वीरगञ्ज । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण प्रसाद कुशवाहाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै विभिन्न शिक्षणसम्बद्ध संघ संगठन आन्दोलनमा उत्रिएका छन् । बारा जिल्लाका सम्पूर्ण शैक्षिक संघसंस्थाहरूले दोषीलाई कडा कानूनी कारवाहीको माग गरेका छन् ।
ती संस्थामा आवद्ध प्राध्यापक, शिक्षकहरूले बुधवार बाराका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कालोपट्टी बाँधेर प्रदर्शन गरे । संस्थाहरूले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।
गत जेठ ३२ गते साँझ मोटरसाइकलमा कलैयातर्फ आइरहेका कुशवाहलाई बाराकै आदर्श कोतवाल–३, बतरामा एक समूहले गोली प्रहार गरेको थियो । गोली प्रहार भएलगत्तै घाइते अवस्थाका कुशवाहले फोनमार्फत बाराका प्रहरी उपरीक्षकलाई आफूलाई गोली हान्ने व्यक्तिका बारेमा जानकारी दिएका थिए ।
घाइते कुशवाहलाई वीरगञ्जको वयोधा अस्पतालमा ल्याएपछि अस्पतालले मृत घोषित गरिदिएको थियो । घटनापछि प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
त्यसयता शिक्षण सेवासम्बद्ध संघसंस्था र सो क्याम्पसका प्राध्यापकहरू हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलित भएका छन् । शैक्षिक संघसंस्थाहरूले दोषीलाई कारबाही र शैक्षिक क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।
हत्यामा संलग्नलाई कारवाहीको दायरमा ल्याउन माग गर्दै जारी गरिएको विज्ञप्तिमा बिहीवार चक डस्टर नचलाई अध्यापन गराउने, शुक्रवार क्याम्पसबाट मौन जलुश निकालेर कलैयाको भरतचोकमा विरोधसभा गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।