काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबारका लागि नयाँ सूचकांक (इन्डेक्स) नेप्से ३० गतवर्ष कात्तिकमै सञ्चालनमा ल्याउने घोषणा गरे पनि अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।
निश्चित मापदण्डसहितका ३० कम्पनीको मात्रै कारोबार प्रतिविम्बित हुने गरी यस्तो सूचक तयार गर्न लागिएको हो । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेको भनाइ छ ।
भारतीय शेयरबजारमा पनि यस्तो सूचक तयार गरिएको छ । यसको उदाहरण बीएसई सेन्सेक्स ३० सूचक हो । यसमा ठूला र धेरै कारोबार हुने ३० कम्पनीको शेयर किनबेचको आधारमा सूचक तयार हुन्छ ।
आर्थिक वर्ष (आव) २०७९/८० को नेप्सेको कार्यक्रममा उक्त नेप्से ३० इन्डेक्स ल्याउने भनिएको थियो । तर, आव २०८०/८१ सकिन लाग्दासम्म सञ्चालनमा आउन सकेको छैन । गतवर्ष साउन ९ गते नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक परीक्षण गरेको थियो । ‘परीक्षण गरिसकेपछि भने यो विषय सञ्चालक समितिको प्राथमिकता परेन,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘नेप्से ३० लागू गर्ने प्रस्ताव नै सञ्चालक समितिमा छलफलका लागि पेश भएको छैन ।’
सञ्चालक समितिको प्राथमिकतामा परेको भए समितिले प्रमुख कार्यकारी अधिकृतलाई यस सम्बन्धमा निर्देशन दिनुपथ्र्यो । तर, त्यसो नभएको नेप्से स्रोतले बतायो । ‘जुन बिन्दुमा गएर रोकिएको थियो अहिले पनि यो विषय त्यहीँ नै छ,’ स्रोतले भन्यो ।
गतवर्ष साउन ९ गते नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक परीक्षण गरेको थियो । परीक्षण गरिसकेपछि भने यो विषय सञ्चालक समितिको प्राथमिकता नै परेको छैन । नेप्से ३० लागू गर्ने प्रस्ताव सञ्चालक समितिमा छलफलको लागि पेश भएको नै छैन ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पछिल्लो समय यसबारे के भएको छ, त्यो अध्ययन गरेर मात्र भन्न सक्ने बताए । उनको जवाफबाट पनि नेप्से ३० लामो समयदेखि छलफलमा नरहेको स्पष्ट हुन्छ ।
नेप्से ३० इन्डेक्स सञ्चालनमा आएको भए शेयरबजारको विश्लेषण गर्न नजानेका र नयाँ लगानीकर्ताको लागि उपयोगी हुने शेयर लगानीकर्ता नवराज दाहाल बताउँछन् । ‘किनभने यो सूचकमा सबै प्रक्रिया पूरा गरेका कम्पनी समावेश हुन्छन् र यस्ता कम्पनीमा अनुभवहीन लगानीकर्ताले केही ढुक्क भएर लगानी गर्न सक्छन्,’ दाहालले भने ।
नेप्सेले कुनकुन कम्पनीलाई नेप्से ३० भित्र राख्ने भनेर गत साल नै छनोट गरेको हो । तर, त्यो सार्वजनिक गरेको छैन । नेप्से ३० इन्डेक्समा कारोबार गर्न बैंकिङ समूहका ८, जलविद्युत् समूहका पाँच कम्पनी छानिएका छन् । त्यस्तै बीमा समूहका पाँच, उत्पादन तथा प्रशोधन समूहका दुई, लघुवित्त समूहका सात र अन्य समूहका तीन कम्पनी छनोट गरेर परीक्षण शुरू गरिएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेका अनुसार यस इन्डेक्समा दोस्रो बजारमा सूचीकृत भई कारोबारमा रहेका कम्पनीमध्येबाट पाँचओटा मापदण्डका आधारमा छानिएका प्रमुख ३० कम्पनीको बास्केट तयार हुनेछ । नेप्सेले यस्ता ३० कम्पनीभित्र पर्न निश्चित मापदण्ड पनि बनाएको छ ।
उक्त सूचीमा पर्न विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आवसहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको हुनुपर्छ । कम्पनीको किताबी मूल्य (बुक भ्यालू) चुक्ता पूँजीभन्दा बढी हुनुपर्छ । कम्पनीको प्रतिशेयर आम्दानी यसको फेस भ्यालुको तुलनामा कम्तीमा १० प्रतिशतभन्दा बढी हुनुपर्छ र उही वर्षको मूल्य वृद्धिदरभन्दा बढी हुनुपर्छ । कम्पनीमा कम्तीमा २० हजार शेयर सदस्य हुनुपर्नेलगायत मापदण्ड तोकिएको छ । कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा वितरण गरिएको हुनपर्ने वा कम्पनीको फ्री फ्लटिङ बजार पूँजीकरण जम्मा बजार पूँजीकरणको कम्तीमा १ प्रतिशत हुनपर्ने मापदण्ड पनि तोकिएको छ । यसले बजारमा कम्पनीको राम्रो उपस्थिति रहेको र कम्पनीको शेयर धेरै किनबेच हुने गरेको देखाउँछ ।
त्यसैगरी पछिल्लो ६ महीनामा दैनिक औसत २५ लाख रुपैयाँ वा त्योभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार वा त्योभन्दा बढी कित्ताको कारोबार भएको हुनेपर्नेछ । दैनिक औसत ४० वा सोभन्दा बढीपटक कारोबार भएको र पछिल्लो ६ महीनाको अवधिमा उपलब्ध कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको हुनुपर्नेछ ।
के हो नेप्से ३० इन्डेक्स ?
निश्चित मापदण्डसहितका कम्तीमा ३० कम्पनीको मात्रै कारोबार प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार गरिएको हो । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेको भनाइ छ ।