्नलाई आकाशको फल हुन जान्छ ।
- वित्तीय सेवाका साथमा क्रेडिट प्लस तथा गैरवित्तीय सेवाको माध्यमबाट विपन्नहरूको दिगो आर्थिक विकास गरी आर्थिक समृद्धि प्राप्त गराउन सकिन्छ ।
समूह सदस्यहरूकै गाउँघरमा कारोबार स्थल, ससानो मात्रामा नगद कारोबार, आयमूलक क्रियाकलाप तथा प्रयोेजनका लागि कर्जा, ससानो किस्तामा साप्ताहिक, पाक्षिक, मासिक रूपमा असुली, समूह, केन्द्र, पासबुक, केन्द्रको बैठक, सदस्य र कर्मचारी प्रतिज्ञा, केन्द्रमा हाजिरी, बीमा, राहत, सामाजिक क्रियाकलाप, सामूहिक एकता, सामूहिक जमानत, सामूहिक निर्णय, सामूहिक समर्थन तथा दबाब, पारदर्शी कारोबार, कर्मचारीको सहजीकरण ग्रामीण बैंकिङ लघुवित्तका विशेषता हुन् । लघुवित्त सेवा विभिन्न मोेडलमा सञ्चालनमा आए तापनि मुख्य गरी बंगलादेशबाट शुरुआत भएकोे ग्रामीण बैंकिङ पद्धति नै मुख्य मोेडल होे । यसका अतिरिक्त व्यक्तिगत मोडल, सानाकिसान मोेडल, स्वसहयोग समूह, स्वावलम्बी समूह, भिलेज बैंक, सहकारीलगायत विभिन्न स्वरूप रहे तापनि ग्रामीण बैंक पद्धति नै लघुवित्तको मुख्य मोेडल हो ।
लघुवित्त सेवाको लक्ष्य तथा उद्देश्य नै समाजमा रहेका गरीब, बेरोजगार, विपन्न, दलित, शोषित पीडित, सकुमबासी, निमुखा, निर्धन तथा महिला वर्गलाई प्रदान गरिने वित्तीय सेवा हो । लघुवित्त सेवा भन्नेबित्तिकै ससानो कर्जा विनाधितो, समूह जमानत, किस्ता किस्तामा असुली, उत्पादनमूलक प्रयोजनका लागि छोटो अवधिको कर्जा प्रवाह, ससानो अंकमा पनि बचत संकलन गर्नु, अनिवार्य बचत र सामूहिक बचत, वित्तीय सेवाका साथै गैरवित्तीय सेवा जस्तै वित्तीय साक्षरता प्रदान गर्ने, शीप विकास तालिम, विशेष गरी कर्जा बीमा, सदस्यको जीवन बीमा, परियोजना बीमा तथा स्वास्थ्य बीमा सेवा प्रदान गर्नु र समुदायको घरदैलोमै विप्रेषण सेवा प्रदान गर्ने जस्ता विशेषता लघुवित्त सेवाका हुन्छन् ।
लघुवित्त सेवाको पोकाभित्र कर्जा, बचत, बीमा, विप्रेषण सेवाका साथै गैरवित्तीय सेवाहरू समेत समावेश हुने भए पनि लघुकर्जा सबैभन्दा महत्त्वपूर्ण सेवा हो । लघुकर्जा विनाधितो समूह जमानतमा प्रदान गर्ने गरिन्छ । समुदायमा रहेका विपन्न समुदायमा लघुवित्त संस्थाले प्रदान गर्ने लघुकर्जाको महत्त्व धेरै हुन्छ । उनीहरूलाई ठूला बैंक वित्तीय संस्था र साहूमहाजनले कर्जा दिन आँट र विश्वास गर्दैनन् किनकि उनीहरूसँग बैंकबाट कर्जा लिन धितो हुँदैन, प्रक्रिया पूरा गर्न सक्ने ज्ञान, क्षमता हुँदैन । त्यसैले विपन्न वर्गलाई वित्तीय सेवा दिने हो र साँच्चिकैै उनीहरूको उत्थान गर्ने हो भने उनीहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने लघुवित्त सेवा एक अचुक अस्त्र हो भन्न सकिन्छ । साथै यसको विकल्पसमेत देखिँदैन ।
क्रेडिट प्लस
