काठमाडौं। कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता बमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको बताइएको छ ।
कुमारी क्यापिटलले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको बताइएको छ । त्यस्तै ध्रुव क्यापिटल गैर–बैंकिङ वित्तीय कम्पनी रहेको बताइएको छ, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको बताइएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर, हस्पिटल लगायत जलविद्युत् परियोजनामा समेत लगानी गर्ने उद्देश्य राखेको बताइएको छ ।
यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुनेछन् । दुवै कम्पनीबीच भएको यो सम्झौताअन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्ने बताइएको छ ।