काठमाडौं । पदयात्रामा आधारित पर्यटन परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९१ लाख स्वीस फ्र्यांक (१ अर्ब २६ करोड रुपैयाँ बराबर) सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल मेउलीले सहयोग सम्झौतामा हस्ताक्षर गरे ।
उक्त परियोजना यसै वर्ष (सन् २०२४)देखि कार्यान्वयनमा आउनेछ । सन् २०२८ सम्म सञ्चालन हुने सो परियोजनाबाट कोशी प्रदेशका २९ स्थानीय तहका करीब एक लाख स्थानीयले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको अर्थ मन्त्रालयले बताएको छ । परियोजनाको कार्यान्वयनबाट स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, रोजगारी सृजना तथा दिगो पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा राजदूत मेउलीले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने परियोजना कोशेढुंगा सावित हुने बताइन् । परियोजना कार्यान्वयनमा आएसँगै वातावरणमैत्री सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक सहयोग आर्थिक समन्वय महाशाखाका प्रमुख नेपालले परियोजनाले कोशी प्रदेशको पर्यटन क्षमता अभिवृद्धि गर्ने र यसबाट स्थानीय जनताको आयस्रोतमा समेत टेवा पुग्ने बताए ।