वित्तीय सेवाको साथै प्रदान गरिने गैरवित्तीय सेवालाई क्रेडिट प्लस भनेर बुझिन्छ । वित्तीय सेवा र गैरवित्तीय सेवा नितान्त फरकफरक विषयवस्तु हुन् । यी दुवै सेवा एकै द्वारबाट प्रवाह गर्न सहज हुँदैन । वित्तीय सेवाको साथै गैरवित्तीय सेवा तथा क्रेडिट प्लस कार्यक्रम एकै ठाउँबाट तथा एकै संस्थाबाट प्रवाह गर्दा सेवाप्रदायकको सेवामा विशिष्टीकरण तथा प्रभावकारिता आउँदैन भन्ने व्यवसायमुखी सोच हो । तर, समाजमा रहेका विपन्न तथा निर्धन वर्गलाई प्रवाह गरिने वित्तीय सेवासँगै गैरवित्तीय सेवा पनि आवश्यकताअनुसार प्रवाह गर्नु सामाजिक रूपमा आर्थिक विकासको लागि अपरिहार्य आवश्यकता हो । क्रेडिट प्लसको आवश्यकता मनन त्यस्तोे व्यक्तित्वले मात्रै गर्न सक्छ जसले अति विपन्नको कथाव्यथा, अभाव र समस्यालाई नजिकबाट नियालिरहेको हुन्छ । वास्तवमा लघुवित्त सेवाको अवधारणा अति विपन्नलाई वित्तीय सेवाको पहुँचमा ल्याएर तिनको परिवारको उत्थान गर्नु होे । अतिविपन्नमा वित्तीय सेवा मात्रै प्रदान गर्दा त्यो वित्तीय सेवा विपन्नलाई आकाशको फल हुन जान्छ, जो टिप्नैै सक्दैनन् तथा उपयोेगी हुँदैन, या त सेवाको अति नै दुरुपयोगले विपन्नका लागि घातक हुन्छ । लघुवित्त सेवाको परीक्षण गर्ने क्रममा नेपालमा परम्परागत बैैंकहरूमार्फत विगतमा विगतमा सञ्चालित लघुवित्त कार्यक्रमबाट यो प्रमाणित भइसकेको छ ।
क्रेडिट प्लस सेवाको आवश्यकता,महत्व
समाजमा समान आर्थिक विकासको लागि विपन्नलाई वित्तीय सेवाको पहुँचमा ल्याउन एकमात्रै उत्तम उपाय र माध्यम लघुवित्त सेवा हो । विपन्नकोे आर्थिक स्तर सुधार गर्न लघुवित्तको विकल्प छैन । तर, क्रेडिट प्लसविनाको व्यावसायिक लघुवित्त सेवाबाट अपेक्षाकृत उपलब्धि प्राप्त नभई समुदायमा लघुवित्त सेवाकोे प्रभावमा विभिन्न किसिमका विकृतिको सृजना भई लघुवित्त सेवा आलोेचित र कलंकित बन्न सक्छ । यसको समाधानको लागि लघुवित्त सेवामा क्रेडिट प्लस सेवा तथा कार्यक्रमको आवश्यकता, महत्त्व र प्रभावकारिताबारे सरकार तथा आमसमुदायका साथै लघुवित्त संस्थाका लगानीकर्ता, यसका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरू स्पष्ट हुन आवश्यक छ । लघुवित्त सेवा व्यावसायिक, नाफामूलक सेवा तथा कार्यक्रम नभएर समाजमा रहेका गरीब विपन्न तथा निर्धनहरूको उत्थानमा समर्पित सामाजिक सेवामुूलक वित्तीय सेवा तथा कार्यक्रम हो भन्ने कुरा बुझ्न बुझाउन क्रेडिट प्लस सेवा आवश्यक छ । लघुवित्त गरीबी निवारणका लागि महत्त्वपूर्ण माध्यम हो । लघुवित्त सेवा गरीबी निवारणका लागि सारथि हो भन्ने कुराको पुष्टि लघुवित्त सेवाप्रदायकहरूले सञ्चालन गर्ने सेवामूलक क्रियाकलापबाट देखिन आवश्यक छ । गरीबी विरुद्धको संघर्ष गरिरहेका ग्रामीण दूरदराजका असहाय तथा अतिविपन्नहरूले समेत आभास गर्न सक्नुपर्छ ।
लघुवित्त सेवासँगै क्रेडिट प्लस सेवासमेत एकैद्वारबाट विपन्नहरूले पाएमा देशकोे अर्थतन्त्र चलायमान गराउन, गरीबी न्यूनीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र उपयुक्त व्यावसायिक वातावरण कायम गरी गरीबी न्यूनीकरण गर्न सफल भई मुलुक आर्थिक समृद्धितर्फ लाग्न सक्छ ।
