कर कानूनले व्यवसाय वा लगानीको लागि गरिने प्रदूषण नियन्त्रण, ह्रासयोग्य सम्पत्तिको मर्मत सुधार, अनुसन्धान तथा विकास खर्चको कट्टी दाबी गर्न कतिपय अवस्थामा शर्त बन्देजहरू पनि लगाएको छ । अन्य विभिन्न किसिमका खर्चको तुलनामा यस्ता खर्चको प्रकृति केही हदसम्म फरक मानिन्छ ।
प्रदूषण नियन्त्रण खर्च
प्रदूषण नियन्त्रण खर्चको सीमा गणना गर्दा समायोजित करयोग्य आयको ५० प्रतिशतभन्दा बढी नहुने गरी बन्देज लगाइएको छ । प्रदूषण नियन्त्रणको अधिक खर्च (सीमाबाहिरको खर्च) आगामी वर्षको शुरूमा पूँजीकरण गरी अनुसूची–२ बमोजिम सम्पत्तिको समूहमा वर्गीकरण गरी ह्रासकट्टी दाबी गर्न सकिन्छ । ‘प्रदूषण नियन्त्रणका लागि नै खर्च गरेको भए तापनि व्यवसायको कुनै प्रक्रियासँग सम्बन्ध नभएको खर्चलाई खर्च कट्टी गर्न मिल्दैन’ भनेर आयकर निर्देशिका, २०६६ (चौथो संशोधन, पृ.३५९) ले थप स्पष्ट गरेको छ । उदाहरणका लागि कुनै सिमेन्ट कारखानाले वृक्षरोपणका लागि खर्च गरेको ५ लाख रुपैयाँँ प्रदूषण नियन्त्रणका रूपमा खर्च कट्टी दाबी गर्न पाउँदैन । यस्ता खर्चलाई व्यवसायको प्रत्यक्ष सञ्चालन प्रक्रियासँग सम्बद्ध खर्च वा यस दफाबमोजिम गरिएको खर्च मानिँदैन ।
अनुसन्धान र विकास खर्च
व्यवसायको सिलसिला (लगानीमा अनुसन्धान र विकास खर्च नहुने)मा अनुसन्धान र विकास खर्च भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने वा व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएकोे खर्चलाई बुझाउँछ । व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासका लागि परेकोे लागत त्यस आयसँग सम्बद्ध व्यवसायका लागि सम्पत्ति खरीद गर्दा परेकोे लागत सरह मानिन्छ । व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि उक्त वर्षमा उक्त व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हदसम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न सकिन्छ । करयोग्य आयको ५० प्रतिशत रकम मात्र अनुसन्धान र विकासमा भएको खर्चकट्टी पाइन्छ । सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्चलाई पूँजीकरण गरी ह्रासकट्टी गर्न सकिन्छ । प्रदूषण नियन्त्रण र अनुसन्धान तथा विकासमा भएको खर्च व्यवसायको आय आर्जनमा मात्र खर्चकट्टी गर्न पाइन्छ । तर, मर्मत तथा सुधार खर्च र ह्रासखर्च भने व्यवसाय र लगानी दुवैमा खर्च कट्टी गर्न पाइन्छ ।
जुन सम्पत्ति मर्मत सुधार गरिन्छ, त्यस्तो सम्पत्ति प्रयोगकर्ताको स्वामित्वमा हुनुपर्छ र त्यस्तो सम्पत्ति व्यवसाय वा लगानीको आय आर्जन गर्ने कार्यमा सोही वर्ष प्रयोग भएको हुनुपर्छ ।
ह्रास खर्च
व्यवसाय वा लगानीमा आय आर्जनका लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै जाने वा समय व्यतीत हुँदै गएको कारणले मूल्यमा ह्रास हुने सम्पत्ति ह्रासयोग्य सम्पत्ति हुन् । उदाहरणका लागि ह्रासयोग्य सम्पत्ति भन्नाले कार्यालय प्रयोजनका लागि राखिएका टेबल, कुर्सी, फर्निचरलाई लिन सकिन्छ । तर, ह्रासयोग्य सम्पत्तिले व्यापारिक मौज्दातलाई वा व्यापार गर्न राखिएका सामान वा वस्तुलाई भने जनाउँदैन । अर्थात् फर्निचर विक्री गर्ने पसलमा विक्रीका लागि राखिएका फर्निचर भने ह्रासयोग्य सम्पत्ति नभएर व्यापारिक मौज्दात हुन जान्छ । अब सवाल आउँछ कि, यस्ता सम्पत्तिको मर्मत सुधारमा गरिएका कतिसम्मका खर्चलाई करले मान्यता दिन्छ वा दिँदैन । अथवा त्यस्ता खर्चको लेखाङ्कन कसरी गर्नुपर्छ ।
ह्रासयोग्य सम्पत्तिको मर्मत सुधार
