काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत मंसिर १२ गतेदेखि निष्कासन गरेको हकप्रद शेयर खरीदका लागि आवेदन दिने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । पुस २ गतेसम्म निष्कासन अवधि तय भएकोमा मागबमोजिम आवेदन नपरेकाले १५ दिन अवधि थप गरी पुस १७ गतेसम्मको मिति तय गरिएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद शेयर शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रीय कार्यालय स्टार मल, पुतलीसडक, काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर ए प्लस रेटिङ्ग प्रदान गरेको छ ।