लघुवित्त सेवाप्रदायकहरू आवश्यकताअनुसारको सेवा तथा सहयोेग गर्ने संस्था हुन् भनेर देखाउन लघुवित्त सेवामा क्रेडिट प्लस कार्यक्रम आवश्यक छ । विपन्न समुदायमा वित्तीय सेवा मात्रै प्रदान नगरेर वित्तीय सेवाको साथमा गैरवित्तीय सेवाको धेरै आवश्यकता हुन्छ । विपन्नहरूमा व्यावसायिक ज्ञान, शीपको विकास गर्न, वित्तीय तथा व्यावसायिक साक्षरता चेतना वृद्धि गर्न, जीविकोपार्जनमुखी स्वरोजगारलाई व्यवसायीकरण गर्न, आधुनिकीकरण तथा यन्त्रीकरण गर्ने, उनीहरूका उत्पादनलाई बजारीकरण गर्न उनीहरूलाई वित्तीय सेवाको साथै गैरवित्तीय सेवा आवश्यक हुन्छ । वित्तीय सेवाका साथमा क्रेडिट प्लस तथा गैरवित्तीय सेवाको माध्यमबाट विपन्नहरूको दिगो आर्थिक विकास गरी आर्थिक समृद्धि प्राप्त गराउन सकिन्छ । क्रेडिट प्लस सेवाको सपोेर्टमा विपन्नहरूले लिने कर्जाको पूर्ण सदुपयोग गर्न गराउन सकिन्छ । कर्जाको पूर्ण र प्रभावकारी सदुपयोग हुँदा उनीहरूको वित्तीय सेवा उपभोगको स्तर वृद्धि हुन जान्छ । यसरी लघुवित्त सेवाबाट ग्राहक सदस्यकोे आर्थिक उन्नति हुँदै जाँदा लघुवित्त सेवा प्रवाह गर्ने संस्थाको पनि उन्नति हुन जान्छ ।
देशमा हाल लघुवित्त सेवाप्रतिको बढ्दो आलोचनालाई चिरेर लघुवित्त संस्थाले वित्तीय सेवाका साथै क्रेडिट प्लस सेवा दिन किन आवश्यक छ भन्ने कुरा बुझ्नुपर्ने समय भएको छ । लघुवित्त सेवा र क्रेडिट प्लस कार्यक्रम एक रथका दुई चक्का जस्तै हुन् । दुवै चक्काकोे बलियोपनबाट मात्रै लघुवित्त सेवा गरीबी निवारणका लागि विपन्नको सारथि बन्न सक्छ । गरीबी तथा विपन्नताको प्रकृति प्रवृत्ति तथा गहिराइ फरकफरक हुन्छ । सबै विपन्नका कथाव्यथा एकै प्रकारका हुँदैनन् । तसर्थ समाजमा रहेका फरकफरक विपन्न तथा गरीबलाई सम्बोधन गर्न वित्तीय सेवामा सहज पहुँचका साथै आवश्यकताअनुसारका गैरवित्तीय सेवाको पनि उत्तिकैै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । फरकफरक आवश्यकता पूरा गर्न फरकफरक सेवाप्रदायकको ढोकामा गएर आवश्यकताअनुसारको सेवा लिने क्षमता विपन्न गरीबहरूसँग रहँदैन । ससानो स्तरमा फरकफरक ढोकामा गएर सेवा लिँदा महँगो पर्ने, समय धेरै लाग्ने साथै यातायात, सूचना र सञ्चारको समस्या पर्ने भएकोले विपन्नलाई एकद्वार सेवा प्रवाह गर्न सहज हुन जान्छ । गरीबी निवारणका लागि वित्तीय सेवामा पहुँच वृद्धि, लैंगिक समानता, बचत वृद्धि, स्वरोजगारी तथा रोजगारीमा वृद्धि, उद्यमशीलता वृद्धिका लागि वित्तीय समावेशितामा वृद्धि गर्नका लागि लघुवित्त सेवाको विकल्प छैन । लघुवित्त सेवाको विकल्पमा बहस गर्नु तथा सोच्नुभन्दा लघुवित्त सेवासँगै विपन्नकोे आवश्यकताअनुसार सबै प्रकारका सेवाहरू एकद्वारबाट प्रवाह गर्दा लघुवित्त सेवा प्रभावकारी भएको कुरा विभिन्न देशहरूमा गरिएको परीक्षण कार्यक्रमहरूबाट देखिएको छ ।
लघुवित्त सेवामा समस्या र समाधान