ह्रासयोग्य सम्पत्तिको मर्मत सुधार खर्च दाबी गर्न सर्वप्रथम जुन सम्पत्ति प्रयोग गरिन्छ, त्यस्तो सम्पत्ति ह्रासयोग्य सम्पत्ति हुनुपर्छ । दोस्रो जुन सम्पत्ति मर्मत सुधार गरिन्छ, त्यस्तो सम्पत्ति प्रयोग कर्ताको स्वामित्वमा हुनुपर्छ र त्यस्तो सम्पत्ति व्यवसाय वा लगानीकोे आय आर्जन गर्ने कार्यमा सोही वर्ष प्रयोग भएको हुनुपर्छ । तथापि खर्च कट्टी गर्दा उक्त आयवर्षको अन्त्यमा रहेका सम्पत्तिको समूहको ह्रास आधार रकमको ७ प्रतिशतभन्दा बढी ह्रासखर्च दाबी गर्न पाइने छैन । ‘त्यसभन्दा बढी खर्च भएमा भएको खर्चको क्रमानुसार मात्र यस्तो कट्टी गर्न पाउनेछ’ भन्ने व्यवस्था भने २०७४/४/१ मा खारेज भइसकेको छ । हवाई यातायात व्यवसाय सञ्चालन गर्नेहरूका लागि आर्थिक अध्यादेश, २०६० (साउन) ले त्यस्तो खर्चको ५ प्रतिशतको सीमालाई संशोधन गरी सोको सट्टा ७ प्रतिशत कायम गरेको थियो । तर, यस विषयमा आर्थिक अध्यादेश, २०६१ (साउन) ले थप गरी आर्थिक ऐन,२०७२ मा संशोधन गरी ‘हवाई यातायात सेवा उपलव्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाई जहाजको पूर्ण परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यस्त सीमा लागू नहुने’ व्यवस्था गरेकोमा हाल कायम रहेको ऐनमा ‘पूर्ण’ भन्ने शब्दको सट्टा ‘मर्मत सम्भार खर्चमा यो सीमा लागू हुने छैन’ भन्ने शब्दावली चयन गरेको छ ।
प्रदूषण नियन्त्रणको अधिक खर्च आगामी वर्षको शुरूमा पूँजीकरण गरी अनुसूची–२ बमोजिम सम्पत्तिको समूहमा वर्गीकरण गरी ह्रासकट्टी दाबी गर्न सकिन्छ । ‘प्रदूषण नियन्त्रणका लागि नै खर्च गरेको भए तापनि व्यवसायको कुनै प्रक्रियासँग सम्बन्ध नभएको खर्चलाई खर्च कट्टी गर्न मिल्दैन’ भनेर आयकर निर्देशिकाले थप स्पष्ट गरेको छ ।
‘कुनै व्यक्तिले आफैले निर्माण गरी सञ्चालन गर्ने एवम् सम्झौताको समाप्तिपछि उक्त आयोजना हस्तान्तरण गर्नुपर्ने (जस्तै : जलविद्युत् आयोजना) का लागि खरीद गरिएको जग्गासमेत हस्तान्तरण गर्नुपर्ने अवस्थामा उक्त जग्गामा भएको लागतलाई ‘ङ’ समूहमा समावेश गरी सम्झौताका अवधिको आधारमा ह्रासकट्टी खर्च दाबी गर्न सक्ने’ र ‘लगानी तथा व्यवसायको सिलसिलामा भाडामा लिई प्रयोग गरेको सम्पत्तिमा उक्त वर्षको मर्मत खर्च दफा १३ अन्तर्गत रही सामान्य खर्चकट्टी दाबी गर्नुपर्ने’ गरी आयकर निर्देशिका, २०६६ (चौथो संशोधन, पृ.६५९) ले थप स्पष्ट पारेको छ ।
प्रदूषण नियन्त्रण, ह्रास ह्रासयोग्य सम्पत्तिको मर्मत सुधार, अनुसन्धान तथा विकास खर्चका विवादित विषयमा अदालतबाट भएको महत्त्वपूर्ण विवादमा सर्वोच्च अदालतबाट भएका फैसला : ‘कारोबारसँग सम्बद्ध पूँजीगत प्रकृतिका खर्च ह्रास आधारमा जोडी तोकिएको प्रतिशतमा ह्रासकट्टी खर्च लेख्न पाउने । लिजमा लिएको सम्पत्तिमा बैंकको कार्यालय सञ्चालनका लागि बनाइएको फर्निसिङ, फिक्स्चर्सजस्ता वस्तुमा खर्च भएको देखिँदा त्यस्तोमा लिजबापत ५ प्रतिशत मात्र ह्रासकट्टी पाउनु पर्ने जिकीर नपुग्ने’ आनन्दराज ढकाल वि. स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको मुद्दामा, ‘ग्यास सिलिन्डर पूँजीगत सामान भएपछि सोमा घट्दो ह्रासकट्टी प्रणालीअनुसार ह्रासखर्च छुट पाउने’ नेपाल ग्यास इन्डस्ट्रिजको मुद्दामा, ‘स्टेट लाइन मेथडमा ह्रासखर्च दाबी गरेको भनेकोमा लेखापरीक्षण प्रतिवेदनबाट समर्थित भएकोमा ह्रासखर्च मिनाहा दिने’ अरिहन्त मल्टी फाइबर्सको मुद्दामा, ‘उत्पादित वस्तु विक्री वा पूँजीकरण गरी ह्रास दाबी गर्नुपर्ने । पूँजीकरण गरिसकेपछि ह्रास दाबी नगरी पूरै रकम खर्च कट्टी माग गरेकोमा कर कार्यालयले आयमा समावेश गरिदिएकोलाई अन्यथा भन्न नसकिने’ रोहित उन्निथानको मुद्दामा र ‘मर्मत सुधारमा ७ प्रतिशतभन्दा बढी खर्च दाबी गर्न नपाइने’ गणेशप्रसाद पाण्डे वि.एल.एम.सुमिर ब्रदर्श प्रा.लि. (मु.न. ०७२–च्द्य–०४५०) को मुद्दामा निष्कर्षका रूपमा आएका नजीरहरू कायम भएका छन् ।
लेखक कर तथा वाणिज्य कानून क्षेत्रमा विज्ञ अधिवक्ता हुन् ।