काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ९३ अंक घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको हो । बुधवार पनि सामान्य अंक घटेर बन्द भएको थियो ।
लगानीकर्ताको मनोबल सकारात्मक हुन नसक्दा बजारले गति लिन नसकेको जानकार बताउँछन् । बजारमा नयाँ लगानीकर्ताको प्रवेश नहुनु, पुरानाको क्रयशत्ति कमजोर रहनु, यसअघि नाफा बुक गरेकाहरू अझै ‘पर्ख र हेर’कै अवस्थामा रहनुले पनि बजार सुस्त बनेको देखियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ३४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत घटेको छ ।
३२२ धितोपत्रको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटकमा रू. ४ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपाल,भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
इमर्जिङ्ग नेपालको शेयर मूल्य रू.१ हजार २१ दशमव ९० र मिड सोलु हाइड्रोपावरको रू.७०४ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी माई खोला हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशलमव ४० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६८ मा झरेको छ । त्यस्तै ज्योति विकास बैंक बोण्ड २०८७ नामक ऋणपत्रको मूल्य ५ दशमलव ५३ प्रतिशत घटेर रू. ९८२ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्री एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको रू. १८ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ६१५ कायम भएको छ ।
त्यसैगरी शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रू. १४ करोड ४५ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ९६ प्रतिशत बढेको छ भने वित्त समूहको सूचक २ दशमलव ०८ प्रतिशत घटेको छ ।