काठमाडौं । फागुनमा विकास बैंकहरूको शेयर कारोबार करीब ५६८ प्रतिशत वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको फागुन महीनाको मासिक तथ्यांक अनुसार गत वर्षको फागुनको तुलनामा यो वर्षको फागुनमा विकास बैंकहरूको शेयर कारोबार ५६७.९६ प्रतिशत वृद्धि भएको हो ।
गत वर्षको फागुनमा विकास बैंकहरूले रू. २ अर्ब ३० करोड बराबरको शेयर कारोबार गरेकोमा यस वर्षको फागुनमा रू. १५ अर्ब ३९ करोड बराबरको कारोबार भएको छ ।
समीक्षा अवधिमा विकास बैंकहरूको कारोबार कित्तासमेत बढेको छ । तथ्यांकअनुसार गत वर्षको फागुनमा विकास बैंकहरूले ६६ लाख १ हजार कित्ता कारोबार गरेकोमा यस वर्षको फागुनमा २ करोड २ लाख कित्ता शेयर कारोबार भएको हो ।
केही वर्षअगाडि एक विकास बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १५० सम्म झरेकोमा अहिले त्यस कम्पनीको शेयर मूल्य १ हजार ९ सयभन्दा माथि पुगेको छ । यसले विकास बैंकहरूको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ । विकास बैंक समूहका कम्पनीहरूमध्ये अधिकांशको शेयर संख्या कम छ ।
शेयर कम भएपछि बजारमा शेयर आपूर्ति कम हुने भएकाले निश्चित समूह लागेर यस्ता कम्पनीको शेयर मूल्यमा अस्वभाविक उतावचढाव गराउने गरेको जानकार बताउँछन् । जसका कारण कारोबार रकम बढेको उनीहरूको भनाइ छ ।
यही अस्वाभिक शेयर मूल्य उताबचढावमा चलखेल भएकाले नेप्सेले चैत ७ गते देखि पछिल्लो १५ मिनेटमा (२ः४५ देखि ३ बजे) भएको कारोबार मूल्य र कित्तालाई आधार मानेर भारित औसत मूल्य गणना नियम लागू गरेको छ ।
फागुनमा शेयर कारोबार सर्वाधिक वृद्धि हुने समूहगत सूचकको सूचीमा दोस्रोमा अन्य समूह छ । समीक्षा अवधिमा यो समूहको शेयर कारोबार रकम ४८२ प्रतिशत वृद्धि भएको छ ।
तथ्यांक अनुसार संस्थापक शेयर र डिबेञ्चर गरेर १५ समूहमध्ये एक समूहको मात्रै शेयर कारोबार घटेको छ भने बाँकी सबैको बढेको छ । यीमध्ये उत्पादन तथा प्रशोधन समूहको शेयर कारोबार गत वर्षको फागुनको तुलनामा यस वर्षको फागुनमा ४ दशमलव १४ प्रतिशत घटेको छ । गत वर्षको फागुनमा यस समूहको रू. ७ अर्ब २३ करोड बराबरको शेयर कारोबार भएकोमा यस वर्षको फागुनमा रू. ६ अर्ब ९३ करोडमा झरेको हो ।
त्यस्तै पछिल्लो समय संस्थापक शेयर कारोबार पनि बढि देखिएको छ । गत फागुनमा संस्थापक शेयरको रू. १ अर्ब २५ करोड बराबरको कारोबार भएकोमा गत वर्ष फागुनमा रू. ३ अर्ब ५२ करोड बराबरको कारोबार भएको छ ।
समूह | २०८१ फागुन | २०८० फागुन | कारोबार रकमको घटबढ प्रतिशत | ||
कारोबार कित्ता हजारमा | कारोबार रकम रू दश लाख | कारोबार कित्ता हजारमा | कारोबार रकम रू दश लाख | ||
विकास बैंक | 20241.17 | 15392.81 | 6601.07 | 2304.46 | 567.96 |
अन्य | 26061.01 | 27921.82 | 7504.54 | 4793.61 | 482.48 |
लगानी | 22880.43 | 17129.28 | 6298.44 | 3162.56 | 441.63 |
लघुवित्त | 10812.19 | 13470.69 | 3810.99 | 3068.28 | 339.03 |
म्युचुअल | 38513.3 | 367.72 | 11729.73 | 97.75 | 276.18 |
जीवन बीमा | 20446.5 | 14613.2 | 8067.95 | 4171.31 | 250.33 |
संस्थापक शेयर | 22006.15 | 3528.49 | 5954.36 | 1257.7 | 180.55 |
हाइड्रोपावर | 145426.52 | 59696.98 | 74434.05 | 23394.44 | 155.18 |
कमर्सियल बैंक | 38733.71 | 10598.33 | 16935.73 | 4170.11 | 154.15 |
निर्जीवन | 7604.6 | 6254.02 | 3821.83 | 2546.56 | 145.59 |
वित्त | 15291.69 | 9612.14 | 9475.82 | 4030.48 | 138.49 |
होटल तथा पर्यटन | 2593.55 | 2067.26 | 1817.13 | 1084.82 | 90.56 |
डिबेञ्चर | 100.1 | 109.09 | 59.31 | 57.53 | 89.62 |
ब्यापार | 72.38 | 396.62 | 63.51 | 305.51 | 29.82 |
उत्पादन तथा प्रशोधन | 9911.65 | 6937.16 | 12259.74 | 7237.01 | -4.14 |
स्रोत : नेप्से ।