सरकारले कुनै पनि कार्यक्रम घोषणा गर्दा त्यसको एउटा खाका बनाई लक्ष्य, उद्देश्य, प्राथमिकता आदि तय गर्ने गर्छ र गर्नु पनि पर्छ । तर, ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं सरकारले कृषि दशक घोषणा गरेको लामो अवधिसम्म पनि अवधारणापत्र नै बनाउन सकेको छैन । अवधारणापत्र तयार गर्न नै आधा वर्ष लाग्छ भने पक्कै पनि त्यो निकै रूपान्तरणकारी अवधारणा हुनुपर्छ जसले नेपालको कृषिक्षेत्रमा आमूल परिवर्तन गर्छ । होइन भने सिन्को नभाँच्ने तर काम गर्दै छौं, योजना बन्दै छ भन्दै अरूको आँखामा धूलो हाल्ने काम हो भन्ने सहजै भन्न सकिन्छ । सरकारले कृषिक्षेत्रलाई उच्च प्राथमिकता दिएको, कृषि प्रधान मुलुक, कृषिमा आत्मनिर्भर भन्ने जस्ता शब्दावली प्रयोग गरेको दशकौं भइसकेको छ । तर, कृषिक्षेत्रमा लगानी ज्यादै न्यून छ । कृषि मन्त्रालयका लागि विनियोजित रकम पनि कर्मचारीको तलबभत्तामा नै सकिन्छ । कृषि अनुसन्धान परिषद्ले पर्याप्त बजेट नपाउँदा उसले अनुसन्धान कार्यलाई तीव्रता दिन सकेको छैन । सिँचाइ, मल, बीउबिजनजस्ता कृषिमा लागि अत्यन्त महत्त्वपूर्ण पक्षमा समेत आशाजनक काम भएको छैन, बजेट पनि पर्याप्त छैन । भएकै बजेट पनि सही ठाउँमा प्रयोग हुन सकेको छैन । त्यसैले नेपालको कृषि उत्पादन र उत्पादकत्व आकाशमा निर्भर हुने गरेको छ । अर्थात् पर्याप्त वर्षा भयो भने कृषि उत्पादन पनि बढ्छ, होइन भने न्यून वृद्धिमै चित्त बुझाउनुपर्ने हुन्छ । हरेक वर्ष कृषि उत्पादन बढेको तथ्यांक कृषि मन्त्रालयले दिने गरेको पनि त्यो वास्तविक होइन भने उत्पादित अन्नको आपूर्ति कम भएबाट सहजै अनुमान गर्न सकिन्छ ।
सरकारले यसअघि सन् १९९५ मा २० वर्षे कृषि रणनीति ल्याएको थियो । त्यसपछि अर्को २० वर्षे कृषि विकास रणनीति पनि सन् २०३५ सम्मको लागि बनिसकेको छ । यसबीचमा सरकारले १० वर्षे कृषि लगानी दशक घोषणा गरेको हो । यो कृषि विकास रणनीतिकै उद्देश्य हासिल गर्न घोषणा गरिएको जस्तो देखिन्छ । तर, सरकारले यसको अवधारणाबारे केही बोलेको छैन । वास्तवमा अवधारणा नै नबनाई कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्न भन्दै सरकारले चालू आवको नीति तथा कार्यक्रम र बजेटमार्फत २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेको थियो । सरकारी, निजी, सहकारी तथा विकास साझेदारमार्फत कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्ने सरकारको योजना छ । तर, लगानी दशक घोषणा गरेकै वर्ष कृषिक्षेत्रको बजेट घटाइएको छ । कृषिक्षेत्रको चालू वर्षको बजेट अघिल्लो आवको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम छ । गत आव कृषिक्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले चालू वर्षमा ५७ अर्ब २९ करोड मात्र छुट्ट्याएको छ ।
सरकारले बजेट घटाएको मात्र होइन, कृषिको आधुनिकीकरणका लागि कृषिबीमामा अनुदानको नीति लिएको भए पनि अनुदानको रकम बीमा कम्पनीहरूलाई उपलब्ध नगराउँदा यो कार्यक्रम प्रभावित भएको छ । उन्नत जातको बीउका लागि सरकारले पर्याप्त काम गर्न सकेको छैन । ठूला सिञ्चाइ परियोजनाहरू लामो समयदेखि पूरा हुन सकेका छैनन् र ती परियोजनाहरूको म्याद माथि म्याद थप्ने काम मात्र भएको छ ।सरकारी उपेक्षाकै कारण कृषि क्षेत्रको उत्पादन उल्लेख्य रूपमा बढ्न नसकेको हो । उत्पादकत्वमा पनि कुनै गुणात्मक परिवर्तन आउन सकेको छैन । सीमित व्यावसायिक खेती, कृषिको सीमित यान्त्रीकरण र प्राविधिक ज्ञानको कमी यसका प्रमुख कारण हुन् । सरकार कृषिसम्बन्धी नीतिमा आफै अन्योलमा रहेको पनि देखिन्छ । कृषिमा कस्तो अवस्थामा वैदेशिक लगानी आमन्त्रित गर्ने, कृषि बजारीकरणको समस्या कसरी समाधान गर्ने, लागत र लाभको सन्तुलन कसरी कायम गर्नेजस्ता कुरामा सरकारको स्पष्ट कार्ययोजना देखिँदैन ।