लघुवित्त सेवाकोे उत्पत्ति नै विपन्नहरूको उत्थानका लागि उनीहरूलाई अन्य सेवाका साथसाथै वित्तीय सेवा प्रवाह गरेर उनीहरूकोे आम्दानीमा वृद्धि ल्याउने उद्देश्यले भएको हो । औपचारिक रूपमा प्रवाह गरिने वित्तीय सेवा तथा परम्परागत बैंकिङ सेवाले समेट्न नसकेका समाजमा रहेका निमुखा तथा निर्धनहरूलाई सेवा पुर्याउन, उनीहरूको उत्थानका लागि वित्तीय सेवा पुर्याउने प्रक्रियाका रूपमा लघुवित्त सेवाको सोच परिकल्पनाको विकास भएको हो । त्यसैले त नेपालमा लघुवित्तको शुरुआत गैरसरकारी संस्थाहरूले सामाजिक वित्तीय सेवाको रूपमा शुरुआत गरेका थिए । सरकारी तथा परम्परागत बैंकिङकोे सोचबाट सञ्चालित लघुवित्त कार्यक्रम असफल प्राय: भएका थिए । गैरसरकारी संस्थाले सामाजिक उत्थान तथा विकासको सोचबाट सञ्चालित लघुवित्त सेवा नमूनाकै रूपमा सफल हुँदै गए । समयको उतारचढावसँगै देशमा भएको सामाजिक उथलपुथल राजनीतिक परिवर्तनसँगै आएकोे नयाँनयाँ ऐेनकानून र शासन व्यवस्थामा भएकोे नेतृत्व परिवर्तनसँगै नियामक निकायहरूले सम्पूर्ण वित्तीय सेवालाई एकै डालोेमा राखेर एकैै शैली र विधिले शुरू गरेकोे विकास विस्तार तथा नियमन प्रक्रियाले गर्दा लघुवित्त सेवामा समस्या देखिन गएको हो ।
त्यसैले लघुवित्त सेवामा देखिएकोे समस्या समाधान, यसको विकल्प सोच्नुभन्दा अगाडि अन्य वित्तीय सेवा र लघुवित्त सेवाबीचकोे फरक थाहा पाउन लघुवित्त सेवाको परिकल्पना के हो ? लक्ष्य के होे ? उद्देश्य के हो ? लक्षित वर्ग को होे ? लघुवित्त सेवाको शुरुआत कसरी भयो ? किन भयो ? सञ्चालन प्रक्रिया के हो ? अन्य बैंकिङ सेवाभन्दा किन फरक छ ? लक्षित वर्ग किन फरक छ ? लक्षित वर्गको आवश्यकता के हो ? लक्षित वर्गको क्षमता कति छ ? के कस्तोे सेवाले के कस्तो प्रभाव पार्छ ? सेवामा प्रभावकारिता कसरी आउँछ ? भन्ने प्रश्नहरूको उत्तर देशको सरकार, नियामक निकाय, लघुवित्तका लगानीकर्ता, सञ्चालक, व्यवस्थापकदेखि लक्षित वर्गकोे घरदैलोमा सेवा पुर्याउने कर्मचारी हुँदैै लक्षित वर्गसम्म प्रभावकारी रूपमा सञ्चार हुन आवश्यक छ ।
लघुवित्तको मूलमन्त्र
आजभन्दा ३२ वर्षअगाडि नेपालमा लघुवित्त सेवाको शुरुआतको हुँदा लघुवित्त संस्थाहरूले अपनाएको स्वनियम, स्वअनुशासन, स्वनियन्त्रण आज पनि लघुवित्त सेवामा उत्तिकैै आवश्यक छ । नियामक निकायको प्रभावकारी नियमनको अभाव, सबैै वर्गका बैंक वित्तीय संस्थालाई एकै निकायको मातहतमा राखेर समान प्रकृति र प्रवृत्तिले समानखालकै मापदण्डमा सञ्चालन व्यवस्थापनको परिकल्पनाले गर्दा लघुवित्त सेवामा समस्या आएको कुरा बिर्सनु हुँदैन । नेपालमा लघुवित्त सेवाको शुरुआत विकास र विस्तारमा नेपाल सरकार, नियामक निकायकोे जति धेरै योगदान छ त्यतिकै यसको अवस्था बिग्रनुमा पनि ठूलो भूमिका रहेको छ भन्दा फरक पर्दैन । लघुवित्त संस्था आफै स्वनियमन, स्वअनुशासन र स्वनियन्त्रणमा सञ्चालन हुनुपर्ने सेवा होे । लघुवित्तमा नियमन प्रभावकारी हुन त लघुवित्त सेवाको अन्तरभावलाई आन्तरिकीकरण गरेका नियमन गर्ने व्यक्ति, संस्था नियमनकारी