काठमाडौं । बैंक, वित्तीय संस्थाहरूमा निक्षेपसँगै कर्जाको ब्याजदर पनि सस्तो भएको छ । अधिक तरलता वृद्धिसँगै बैंकहरूले निक्षेपमा ब्याजदर घटाउँदै लगेपछि लागतमा कमी आई ऋणको ब्याजदर सस्तो भएको हो ।
बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार चालू आर्थिक वर्ष (आव) को जेठमा वाणिज्य बैंकहरूको त्रैमासिक औसत आधारदर ८ दशमलव ३५ प्रतिशत कायम भएको छ । अघिल्लो आवको शुरू अर्थात् २०८० साउनमा १० दशमलव १४ प्रतिशत औसत त्रैमासिक आधारदर कायम भएकोमा १ वर्षको अवधिमा १ दशमलव ७९ प्रतिशत बिन्दुले घटेको हो । बैंकहरूले २०८१ जेठ र असारमा पनि निक्षेपको ब्याजदर घटाएकाले साउनदेखि कार्यान्वयन हुने त्रैमासिक आधारदर अझ कम हुने देखिन्छ ।
बैंकहरूको आधारदर घटेपछि कर्जाको ब्याजदर सस्तो भएको छ । आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक, वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफलसमेत जोडेर आधारदर निर्धारण गर्छन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । अहिले बैंकहरूले आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् ।
कार्यविधिअनुसार नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्था छ । कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न पाइँदैन । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने गरेको छ ।
जेठमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम त्रैमासिक आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ दशमलव २६ प्रतिशत छ । यस्तै सबैभन्दा बढी कुमारी बैंकको ९ दशमलव ४८ प्रतिशत छ । सबै बैंकहरूको आधारदर एकल अंकमा रहेकोमा १६ ओटा बैंकको ९ प्रतिशतभन्दा कममा झरेको छ ।
‘चालू आवमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि स्वाभाविक रूपमा कजाको ब्याजदर पनि घटेको हो,’ पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले भने । तैपनि कर्जाको ब्याजदर अझै उच्च रहेको छ ।’
अघिल्ला वर्षहरूमा तरलता अभाव भई बैंकहरूले महँगो ब्याजदरमा दीर्घकालीन निक्षेप उठाएकाले कर्जाको ब्याजदर अपेक्षाअनुसार कम हुन नसकेको उनले बताए । ‘विगतमा महँगोमा निक्षेप उठाएकाले बैंकहरूको लागत उच्च छ,’ क्षेत्रीले भने, ‘नयाँ सस्तो निक्षेपले त्यसको परिपूर्ति नभएसम्म कर्जाको ब्याजदर उच्च हुने देखिन्छ ।’
बैंक, वित्तीय संस्थामा तरलता अभाव भएपछि अघिल्लो आवमा ब्याजदर बढे पनि भर्खरै सकिएको आव २०८०/८१ देखि घट्न थालेको हो । तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले आव २०८०/८१ को शुरू (२०८० साउन) देखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि असोजसम्म निक्षेपको ब्याजदर केही वृद्धि भए पनि त्यसपछि लगातार घटिरहेको छ ।
२०८० साउनमा वाणिज्य बैंकहरूको निक्षेपमा औसत ब्याजदर ९ दशमलव ८३ प्रतिशत कायम भएकोमा असोजमा १० दशमलव २६ प्रतिशत पुगेको थियो । त्यसपछि लगातार घटिरहेको औसत ब्याजदर २०८१ साउनमा ६ दशमलव ७२ प्रतिशत कायम भएको छ । यसअघि २०७९ पुसमा वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर १२ दशमलव ३३३ प्रतिशतसम्म पुगेको थियो । ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साविकको ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेमा जुनसुकै बेला ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ ।
कर्जाको ब्याजदर सस्तो भए पनि बैंकहरूबाट ऋण प्रवाह भने बढ्न सकेको छैन । जेठसम्ममा बैंक, वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढ्दा निजीक्षेत्रतर्फको कर्जा प्रवाह भने ५ दशमलव १ प्रतिशतले मात्र वृद्धि भएको छ । जबकि आव २०८०/८१ को मौद्रिक नीतिमा राष्ट्र बैंकले ११ दशमलव ५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ ।
निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक, वित्तीय संस्थामा ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पूँजी छ । असार ३० गते आइतवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आइतवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ६१ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने प्रावधान छ ।