निकाय स्थापना हुनुपर्छ । लघुवित्त सेवावारेमा अझै पनि नेपाली विश्वविद्यालयका पाठ्यक्रममा यथेष्ट रूपमा समावेश गरिएको छैन । लघुवित्त सेवा विषयमा अध्ययन अध्यापन नभए पनि यससम्बन्धी जनशक्तिकोे धेरैै आवश्यकता रहेको छ । लघुवित्त सेवाबारेमा औपचारिक अध्ययन गरेर ज्ञान आर्जन नगरी सतही रूपमा लघुवित्तकोे जानकारी लिएकाहरूबाट लघुवित्त सेवाको नियमन, सञ्चालन, व्यवस्थापन घातक सिद्ध भएको छ । नेपालमा लघुवित्त विषयवस्तुभित्रको विस्तृत ज्ञानको अभाव, व्यावसायिक विज्ञताको अभाव, विषयवस्तुलाई आन्तरिकीकरणको अभाव भएकाहरू पहुँच र लगानीकर्ताकोे आडमा लघुवित्त सेवाका नेतृत्वकर्ता, नियमनकर्ता, व्यवस्थापन र कर्मचारी भई अगाडि आउँदा लघुवित्त सेवा कुहिरोमा हराएको कागजस्तै दिशाविहीन बनेको अवस्था छ । लघुवित्त सेवा सम्बन्धमा औपचारिक शिक्षाको अभावकोे परिपूर्ति लामो समयसम्म लघुवित्त सेवामा सर्मपण भएर वर्षौंकोे अनुभव सँगालेको जनशक्तिबाट गर्नुपर्नेमा अन्य विषयवस्तु अध्ययन गरेका, परम्परागत बैंकिङ सिद्धान्त र नियमको औपचारिक अध्ययन पूरा गरेर छोटो अनुभव भएका व्यक्तिहरूले लघुवित्त सेवाको नेतृत्व, नियमन तथा सञ्चालन व्यवस्थापन गर्दा लघुवित्तका सेवाको उद्देश्यमा विचलन आएको होे । लघुवित्त सेवाको उद्देश्यमा आएकोे विचलनले लघुवित्त सेवाकोे भविष्यमा पनि अन्योल देखिनु नौैलो कुरा भएन । यसरी लघुवित्त सेवाको उद्देश्यमा विचलन आउन नदिन लघुवित्त सेवालाई आन्तरिकीकरण गरेका, लघुवित्त सेवामा लामो र विशेष अध्ययन अनुभव भएका विषयविज्ञ, ज्ञाताहरू नेतृत्वमा हुनुपर्ने कुरामा द्विविधा भएन ।
लघुवित्त सेवाकोे मूलमर्म भनेको देश, समाजमा व्याप्त गरीबीलाई न्युनीकरण गर्नु होे । गरीबी न्यूनीकरण गर्न लघुवित्त मूल अस्त्र रहेको कुरा विश्वव्यापी रूपमा प्रमाणित भइसकेकोे वर्तमान अवस्थामा नेपालमा लघुवित्तको विकल्प आवश्यक छैन । लघुवित्तकोे विभिन्न मोडलमा नेपालमा ग्रामीण पद्धतिले नै व्यापकता पाएको कुरामा पनि विवाद छैन । यस अवस्थामा देशभित्र लघुवित्त सेवामा देखिएका समस्या भनेको लघुवित्त सेवाको उद्देश्य र नेतृत्वमा आएकोे विचलन हो । लघुवित्त सेवा सामाजिक व्यवसाय भएकाले यसका क्रियाकलाप व्यवसायमुखीभन्दा धेरै सामाजिक सेवामुखी हुन र देखिन आवश्यक छ । तसर्थ लघुवित्त सेवाग्राहीहरूको आवश्यकताअनुसार क्रेडिट प्लस सेवा लघुवित्तमा अपरिहार्य रहेको छ । लघुवित्त सेवासंगै क्रेडिट प्लस सेवासमेत एकैद्वारबाट विपन्नहरूले पाएमा देशकोे अर्थतन्त्र चलायमान गराउन, गरीबी न्यूनीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र उपयुक्त व्यावसायिक वातावरण कायम गरी गरीबी न्यूनीकरण गर्न देश सफल भई आर्थिक समृद्धि प्राप्त गर्न सकिने कुरा संस्था, समाज र देशको नेतृत्व गर्नेहरूले बुझ्नु आजको आवश्यकता हो ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा लामोे अनुभव प्राप्त अधिवक्ता तथा मेलमिलापकर्ता हुन् ।